• ९ चैत २०८२, सोमबार

विपत्बाट साढे सोह्र हजार परिवार प्रभावित

blog

आन्तरिक मामिला तथा कानुन मन्त्रालय । तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता 

हेटौँडा, चैत ९ गते  । प्राकृतिक तथा गैरप्राकृतिक विपत्का कारण बागमती प्रदेशमा एक दशकको अवधिमा साढे १६ हजार परिवार प्रभावित भएका छन् । २०७२ देखि २०८२ सालसम्मको अवधिमा प्रदेशभर छ हजार ८३९ विपत्का घटनामा १६ हजार ६५३ परिवार प्रभावित भएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आइतबार आयोजना गरिएको कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्क अनुसार विपत्का कारण एक हजार ३८ जनाको मृत्यु भएको छ । १८१ जना बेपत्ता र दुई हजार ३११ जना घाइते भएका छन् । यस अवधिमा पाँच हजार ८९६ आंशिक तथा चार हजार ७२७ घरमा पूर्ण क्षति पुगेको छ । विपत्का कारण करिब छ अर्ब ९५ करोड ४१ लाख ७१ हजार ७१८ रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अधिकृत रविता कार्कीले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार उक्त जिल्लागत रूपमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा पाँच हजार ४७८ परिवार प्रभावित भएका छन् । त्यस्तै काठमाडौँमा दुई हजार ६७९, चितवनमा एक हजार ५८९, रसुवामा एक हजार ३११ परिवार प्रभावित भएका छन् । त्यस्तै मकवानपुरमा ९५५, सिन्धुपाल्चोकमा ८४२, ललितपुरमा सात सय, सिन्धुलीमा ६४७, रामेछापमा ६०९, दोलखामा ४५३, नुवाकोटमा ४२९, धादिङमा ४२६ र भक्तपुरमा ५३५ परिवार प्रभावित भएका छन् ।  

विपत्का घटनाका व्रmममा काठमाडौँमा एक हजार ७७८ घटनामध्ये ११३ जनाको मृत्यु भएको थियो । भक्तपुरमा ४५९ घटनामा १९ जनाको मृत्यु भएको छ भने ललितपुरमा छ सय घटनामा ७८ जनाले ज्यान गुमाएका छन् । त्यसै गरी मकवानपुरमा ७३५ घटनामा ११२, चितवनमा ५६३ घटनामा १४१, धादिङमा ३२६ घटनामा ९० जनाको मृत्यु भएको छ । नुवाकोटमा २९९ घटनामा ३६, रसुवामा २३० घटनामा ५३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा ४४१ घटनामा ११६, काभ्रेपलाञ्चोकमा ४६० घटनामा ११९, सिन्धुलीमा ३५० घटनामा ६८, रामेछापमा २५१ घटनामा ४१ र दोलखामा ३४७ घटनामा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

एक दशकको अवधिमा प्रदेशमा ९२८ पहिरोका घटनामा ४६७ जनाको मृत्यु भई छ हजार ५९२ परिवार प्रभावित भएका छन् । चार हजार २३ आगलागीका घटनामा १८० जनाको मृत्यु भएको छ भने चार हजार ९४८ परिवार प्रभावित भएका छन् । त्यस्तै ३७२ चट्याङ्गका घटनामा ११४ र ३४१ बाढीमा १०० जनाको मृत्यु भएको छ । 

साथै जनावरका कारण ३३८ घटनामा ७३ जनाको मृत्यु भएको छ भने चार हवाई दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् । यस्तै भारी वर्षा, हावाहुरी, लेक लाग्ने, जङ्गलमा आगलागी, सर्पदंश, हिउपहिरो र ढुुङ्गा दुर्घटनाबाट पनि मानवीय क्षति भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयले मनसुनजन्य तथा आगलागीजन्य विपत् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि १६ करोड ५७ लाख पाँच हजार रुपियाँ लागत साझेदारी उपलब्ध गराएको जनाएको छ । साथै स्थानीय तहमा स्वयंसेवक समूह गठन, राहत सामग्री वितरण, क्षमता विकास तालिम, सचेतनामूलक कार्यक्रम तथा कृत्रिम अभ्यास सञ्चालन गर्दै आएको जानकारी दिएको छ ।