• ६ साउन २०८१, आइतबार

स्रोत नखुलेको ६९ लाखसहित तीन जना पक्राउ

blog

काठमाडौँ, भदौ ३ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ मनमैजुका माधव श्रेष्ठ, बारा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाडौँको टेकु बस्ने अङ्कित गोयन्कालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले गैरकानुनी रूपमा हुन्डीमार्फत वित्तीय कारोबार गर्दै आएका उनीहरूलाई काठमाडौँको घण्टाघर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका –२८, घण्टाघरस्थित जामे मार्केट भवनमा सटर भाडामा लिई श्रेष्ठले सञ्चालन गरेको सन्जोग टुर्स एन्ड ट्राभल्स प्रालिमा लुकाइछिपाई राखेको रकम र हुन्डीको भुक्तानी गर्न आएका अङ्कित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले गोयन्काद्वारा कलङ्कीमा सञ्चालित आनी इन्टरनेसनलको कार्यालयबाट थप नौ लाख रुपियाँ पनि बरामद गरेको छ । यस्तै फास्ट ट्र्याक इन्टरनेसनल प्रालिको नाममा काटिएको सानिमा बैङ्कको १५ लाख रुपियाँको चेकसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सूचना अधिकृत कोइरालाले बताउनुभयो ।