• ६ साउन २०८१, आइतबार

कोभिड जित्न खोप

blog

वि.सं २०७८ माघ ८ गते नेपालमा ओमिक्रोन भेटिएपछि कोरोना सङ्क्रमण दर ५० प्रतिशतसम्म पुगेको थियो। फागुन महिनाबाट ओरालो लाग्दै एक अङ्कमा रहेको सङ्क्रमणदर असार लागेपछि उकालो चढदै छ र सक्रिय सङ्क्रमितको सङ्ख्यामा समेत बढोत्तरी भएको छ। नेपालमा कोरोना सङ्क्रमण सुरु भएदेखि हालसम्म आरटिपीसीआरबाट करिब नौ लाख ९१ हजार र एन्टिजेन परीक्षणमा एक लाख ४५ हजारमा कोरोना पुष्टि भइसकेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ७५ पुगेको छ।

भारतको नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बी ए २.१२ फेला परेको छ, जुन सबैभन्दा निकै सङ्क्रामक र तीव्र गतिमा फैलिने स्टेन मानिएको छ। ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ता बी ए फाइभ उपप्रजाति अल्टा फास्ट भाइरसले नै सङ्क्रमण बढाएको र चौथो लहर ल्याउन सक्ने आकलन छ। तथापि जटिल अवस्था निम्त्याउने र अस्पताल भर्ना गराउने सम्भावना कम छ। स्वास्थ्य मन्त्रालय र विज्ञहरूले सङ्क्रमणदर पाँच प्रतिशतभन्दा कम भए सङ्क्रमणको सामान्य अवस्था मान्छन्।

भाइरस प्रवेश गरेपछि लक्षण देखिन औसतमा पाँच दिन तथा छिटोमा एक दिन र बढीमा १२.५ दिन देखिएको छ। हालसम्म कुनै घरपालुवा, पंक्षीमा सङ्क्रमण देखिएको छैन। निमोनिया विरुद्धको खोपले कोरोना सङ्क्रमण रोक्दैन। एन्टिवायोटिक तत्त्व भएको लसुन कोरोनाविरुद्ध उपलब्धिमूलक देखिएको छैन। चिकित्सा इतिहासमा मानिसमा पहिलो कोरोना सन् १९६० मा सामान्य रुघाखोकीले ग्रस्तको नाकमा पाइएको थियो भने सन् १९३७ मा जनावर पंक्षीमा सङ्क्रमित ब्रोकाइटिस भाइरसका रूपमा भेटिएको थियो। नोकोभा भाइरस चाइनीज कोब्रा र करेट सर्पबाट मानिसमा सरेको चिनियाँ मिडियाबाजी भए पनि पशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट भन्नेमा अझै स्पष्ट भई नसकेको विश्व स्वास्थ्य सङ्गठनले बताउँछ। 

 ज्वरो १००.४ डिग्री फरेनहाइट बढी, रुघाखोकी, सास फेर्न असजिलोजस्ता लक्षण देखिन्छ। भाइरस कसैले खोकेको, हाच्छिऊ गरेको तीन देखि आठ घण्टासम्म हावामा, तामामा चार, कार्डबोर्डमा २४ घण्टासम्म एवं प्लाष्टिक र स्टिलमा दुई देखि तीन दिनसम्म, अर्काे अध्ययनमा नौ दिनसम्म जीवित रहनसक्छ। दुवै अध्ययनमा भाइरस ६२ देखि ७१ प्रतिशत इथानोल, ०.५ प्रतिशत हाइड्रोजन पेरोअक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइटले एक मिनेटमा निष्क्रिय हुन्छ। तथापि सूर्यको प्रकाश, ताप, चिसो आदिले कति प्रभावित गर्छ भन्नेमा अध्ययन जारी छ। 

वैशाख २१ पछि साढे दुई महिनापछि फेरि मृत्यु हुन थालेको छ। खोप नलिएका र जटिल दीर्घरोग भएकामा कोभिड सङ्क्रमण घातक र मृत्युको कारक देखिँदैछ। साउनयता मृत्यु भएकामा छ जना खोप नलगाएका तथा एक जना एक मात्रा मात्र लिएका तर क्यान्सर, दम, उच्च रक्तचापजस्ता दीर्घरोगबाट पीडित ७२ वर्षीया महिला थिए। सामान्य स्वास्थ्यस्थिति भएका र आवश्यक मात्रामा खोप लिइसकेकामा लक्षण सामान्य देखिन्छ। मध्यम वा कडा लक्षण देखिए पनि केही दिनमै निको भइरहेका छन्। आईसीयुमा भर्ना हुने प्राय दीर्घरोगी नै छन्। पूर्ण खोप, बुष्टर मात्रासमेत लगाएका तथा स्वस्थ जीवनशैली र औषधि लिइरहेका मधुमेह, उच्च रक्त चापका रोगीमा पनि सङ्क्रमण भए पनि बढी जटिलता देखिएको छैन, आईसीयुमा राख्नुपरे पनि भेन्टिलेटरमा राख्न परेका छैनन्।

भारतस्थित एनआईभीको अध्ययनले खोप लगाएकामध्ये सङ्क्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना गर्न परेको र ०.४ प्रतिशतको मृत्यु भएको देखाएको छ। सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरियन्टबाट हुने मृत्युबाट ९९ प्रतिशतसम्म बचायो। यस्तै खोप लगाएका ८० प्रतिशतले अन्य व्यक्तिमा सङ्क्रमण नसार्ने पनि टाइम्स अफ इजरायलमा प्रकाशित इजरायल सरकारको स्वास्थ्य मन्त्रालयको अर्काे अध्ययनमा छ। सार्वजनिक स्थलका अध्ययनमा खोप लिएका १० प्रतिशतले एक जनासम्म र तीन प्रतिशतले तीन जनासम्ममा सङ्क्रमण सार्नसक्ने देखाएको छ। आईसीएमआरको अध्ययनले खोपको पूर्ण डोज लगाएपछि पनि डेल्टा भेरियन्टले सङ्क्रमण भइरहेकाले अस्पताल भर्ना हुनबाट र मृत्यृबाट जोगाए पनि सङ्क्रमणबाट नजोगाउने उल्लेख गरेको छ। हालसम्मको अर्थात् खोप उपलब्ध नभएको प्रथम लहरदेखि चौथो लहर चलिरहँदासम्मको मृत्युको तथ्याङ्कलाई केलाउँदा ८० प्रतिशत मृत्यु खोप नलगाएकामा भएको देखिन्छ। पाँच करोड ९० लाख मात्रा प्राप्त खोपमा चार करोड ९६ लाख मात्रा खोप लगाइसकिएको छ। हालसम्म कुल जनसङ्ख्याको ७०.७ प्रतिशतले पूर्ण र ७४ प्रतिशतले एक मात्रा खोप लिइसकेका छन्। खोपको पूर्ण डोजले सङ्क्रमित हुनबाट नभई जटिलता र मृत्यु हुनबाट धेरै हदसम्म जोगाउने भएकाले सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना नै हो।

पहिलो लहरमा दैनिक छ हजारसम्म सङ्क्रमित र ४३ जनासम्मको मृत्यु भएको थियो। जसमा दीर्घरोगी र ज्येष्ठ नागरिक नै उच्च जोखिममा परेका थिए। तथापि अन्य देशको तुलनामा नेपालमा कम मानवीय क्षति भयो। खोप विकासकै क्रममा थियो र एक मात्र र्निविकल्प जनस्वास्थ्यको मापदण्ड नै थियो। 

दोस्रो लहर भारतीय भेरियन्टमा नेपालको स्वास्थ्य प्रणाली ध्वस्त, शøया अभाव, एम्बुलेसका बिरामी फिर्ता, भर्ना अस्वीकार, अक्सिजनको हाहाकारका समाचार र भुक्तभोगी हामी भयौ। निरोगी वयष्कलाई सबैभन्दा बढी प्रभावित बनाएको र बाटोमै बिरामीको मृत्यु भएको अनगिन्ति घटना भए। अधिकांश निमोनिया हुने र भर्ना तथा मृत्यु हुनेमा खोप नलगाएका तथा लगाउन नमानेका थिए। अस्पतालका विशेष टेकु अस्पतालको आकस्मिक कक्ष महामारीमा होमिरहेका स्वास्थ्यकर्मी तथा युद्धमा लडाकु ढलेजस्तै बिरामी जीवनसँग लडिरहेका तथा ढलिरहेका देखिए। जसबेला दैनिक २४६ सम्म मृत्यु भएको थियो। 

तेस्रो लहर दक्षिण अफ्रिकन भेरियन्ट ओमिक्रोनको उदयसँगै भयो। खोप धेरैले पाइसकेका र दक्षिण अफ्रिकामा गम्भीर नभएकाले विश्व स्वास्थ्य सङ्गठन र पाश्चात्य देशले भनेजस्तो सुनामी नेपालमा आएन। सङ्क्रमित पहिलेका लहरभन्दा अत्यधिक भए पनि भर्ना र मृत्यु कमै रह्यो। रुघाखोकी जस्तो सामान्य सङ्क्रमण र लक्षण मात्र रह्यो।

 चौथो लहरमा ओमिक्रोनकै उपप्रजातिहरू मिक्सड अप हाईब्रिड भाइरस नै भएकाले दोस्रो लहरजस्तो प्रभाव देखाउँदैन भन्ने आशङ्का छ। खोपको दायरा दुईतिहाइ बढी भएकाले तेस्रो लहरकै मोडेलमा अन्य लहर पनि जानसक्ने अनुमान गर्न सकिन्छ। तथापि जनशक्ति र पूर्वाधारले थेग्नै नसक्ने गरी सङ्क्रमण र अस्पताल भर्ना रोक्न जनस्वास्थ्यका मापदण्ड पालना नै एक मात्र विकल्प हो र छ। 

तुलनात्मक रूपमा स्वास्थ्य उपचारको पूर्वाधार पहिलो, दोस्रो लहरभन्दा धेरै बलियो भएको छ। देशभर आठ सय आईसीयु, एक हजार २७ भेन्टिलेटर, १३२ अक्सिजन प्लान्ट र १५ हजार बढी अक्सिजन सिलिन्डर छन्। तथापि लाखौँ खोप म्याद सिद्धिएर खेर गए। तीव्र सङ्क्रमण फैलिए यी पूर्वाधार र जनशक्ति अपर्याप्त नै छन्। जनस्वास्थ्यका मापदण्ड पालना, खोपको पूरा मात्रा र बुस्टर डोजले सङ्क्रमण र भर्ना दर कम गर्ने भएकाले सबैले यसमा जोड दिनुपर्छ। स्वस्थ रहन, सङ्क्रमण रोक्न र सञ्जाल तोडन, विस्तारै न्यूनीकरण गर्न जननस्वास्थ्यका मापदण्ड पालना तथा उपलब्ध खोप लिन राज्यभन्दा नागरिक बढी जिम्मेवार हुनुपर्छ।