बदलिँदो नाम

एउटा प्रेम प्रसङ्गमा रोमियोलाई जुलियटले सोध्छिन् “नाममा के छ ? के हामीले गुलाफलाई अरू नै नाम दियौँ भने त्यसको सुगन्धमा केही फरक पर्छ ?” विलियम शेक्सपियरकृत ‘रोमियो एन्ड जुलियट’ मा नामले पहिचानमा केही फरक नपार्ने तर्क अगाडि सारिएको छ । यद्यपि नेपाली समाजको दुई पुस्ताअघिका नाम केलाउने हो भने नाममा विशेष अर्थ, मान्यता र संस्कृतिको प्रभाव पाइन्छ । नाममा धार्मिक एवं सांस्कृतिक अर्थ प्रस्टै भेटिन्छन् । हाम्रै नेताका नाम हेरौँ न ः विश्वेश्वरप्रसाद अर्थात् ईश्वर, विश्वनाथ । पुष्पलाल अर्थात् फूल । गणेशमान अर्थात् एक देवता । गिरिजा अर्थात् हिमालय पर्वतकी पुत्री, पार्वती । मातृका अर्थात् आमा, जननी, तन्त्रशास्त्रअनुसार सातवटी देवी । मनमोहन अर्थात् मन अर्थात् इच्छा र मोहनको अर्थ कृष्ण । मदन अर्थात् रतिको पति, कामदेव । महेन्द्र अर्थात् महान् इन्द्र । कृष्णप्रसाद अर्थात् विष्णुको दस अवतारमध्ये आठौँ अवतार लिएर गोकुलमा जन्मिएका द्वापरयुगका महापुरुष जसलाई केशव, गोविन्द, जनार्दन, माधव, मुरलीधर, मुरारि, वासुदेव, श्याम इत्यादि नामले समेत पुकारिन्छ ।