• ४ पुस २०८१, बिहिबार

आयुर्वेदप्रति जनविश्वास बढ्दै

blog

तनहुँ समाचारदाता

तनहुँ, भदौ ३ गते  । तनहुँमा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको चासो र विश्वास बढ्दै गएको छ । कम खर्चमै रोग निको हुन थालेपछि आयुर्वेद उपचार गर्ने बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । अघिल्ला वर्षहरूमा आयुर्वेदिक उपचारमा बिरामीको कमै ध्यान जाने गरेको भए पनि हाल भने उपचारका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भीड लाग्ने गरेको छ । 

हाल दैनिक रूपमा ७० देखि ९० जनासम्म बिरामी आउने गरेको केन्द्रले जनाएको छ । स्वास्थोपचारका लागि विभिन्न उपकरणसमेत जडान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६५ हजार बिरामीले उपचार सेवा लिएको सो केन्द्रले जनाएको छ । स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्यास्ट्रिक, प्रसूति, बमनथेरापीलगायतको उपचार गर्न आउने गरेको केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा ५५ हजार ८४२ जनाले उपचार लिएको उहाँले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रदेखि सहर–बजारका बिरामीसमेत पछिल्लो समय उपचारका लागि आयुर्वेदिक पद्धति अपनाउन थालेकाले एक वर्षको अवधिमा १० हजारभन्दा धेरै बिरामीको रोग निदानसमेत भएको डा. मण्डलले बताउनुभयो ।