• ४ जेठ २०८३, सोमबार

कांग्रेस संसदीय दलको सचेतकमा बस्याल

blog

प्रदेश सभा सदस्य टीकाकुमारी बस्याल ।

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ ४ गते । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलले प्रदेश सभा सदस्य टीकाकुमारी बस्याललाई दलको सचेतक मनोनयन गरेको छ । मुख्यमन्त्रीसमेत रहनुभएका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दलको विधान २०७४ को धारा ११ को उपधारा २ बमोजिम बस्याललाई सोमबार सचेतक मनोनित गर्नुभएको हो ।

यसअघिका दलका सचेतक रहनुभएका प्रकाश बराल प्रमुख सचेतकमा नियुक्त भएपछि उक्त पद खाली थियो । यसअघिका प्रमुख सचेत नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बन्नुभएको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेसले संसदीय गतिविधिलाई प्रभावकारी बनाउन बस्याललाई सचेतकको जिम्मेवारी दिएको हो । 

सचेतकले संसदीय दलभित्र समन्वय, बैठक व्यवस्थापन तथा दलका सांसदलाई पार्टी निर्णय अनुसार परिचालन गर्ने जिम्मेवारी हुन्छ । लमजुङकी स्थायी बासिन्दा बस्याल प्रदेश सभामा समानुपातिकबाट चुनिनुभएको हो । 

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७ प्रदेशसभा सदस्य छन् । यहाँ नेपाली कांग्रेस र नेकपा एमालेले दुई तिहाईसहित प्रदेश सरकार चलाइरहेका छन् । प्रदेशमा एमालेका २२ प्रदेशसभा सदस्य छन् ।