• ६ पुस २०८१, शनिबार

खुला नीतिका पक्षधर गोर्भाचोभ

blog

तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति मिखाइल गोर्भाचोभ सोभियत सङ्घमा खुला नीति अङ्गीकार गर्ने नेता मानिन्छन् तर उनले सोभियत सङ्को विघटन रोक्न सकेनन् । उनी सन् १९८५ देखि १९९१ सम्म नेतृत्वमा रहे । उनको खुलापनबारेको नीति ग्लास्नोस्तले त्यसअघि अकल्पनीय मानिएको सरकारलाई जनताले आलोचना गर्न सक्ने अनुमति प्रदान गरेको थियो । सोभियत सङ्घको आधुनिकीकरणका निम्ति भनेर ल्याइएको उक्त नीतिले अन्ततः सोभियत सङ्घकै विघटन ग-यो । यो घटनाका लागि गोर्भाचोभलाई दोषी ठह-याइयो । उनलाई कट्टरपन्थी रुसीहरूले भने कहिल्यै माफी दिएनन् ।

गोर्भाचोभले विश्वलाई युद्धबाट जोगाएका पनि थिए । उनकै कारण सोभियत सङ्घ विघटन भई रुस १५ टुक्रा हुँदा पनि रक्तपात भएन । बिनारक्तपात १५ वटा गणराज्य स्वतन्त्र राष्ट्र बने ।  

सन् १९३१ मार्च २ मा दक्षिणी रुसमा जन्मिएका गोर्भाचोभले सन् १९५५ मा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । उनी ५४ वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव अनि सोभियत सङ्को नेता बने । त्यतिखेर शक्तिशाली पोलिटब्युरोमा उनी सबैभन्दा कान्छा सदस्य थिए । अन्तर्राष्ट्रिय मञ्चमा गोर्भाचोभले अमेरिकासँग अस्त्र नियन्त्रण गर्ने सहमति गरे भने पूर्वी युरोपेली देशका जनता त्यहाँका कम्युनिस्ट शासकविरुद्ध ओर्लिंदा उनले हस्तक्षेप गर्न अस्वीकार गरेका थिए । 

उनलाई पश्चिमा देशले सुधारका प्रणेता मान्छन् । उनकै कारण सन् १९९१ मा शीत युद्ध अन्त्य गर्ने आधार निर्माण भएको थियो । त्यही भएर सन् १९९० मा उनलाई पूर्व–पश्चिम सम्बन्धमा ठूलो परिवर्तन ल्याउन भूमिका निर्वाह गरेको भन्दै नोबेल शान्ति पुरस्कारसमेत दिइयो । सोभियत सङ्घको विघटन र शीत युद्धको अन्त्यपछि भने उनी राजनीतिक हिसाबले किनारामा परे । त्यसपछि उनी शिक्षा तथा मानवीय कार्यमा लागे । उनले बिनारक्तपात कम्युनिस्ट व्यवस्थाको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाका लागि ढोका खोलिदिएका थिए ।

जीवनको उत्तराद्र्धमा उनले कम्युनिस्ट विचारभन्दा लोकतान्त्रिक विचारलाई महìव दिए । त्यही भएर नै उहाँलाई पश्चिमा देशहरूले राम्रो नेताका रूपमा चित्रित गरिरहेका छन् ।   

सन् १९९६ मा उनले एक पटक फेरि राजनीतिक जीवनमा फर्किने प्रयास गरेका थिए । राष्ट्रपति निर्वाचनमा उनले केवल ०.५५ मत मात्र प्राप्त गरे । रुसमा उनको लोकप्रियता शून्यमा झ¥यो । यद्यपि उनले आफ्नो जीवनकालमा मानवजाति र रुसी जनतालाई फाइदा हुने काम गर्नुका साथै युद्धबाट विश्वलाई जोगाए ।   

सन् १९९१ को डिसेम्बर २५ मा गोर्भाचोभले सोभियत सङ्घको राष्ट्रपति पदबाट आधिकारिक रूपमा राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट त्यहाँको संसद्ले १५ स्वतन्त्र राज्यहरूको स्वतन्त्रतालाई मान्यता दियो र सोभियत सङ्घको अस्तित्व समाप्त भयो । ५४ वर्षको उमेरमा गोर्भाचोभ सन् १९८५ मा सत्तामा आएका थिए । उनले धरमराउँदै गएको राष्ट्रको अवस्था फेर्न सुधारका कार्यहरू सुरु गरे । उनका दुई नीति पेरेस्त्रोइका (पुनर्निर्माण र पुनर्संरचना) र ग्लास्नोस्त (खुलापन र अभिव्यक्ति स्वतन्त्रता) भनिने यी नीति नै सोभियत सङ्घ विघटनको अन्तिम कारक बने ।

उनको शासनको अन्तिम दिनमा सोभियत सङ्घको अर्थतन्त्र निकै कमजोर बन्यो । त्यहाँ विश्वका धेरै देशले अपनाएका बजारमुखी अर्थतन्त्रभन्दा फरक केन्द्रीय स्तरमा राज्यले निर्दिष्ट गर्ने अर्थतन्त्र थियो । सोभियत सङ्घमा कारदेखि जुत्ता अनि पाउरोटीसम्म पनि कति उत्पादन गर्ने भन्ने विषय राज्यले निर्धारण गथ्र्यो । अन्तिम दिनमा सामान्य सामानको समेत अभाव भई पसलमा भीड लाग्न थाल्यो । राज्यले नै ती सामग्री प्रत्येक नागरिकलाई कति चाहिन्छ, मूल्य कति हुनुपर्छ र कति पारिश्रमिक दिइनुपर्छ भन्ने कुरा निर्धारण गर्ने भएकाले  राज्य नियन्त्रित अर्थव्यवस्था अन्ततः सोभियत सङ्घका लागि अभिशाप बन्न पुग्यो ।

सन् १९५० को दशकको अन्त्यतिर सुरु भएको सोभियत सङ्घ र अमेरिकाबीचको अन्तरिक्षसम्बन्धी खोज र हतियारको दौडमा भएको ठूलो धनराशि खर्चले अवस्था अझ नराम्रो बनायो । सोभियत सङ्घ मानिसलाई अन्तरिक्षमा पठाउने पहिलो राष्ट्र थियो । ऊसँग निकै उन्नत परमाणु हतियार अनि क्षेप्यास्त्र थिए । यो उसका लागि निकै महँगो साबित भयो । 

यो दौडका लागि लगानी गर्न सोभियत सङ्घ तेल र ग्यासजस्ता प्राकृतिक स्रोतमा निर्भर थियो तर सन् १९८० को सुरुतिर तेलको मूल्य कम हुन गयो, जसले पहिले नै समस्यामा रहेको अर्थतन्त्रमा व्यापक प्रभाव पा¥यो । उपभोग्य वस्तुहरूको अभाव देखिन थाल्यो र बजारमा महँगी आकासियो । उसको मुद्रा रुबल अत्यन्तै कमजोर बन्यो । यसले गर्दा जनजीवन अस्तव्यस्त बन्यो ।  

गोर्भाचोभको ग्लास्नोस्त नीति देशमा अभिव्यक्ति स्वतन्त्रता दिनेतर्फ उद्यत थियो । उनले जोसेफ स्टालिनको पालामा भएको दमनको वास्तविकता दर्साउने इतिहासका पाना पल्टाउन थाले । विदेशमा ख्याति कमाएका उनको आफ्नै देशमा भने चर्को आलोचना भयो । आलोचनाबीच उनले सामान्य रूपमा कम्युनिस्ट पार्टीको वर्चस्वलाई चुनौती दिँदै बहुदलीय व्यवस्थाबारे पनि विचार अघि सारेका थिए ।

सोभियत सङ्घ बहुराष्ट्रिय राज्य र रुसी साम्राज्यको उत्तराधिकारी थियो । सङ्घमा १५ राज्य थिए । भ्रातृ राष्ट्रका रूपमा सैद्धान्तिक हिसाबले उनीहरूको अधिकार समान थियो तर यथार्थमा रुस सबैभन्दा ठूलो अनि शक्तिशाली थियो र रुसी भाषा अनि संस्कृति धेरै क्षेत्रमा हाबी भयो ।

ग्लास्नोस्तले अन्य गणराज्यका मानिसलाई विगतमा भएका जातीय उत्पीडनबारे सचेत गरायो । सन् १९३० को दशकको युक्रेनको अनिकाल, बाल्टिक राज्य अनि पश्चिमी युक्रेनको अधिग्रहण र सोभियत–नाजी मित्रता सन्धि, दोस्रो विश्वयुद्धताका कैयौँ जातीय समूहलाई बाहिरिन बाध्य पारिएका घटनाबारे सर्वसाधारणले थाहा पाए । यी र अन्य कैयौँ घटनाले राष्ट्रवाद अनि आत्मनिर्णयको माग व्यापक रूपमा वृद्धि गराए ।

मूलतः गोर्भाचोभलाई शीत युद्ध अन्त्य गरेको अनि पश्चिमा राष्ट्रहरूसँग सम्बन्ध सुधार गरेर परमाणु युद्धको खतरालाई रोकेको श्रेय जान्छ । तर सुधारिएको सम्बन्धको एउटा अप्रत्याशित नतिजा के भयो भने सोभियत सङ्घका जनताले अन्य देशका नागरिकको तुलनामा आफ्नो जीवन कति खराब छ भन्ने कुरा थाहा पाए ।

गोर्भाचोभलाई सोभियत अर्थतन्त्र र सार्वजनिक मनोबलको थप गिरावट रोक्नका लागि आमूल परिवर्तन आवश्यक छ भन्ने कुरा थाहा थियो तर यो कसरी प्राप्त गर्ने भन्ने उनको दृष्टिकोणमा स्पष्टताको भने कमी थियो । शीत युद्ध अन्त्य गरेर उनी बाहिरी विश्वका लागि नायक बने  तर आफ्नै घरमा भने उनी आलोचनाको पात्र बने । 

गोर्भाचोभलाई हटाउन सन् १९९१ को अगस्तमा पुरातनपन्थीहरूले ‘कु’ को प्रयास गरेका थिए तर यसले सोभियत सङ्घलाई जोगाउनेभन्दा पनि विघटनको द्वारतर्फ अघि बढायो । ‘कु’ को प्रयास गर्ने नेताहरूले देशबाट भाग्ने प्रयास गरे र गोर्भाचोभ शक्तिमा फर्के तर उनी लामो समयका लागि शक्तिमा रहन सकेनन् ।  रुसमा बोरिस यल्तसिन अनि सोभियत सङ्घमा अन्य नेताको उदय भयो । त्यसपछि धेरै देशले स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरे र डिसेम्बरसम्ममा सुपरस्टेटको भविष्य धरापमा प-यो । गोर्भाचोभलाई एकपक्षीय रूपमा आफूले विस्तार गरेको शक्ति त्यसै छोडिदिएको आरोप लगाइएको थियो । उनले हतारमा पूर्वी जर्मनीबाट सोभियत सेना फिर्ता बोलाउने जस्ता कार्य गरे । 

तत्कालीन सोभियत सङ्घका अन्तिम नेता गोर्भाचोभको निधन भएको छ । उनको निधनसँगै एउटा इतिहासको अन्त्य भयो । ९१ वर्षीय गोर्भाचोभले सन् २०२२ को अगस्त ३१ मा अन्तिम सास लिए ।