• ६ साउन २०८१, आइतबार

गायनसँगै अभिनयमा जम्दै सापकोटा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३ गते । गीतसङ्गीतमा लाग्दा राम्रो हुन्छ भनेर कसैले नभने पनि अनायासै यो क्षेत्रमा लागेका गायक तथा मोडल कृष्ण सापकोटा यही क्षेत्रमा स्थापित हुने प्रयत्नमा हुनुहुन्छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका –३, बल्कोटमा जन्मिनुभएका सापकोटा सानैदेखि गीतसङ्गीतमा बढी रुचि राख्नुहुन्थ्यो। दश वर्षको उमेरबाट उहाँले आफूलाई अब्बल बनाउन थाल्नुभएको हो। 

निरन्तरको मेहनत र लगनशीलताले नै सफलतामा पु-याउँछ भन्ने सोच राख्नुहुने कलाकार सापकोटा गायनसँगै अभिनयमा लागेर राष्ट्रिय स्तरका विभिन्न अवार्डसमेत प्राप्त गर्न सफल हुनु भइसक्यो।

उहाँका ‘भन्छौ तिमी’, ‘भुरुरु उडेर चरी’, ‘तिम्रो यादमा’, ‘नशा’लगायतका गीत बजारमा आएका छन्। गायनभन्दा पनि मोडलिङमा बढी समय खर्चेका सापकोटाले अहिलेसम्म करिब सयभन्दा बढी गीतमा अभिनय गर्नुभएको छ। उहाँ गीतकार र सङ्गीतकार पनि हुनुहुन्छ।

उहाँले ज्योति फिल्मस् अवार्ड, नेसनल नेपाल म्युजिक फेसन अवार्ड, राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड प्राप्त गर्नु भइसक्यो। यसअघि २०७४ सालमा उहाँले नाट्यश्वरी म्युजिक अवार्ड पाउनुभएको थियो। 

२०६७ सालदेखि गीतसङ्गीत क्षेत्रमा प्रवेश गरेका सापकोटालाई विद्यालयमा हुने कार्यक्रममा शिक्षकहरूले गीत गाउनका लागि प्रोत्साहन गर्ने गर्नुहुन्थ्यो, त्यो बेलादेखि नै उहाँले यस क्षेत्रमा लाग्ने सोच बनाउनुभएको थियो।

उहाँ भन्नुहुन्छ, “म अबको बाँकी जिन्दगी यसैमा बिताउनेछु। यस पेसामा स्थापित हुन जति गारो छ, त्योभन्दा धेरै मजा पनि छ। यो पेसाले मलाई गर्व गर्न लायक बनाएको छ।”