• ६ साउन २०८१, आइतबार

जनवादी विद्यालयमा बालबालिका पढाइँदै

blog

जयमान बुढामगर

रुकुमपूर्व, भदौ ३ गते । भूमे गाउँपालिकाले गाउँपालिकाभित्रका अभिभावकविहीन बालबालिकालाई आवासीय सुविधासहित पठनपाठन सुरु गरेको छ । भूमे –३, क्याङ्सीमा माओवादी जनयुद्धकालमा सञ्चालन गरिएको जनवादी विद्यालयलाई अहिले अनाथ बालबालिकाको आवासीय व्यवस्थाका साथै जीवन्त अध्ययन सङ्ग्रहालयको रूपमा प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो । 

उक्त जनवादी विद्यालयलाई जीवन्त अध्ययन सङ्ग्रहालयको रूपमा विकास गर्ने गाउँपालिकाको परिकल्पना अनुसार अभिभावक नभएका बालबालिकाका लागि आवासीय रूपमा प्रयोजनमा ल्याइएको अधिकृत श्रेष्ठको भनाइ छ । हाल चार जना छात्रा र सात जना छात्र गरी ११ जना अभिभावकविहीन बालबालिकालाई भर्ना गरी अध्यापन गराइराखेको विद्यालयले जनाएको छ । उनीहरूलाई खान÷बस्नका लागि क्याङ्सी गाउँमा रहेको जनवादी विद्यालयमा व्यवस्था मिलाइएको छ भने दिउँसोको कक्षा क्याङ्सी गाउँकै शहीद वासुस्मृति नमुना आधारभूत विद्यालयमा चलाइएको छ । उनीहरूको हेरचाहका लागि एक जना मान्छे गाउँपालिकाले राखेको छ । 

बालबालिकाको स्टेसनरीदेखि लिएर सबै व्यवस्था गाउँपालिकाले व्यहोर्ने गरेको छ । यही शैक्षिक सत्रदेखि गाउँपालिकाले अभिभावक नभएका बालबालिकाका लागि आवासीयसहितको पठनपाठन कार्यक्रम सञ्चालन गरेको हो । अनाथ बालबालिकाको आवासका साथै जीवन्त अध्ययन सङ्ग्रहालयका रूपमा पनि विकास भइरहेको श्रेष्ठले बताउनुभयो । 

आधारभूत तहको शिक्षा क्याङ्सी गाउँको विद्यालयमा पढाइने छ भने माध्यमिक तथा व्यावसायिक र उच्चशिक्षा हासिल गर्नका लागि शैक्षिक ऋण र शैक्षिक छात्रवृत्ति गाउँपालिकाको कार्यक्रममार्फत उपलब्ध गराइने श्रेष्ठको भनाइ छ । जनयुद्धका क्रममा भूमिगत भएका नेता–कार्यकर्ता, जनसेना, शहीद, घाइते, अपाङ्गता भएका परिवारका छोराछोरीलाई शिक्षा दिलाउने उद्देश्यले तत्कालीन नेकपा माओवादीको शिक्षा विभागमार्फत जनवादी विद्यालय खोलिएको हो । पार्टीले निर्माण गरेको आफ्नै पाठ्यक्रममा पढाइ हुने जनवादी विद्यालयमध्ये रुकुमपूर्वको भूमे गाउँपालिका–३, क्याङ्सीमा रहेको शहीद वासुस्मृति जनवादी विद्यालय पनि एक हो । 

२०६२ सालमा रुकुम, मोराबाङको क्याङ्सीमा माओवादी स्थायी समितिका तत्कालीन पोलिटब्युरो सदस्य सुरेश आले (वासु)को नामबाट स्थापना गरिएको सो विद्यालयमा द्वन्द्वमा अभिभावक मारिएका २० जना टुहुरा बालबालिकासहित १११ जना आवासीय विद्यार्थी अध्ययनरत थिए । जसमा रुकुमसँगै छिमेकी जिल्ला जाजरकोट, रोल्पा, सल्यान र बागलुङका समेत थिए । उक्त विद्यालयको सम्पूर्ण खर्च माओवादी कार्यालयबाट नै बेहोरिने गरिएको थियो । विस्तृत शान्ति सम्झौता भएर पार्टी सरकारमा गएपछि जनवादी विद्यालय गाउँकै सरकारी विद्यालयसँग २०६७ सालमा मर्ज भएको जनवादी विद्यालय सञ्चालन हुँदादेखिको हालको शहीद वासुस्मृति नमुना आधारभूत विद्यालय क्याङ्सीका शिक्षक डम्मरकुमार नेपालीले बताउनुभयो । त्यसपछि जनवादी विद्यालयका भौतिक संरचना प्रयोगविहीन अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो ।