• ६ साउन २०८१, आइतबार

पाँच वर्षदेखि सम्बन्धनको पर्खाइ

blog

बुलबुले समाचारदाता

सुर्खेत, भदौ ३ गते । सुर्खेतको पश्चिम चौकुनेस्थित प्रस्तावित नरहरिनाथ वनविज्ञान क्याम्पस पाँच वर्षदेखि सम्बन्धनको पर्खाइमा छ। 

चौकुने गाउँपालिका–५ को तोस्रामा वनविज्ञान क्याम्पस सञ्चालन गर्ने नीतिगत निर्णय पहिलो गाउँ सभाले गरेको थियो। सो क्याम्पस जानकी, मालिका र मायाताल सामुदायिक वनको गरी ३० बिघा जग्गामा छ।  बजेट व्यवस्थापन गरेर २०७४ बाटै क्याम्पसका भौतिक संरचना निर्माण गरी काम अघि बढाइएको थियो। एक वर्षअघि नै निर्माण सम्पन्न भइसकेको क्याम्पसको दसकोठे भवन अहिलेसम्म प्रयोगमा भने आउन सकेको छैन। सम्बन्धित निकायबाट अध्यापन अनुमतिका लागि स्वीकृति मिलेको छैन। सम्बन्धन नपाउँदा त्यहाँका भौतिक संरचना बेवारिसे बनेका छन्।

क्याम्पस सञ्चालनको सम्बन्धनका लागि चितवनमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा फाइल पेस गरिएको बताइन्छ। अध्यापन स्वीकृतिका लागि प्रक्रिया थालेको लामो समय भइसक्दा पनि अझै अन्योल कायमै रहेको क्याम्पस पूर्वाधार निर्माण समितिका संयोजक हरिप्रसाद अधिकारीले बताउनुभयो। उक्त प्रस्तावित शिक्षालयको भवन निर्माणमा सांसद पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको २५ लाख र गाउँपालिकाको २९ लाख गरी ५४ लाख रकम खर्च भइसकेको छ। त्यस्तै क्याम्पस क्षेत्रको घेरबारका लागि डिभिजन वन कार्यालय सुर्खेतमार्फत पाँच लाख बजेट खर्च गरिएको छ। 

कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट अनुमतिका लागि अनुगमन गर्न आएका प्रतिनिधिले क्याम्पस सञ्चालनका लागि उपयुक्त ठाउँ नभएको समेत बताएका थिए। स्थानीयका अनुसार फिल्ड अवलोकनका क्रममा उनीहरूले क्याम्पस सञ्चालनका लागि आवश्यक जनसङ्ख्या, विद्युत्, सञ्चारजस्ता पूर्वाधार नरहेको औँल्याएका थिए। यद्यपि सो अवलोकनको प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। नागरिक स्तरबाट थालिएको क्याम्पस सञ्चालन अभियानको स्वामित्व सरकारले नलिँदा पनि प्रक्रियागत काममा ढिलाइ भइरहेको पूर्वाधार निर्माण समिति संयोजक अधिकारीले बताउनुभयो। 

उहाँका अनुसार क्याम्पसका लागि दसकोठे दुईवटा भवन बने पनि सामुदायिक वनको जग्गा स्वामित्वमा आएको छैन। यस्तो अवस्थामा क्याम्पसले सम्बन्धन नपाउँदा पनि स्थानीय सरकारले समेत कुनै चासो नदिएको बताइएको छ।