• ६ साउन २०८१, आइतबार

इतिहास सम्झाउन सिन्जामा हाटबजार

blog

नेत्र शाही 

जुम्ला, भदौ ३ गते । यहाँको सिन्जा गाउँपालिकाले मासिक हाटबजार सुरु गरेको छ । यहाँको सिन्जा गाउँपालिकाले सिन्जा सभ्यताको पहिचान जगाउने र आर्थिक उत्पादन बजारीकरण गर्ने भन्दै हरेक महिनाको १ गते हाटबजार सुरु गरेको हो । 

वि. सं. १८४६ पूर्वको तत्कालीन शक्तिशाली सिन्जा राज्यका बेलादेखि प्रयोग हुँदै आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । त्यसबेला भारत र तिब्बत, चीनका व्यापारी, उपभोक्तालाई आकर्षण गर्ने गरी सिन्जामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले पनि निकै महत्त्वपूर्ण मानिन्थ्यो । ‘हाट’कै कारण १२औँ शताब्दीदेखि १४औँ शताब्दीसम्म सिन्जा खस राज्य आर्थिक रूपमा बलियो भएको इतिहास छ । उतिबेलाको ‘हाट’ आजको प्रमुख व्यापारिक केन्द्रजस्तै भएको बुद्धिजीवी बताउँछन् । 

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिन्जा साम्राज्य कुनैबेला उत्पादनमा बलियो मात्रै नभई उत्तर (तिब्बत) र दक्षिण (भारत)को बजारको केन्द्र भएको बताउनुभयो । उहाँले अब स्थानीय उत्पादनलाई बढाउने र बजारीकरण गर्ने उद्देश्यका साथ हाटबजार सुरु गरिएको जानकारी दिनुभयो । 

गाउँपालिका उपाध्यक्ष शीतली रोकायाले बजारमा सिन्जामै बनेका राडीपाखी, तरकारी, मार्सी चामल, स्याउ, सिमी आउन थालेको जानकारी दिनुभयो । सिन्जामा हाटबजार सुरु भएपछि आर्थिक पक्षलाई मात्रै नभई सांस्कृतिक पक्षलाई समेत जोड दिने काम भएको रोकायले बताउनुभयो । गाउँपालिकाको केन्द्र भएको स्थान नराकोटमा स्थानीयवासीले दिनभर देउडा प्रतियोगितासमेत सञ्चालन गर्ने र मनोरञ्जन गर्ने प्रयास गरिएको छ । 

सिन्जा उपत्यकाको उत्तरपूर्र्वी भागमा अवस्थित ठाउँलाई अहिले पनि ‘हाट सिन्जा’ भनिन्छ । अहिले त्यहाँ हाटसिँजा भन्ने गाउँ छ, जुन कनकासुन्दरी गाउँपालिकामा पर्छ । यही ‘हाट’को विरासतलाई पुनरुत्थान गर्दै सिन्जा गाउँपालिका जुम्लाले साउन १ गतेदेखि ‘हाट’ बजार सुरु गरेको थियो । यहाँ दोस्रो पटक भदौ १ गते पनि हाटबजार लागेको थियो ।