• ७ वैशाख २०८१, शुक्रबार

तराईबाट पहाडतिर उक्लियो डेङ्गु

blog

लुम्बिनी प्रदेश ब्युरो 

लुम्बिनी, भदौ ३ गते । लुम्बिनी प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । प्रदेशको अस्थायी मुकाम बुटवल डेङ्गुको ‘हट स्पट’ बनेको छ । तराईका जिल्लामा मात्र सीमित डेङ्गुु अब पहाडी जिल्लामा समेत देखापर्न थालेको छ ।

पहाडी जिल्ला पाल्पामा डेङ्गुबाट सङ्क्रमित भएका बिरामी भेटिनेक्रम बढेको छ । पाल्पाका विभिन्न अस्पतालमा गरेको परीक्षणमा डेङ्गुका बिरामी फेलापरेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा पछिल्लो तीन महिनाको अवधिमा २० जना डेङ्गुबाट सङ्क्रमित भएको फेलापरेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो । 

भट्टराईका अनुसार गत २०७९ जेठ महिनामा तीन, असारमा ११ र साउनमा छ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । पाल्पाका अधिकांश स्थानीय तहमा डेङ्गुका बिरामी भेटिएको र सबैभन्दा बढी तानसेन नगरपालिका र रम्भा गाउँपालिकामा फेलापरेको उहाँले जानकारी दिनुभयो । 

जलवायु परिवर्तनका कारण डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टे तराईबाट पहाडतर्फ लागेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । गर्मी बढेका कारण र तराईसँग नजिकैको जिल्ला भएका कारण पहाडी जिल्ला पाल्पामा पनि डेङ्गुका बिरामी फेलापर्ने क्रम बढेको उहाँले बताउनुभयो । 

असार दोस्रो सातादेखि बुटवलमा सुरु भएको डेङ्गुको सङ्क्रमण अझै रोकिएको छैन । पानी आउने र घाम लाग्ने क्रम जारी रहेकाले यस्तो बेला डेङ्गु झनै बढ्ने भएकाले तत्काल प्रकोप रोकिने अवस्था नरहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिनुभयो । यो अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म डेङ्गु र भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । डेङ्गुको प्रकोप बढ्दै गएपछि बुटवलमा नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानसमेत सुरु भएको छ । लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान बुटवल उपमहानगरले चलाएको छ । 

बाँकेमा बुटवलबाट फर्किएका तीन जनामा डेङ्गु देखिएको छ । स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार बुटवलबाट फर्किएका तीन जनामा एकै पटक डेङ्गु देखिएको जानकारी अस्पतालबाट आएपछि आफूहरू सचेत भएको बताउनुभयो । उहाँले बुटवल जानेलाई सचेत पार्नुका साथै डेङ्गुबाट जोगिने उपायका बारेमा पनि सचेतना जगाउन थालेको बताउनुभयो । 

भारतबाट फर्किएका केही र बर्दिया तथा अन्य जिल्लाका केही डेङ्गुका बिरामी पनि उपचारका लागि भेरी अस्पतालमा आएको अस्पतालले जनाएको छ । कपिलवस्तुमा पनि डेङ्गु रोगका बिरामी फेलापरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वाणगङ्गा नगरपालिका, महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा डेङ्गुका बिरामी फेलापरेका हुन् । बिरामी भेटिन थालेपछि किटको सहायताले परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो ।

कार्यालयका अनुसार वाणगङ्गा नगरपालिकामा मात्र ४६ जना डेङ्गुका बिरामी फेलापरेका छन् । तीमध्ये छ जनाको अवस्था गम्भीर रहेको वाणगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो । दाङमा पनि डेङ्गुका बिरामी देखिनथालेका छन् । साउनमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जाँच गर्न गएकामध्ये तीन जनामा डेङ्गु देखिएको छ । यस्तैगरी लमही नगरपालिकामा पनि एक जना डेङ्गुका बिरामी फेलापरेको लमही अस्पतालले जनाएको छ । बुटवलमा परीक्षणपछि डेङ्गु फेलापरेको र फलोअपका लागि बिरामी अस्पतालमा आएको लमही अस्पतालका ल्याब टेक्निसियन सिर्जन पौडेलले जानकारी दिनुभयो । 

परीक्षण किट अभाव 

तराईका जिल्लामा डेङ्गुको प्रभाव बढ्दै गएको अवस्थामा पश्चिम नवलपरासीको जिल्ला अस्पतालमा भने डेङ्गु जाँच गर्ने किटको अभाव रहेको छ । अधिकांश तराई भूभाग रहेको पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा डेङ्गु, कालाजार र स्क्रबटाइफसको जाँच गर्नका लागि चाहिने किटको अभाव रहेको जिल्ला अस्पताल परासीका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नुरुल होदाले बताउनुभएको छ । डेङ्गुबाट प्रभाव बढ्न सक्ने सम्भावना उच्च रहेको नवलपरासीमा केही दिन पहिला मात्र आरडीटी जाँचका लागि आवश्यक पर्ने किट आएको र करिब दस दिन पहिला जाँच गर्दा एक जनामा डेङ्गु देखापरेको थियो । त्यो जाँचपछि आरडीटी टेस्टका लागि आवश्यक किटको अभाव भएपछि जिल्लामा डेङ्गुको अवस्थाबारे अन्योल उत्पन्न भएको छ ।

(छविलाल पाण्डे/बुटवल, रेखीराम राना/तानसेन, जानु पाण्डे/कपिलवस्तु, गोपी ज्ञवाली/नवलपरासी, दिवाकर पोख्रेल/देउखुरी र सिराज खान/नेपालगञ्जको सहयोगमा ।)