लुभा (लुभ्रे) मा कात्तिकको पहिलो हप्ता भएको सनसनीपूर्ण आभूषण चोरीले सय वर्ष पहिले मोना लिसा चोरिएको घटना मानसपटलमा ताजा गराएको छ । लुभाबाट मोना लिसादेखि आभूषण चोरीका घटनाबीच अन्य चोरीका घटना नभएका होइनन् तर मोना लिसाको चोरी र सो पेन्टिङ बरामदको घटना रोमाञ्चले भरिपूर्ण छ ।
सन् १९११ लुभाका एक पूर्वकर्मचारीले इतिहासको सबैभन्दा ठुलो कला चोरी अपराध गरे : लियोनार्डो डा भिन्चीको अमर पेन्टिङ मोना लिसाको चोरी ।
मोना लिसाको चोरीलाई ‘शताब्दीको कला चोरी’ भनिएको छ तर यो हर्कत जुन किसिमले गरियो त्यो आफैँमा धेरै साधारण खालको थियो । सन् १९११ अगस्त २०, आइतबारको दिन साँझ सानो कद भएका एक जुँगे मानिसले पेरिसमा रहेको लुभा सङ्ग्रहालयमा प्रवेश गर्छन् । कैयौँ अन्य उत्कृष्ट कृतिसँगै डा भिन्चीको पेन्टिङ राखिएको सलुन क्याहेतिर उनी बढ्छन् । सङ्ग्रहालयमा सुरक्षा व्यवस्था फितलो थियो । यस कारण ती मानिसलाई सङ्ग्रहालयको भण्डार कक्षमा लुक्न गाह्रो भएन । मानिसको आवतजावत कम हुँदै गयो र लुभा बन्द भयो तर उनी अर्को दिन बिहानसम्म त्यहीँ लुकेर बसे । बिहान करिब ७:१५ बजे सङ्ग्रहालयका कामदारले लगाउने सेतो लुगा (एप्रोन) लगाएर उनी लुकेको ठाउँबाट बाहिर निस्किए । उनले चारैतिर नजर दौडाएर वस्तुस्थिति नियाले । सब ठिकठाक लागेपछि ती चोर मोना लिसा राखिएको स्थानमा पुगे । उनले झुन्ड्याइएको भित्ताबाट मोना लिसा पेन्टिङ निकालेर त्यसलाई नजिकै भर्याङछेउमा लगे । त्यहाँ उनले पेन्टिङमा लगाइएको काठको फ्रेम र सुरक्षा सिसा हटाए ।
शताब्दीको कला चोरी
चोरको योजनामा एक मात्र अड्चन त्यति बेला आयो जब उनले भर्याङ हुँदै प्राङ्गणमा जाने कोसिस गरे । ढोका बन्द रहेको पाएपछि उनले कागजको सेतो ताउमा बेरेर राखेको मोना लिसालाई भुईंमा राखर ढोकाको ह्यान्डल जोरले खोल्न खोजे । आफ्नो प्रयासमा उनी केही सफल भएका मात्र के थिए लुभाका एक प्लम्बर भर्याङमा देखा परे । चोरलाई समात्नुको साटो ती प्लम्बरले सहकर्मीभित्र थुनिएको ठानेर ढोका खोल्न उनलाई मद्दत पुर्याए । अनि मन्द मुस्कान छर्दै प्लम्बरलाई धन्यवाद दिएर चोरले त्यहाँबाट कुलेलम ठोके । केही छिनमै ती व्यक्ति विश्वको सर्वाधिक मूल्यवान् पेन्टिङ आफ्नो एप्रोनमा लुकाएर लुभाबाट बाहिर पुगे ।
एक दिन बित्यो लुभाका कर्मचारीले मोना लिसा चोरी भएको चालसमेत पाएनन् । किनभने सङ्ग्रहालयका पेन्टिङलाई सरसफाइ वा फोटोग्राफीका लागि प्रायः भित्ताबाट झिक्ने गरिन्थ्यो । यसकारण त्यहाँ आउने व्यक्तिले प्रायः मोना लिसा पेन्टिङ झुन्ड्याइएको देखिने तर अब भित्ताको रित्तो देखिइरहेको भागलाई त्यति चासो पनि दिएनन् । अन्ततः सनसनी मच्चाउने समय पनि आयो ।
मङ्गलबार अपराह्न सङ्ग्रहालय अवलोकनमा आएका एक कलाकारले मोना लिसा पेन्टिङप्रति चासो राखेर त्यो लिएर आउन एक सुरक्षा अधिकारीलाई अनुरोध गरे तर ती अधिकारीले पेन्टिङ कहाँ राखिएको छ, पत्ता लगाउन सकेनन् । त्यसपछि सङ्ग्रहालयका अधिकारीले प्रहरीलाई खबर गरे र सुरु भयो एक व्यापकस्तरको खोजी ।
खोजबिनकै क्रममा मोना लिसा पेन्टिङमा जडान गरिएको सिसाको फ्रेम भर्याङ छेउमा फेला पर्यो । त्यही दिन बेलुका सङ्ग्रहालयका एक अधिकारीले मोना लिसा पेन्टिङ चोरिएको बारेमा विश्वलाई जानकारी दिए । उनले भने, “मोना लिसा हरायो । अहिलेसम्म हामीले यो चोरी कसबाट भयो भन्ने पत्ता लगाउन सकेका छैनौँ ।”
मोना लिसा पेन्टिङ हराएको खबरले फ्रान्समा जनआक्रोश फैलियो । “कुन दुस्साहसी अपराधी, कुन रहस्यमय, कुन सनकी सङ्ग्रहकर्ता, कुन पागल प्रेमीले यस्तो अपहरण ग¥यो ?” पेरिसको पत्रिका इलुस्ट्रेसनले चिन्ता व्यक्ति गर्दै लेख्यो । जासुसहरूको एक जत्था लुभामा चोरको औँलाको निसान खोज्न र साक्षीहरूसँग सोधपुछ गर्नमा जुट्यो ।
सुरक्षा जाँच केन्द्रमा कार, पैदलयात्रु र पानीजहाजबाट यात्रा गर्नेहरूको सघन जाँच गरिन थालियो । साथै प्रहरीले मोना लिसाको अर्धमुस्कान रहेको ‘वान्टेड पोस्टर’ चौतर्फी टाँस्ने र बाँढ्ने कामसमेत गर्यो । जब एक हप्तापछि लुभा पुनः खोलियो कुनै बेला मोना लिसा पेन्टिङ झुन्डिरहने रित्तो भित्ता हेर्न हजारौँ मानिसको घुइँचो त्यहाँ लाग्यो तर मोना लिसाको मन्द मुस्कानको छवि त्यस भित्ताले देखाउन सकेन ।

अनुसन्धान र अनुमान
सञ्चार माध्यममा व्यापक चर्चा परिचर्चाबीच प्रहरीको अनुसन्धानबाट केही आशालाग्दा सङ्केत मिल्न थाले । एक हाइप्रोफाइल संदिग्ध थिए गिलोम अपोलिनेयर । एक अग्रगामी कवि अपोलिनेयरले कुनै बेला लुभालाई जलाएर सिध्याइदिनुपर्ने कुरा गरेका थिए । प्राचीन दुई लघुप्रतिमा पहिले चोरेको आरोप लगाएर प्रहरीले सन् १९११ को सेप्टेम्बरमा अपोलिनेयरलाई पक्राउ गर्यो । ती लघुप्रतिमा उनका सचिवले लुभाबाट चोरेका थिए । सोधपुछ गर्दा अपोलिनेयरले आफ्ना घनिष्ट मित्र स्पेनी कलाकार २९ वर्षीय पाब्लो पिकासोलाई यस मामिलामा मुछे । किनभने पिकासोले ती लघुप्रतिमा खरिद गरी तिनलाई आफ्ना पेन्टिङमा नमुनाका रूपमा प्रयोग गरेका थिए ।
मोना लिसा हराएको घटनाका सम्बन्धमा अधिकारीहरूले अपोलिनेयर र पिकासोसँग सोधपुछ गरे तर प्रमाणको अभावमा कला क्षेत्रका दुवै भावी कलाकारलाई निर्दोष मानेर छाडियो ।
दिन बित्दै गए, महिना भयो मोना लिसाको वस्तुस्थितिका बारेमा अनेक खालका अड्कल चुलिँदै गए । दी न्युयोर्क टाइम्सले लेख्यो, “ठुलो सङ्ख्यामा मानिस सोखले सलर्क होम्स भएका छन् र उनीहरू असाधारण सिद्धान्त अगाडि सारेर जिकिर गर्दै छन् ।” केहीले तर्क गरे अमेरिकी बैङ्किङ क्षेत्रका हस्ती जे पी मोर्गनले आफ्नो निजी कला सङ्ग्रहलाई अझै समृद्ध बनाउन मोना लिसाको पेन्टिङ चोरी गराएका हुन् । केही यस्तो तर्क गर्नेहरू पनि सतहमा आए, फ्रान्सेलीहरूलाई बदनाम गर्न जर्मनहरूले चोरीको योजना बनाएका हुन् । टाढा रहेका ब्राजिल, रुस र जापानबाट समेत विभिन्न अड्कलबाजीको कुरा आउन थाल्यो तर यस मामिलामा कुनै सुराक हात नलागी दुई वर्षभन्दा बढी समय बित्यो । धेरै मानिसले त केसम्म विश्वास गर्न थाले भने डा भिन्चीको चार सय वर्ष पुरानो अतुल्य पेन्टिङ सदाका लागि गुमेको छ, अब कहिल्यै पाइने छैन ।
अपराधी
प्रहरीलाई अझै पनि थाहा थिएन मोना लिसा फ्रान्समै छ । वास्तवमा मोना लिसा चोरी भएको सुरुका दिनदेखि नै पेरिस उपनगरी क्षेत्रमा रहेको एककोठे अपार्टमेन्टमा त्यत्तिकै छाडिएको थियो । मोना लिसाका चोर थिए, भिन्सेन्जो पेरुज्जा । इटालीका आप्रवासी पेरुज्जाले एक समय लुभामा सहायकस्तरको काम गरे । उनले मोना लिसाको सुरक्षा कवच फ्रेम बनाउनसमेत सहयोग गरेका थिए । सन् १९११ अगस्टमा मोना लिसा चोरेपछि २९ वर्षीय पेरुज्जाले त्यसलाई आफ्नो घरको काठेबाकसमा गुप्त भाग बनाएर त्यसमा लुकाए । लुभाका एक पूर्वकर्मचारीको नाता भएकाले दुई फरक समयमा उनीसँग समेत अधिकारीहरूले सोधपुछ गरेका थिए तर प्रहरीले कहिल्यै पनि उनलाई संदिग्ध मानेन । चोरीको मामिला नसेलाउन्जेलसम्म पेरुज्जाले दुई वर्षसम्म मोना लिसालाई लुकाएर राखे । पछि उनले प्रतिक्रिया दिँदा भनेका थिए, “म उनको मुस्कानको सिकार भएँ र हरेक दिन साँझ म आफ्नो यस अनमोल खजानालाई हेर्दथेँ । म उनको प्रेमपासमा परेँ ।”
पेरुज्जाले अन्ततः सन् १९१३ डिसेम्बरमा आफ्नो त्यस ‘खजाना’ लाई बेच्ने कोसिस गरे । छदम नाम लियोनार्ड राखेर उनले फ्लोरेन्सका कला व्यापारी अल्फ्रेडो गेरीलाई एक पत्र लेखेर आफूले मोना लिसा चोरेको र त्यसलाई इटाली फिर्ता पठाउन चाहेको जानकारी दिए । उफिजी ग्यालेरीका निर्देशक जियोभान्नी पोग्गीसँग विचार विमर्श गरेपछि गेरीले पेरुज्जालाई फ्लोरेन्स बोलाए र त्यो पेन्टिङ हेर्न सहमति भयो । केही दिनपछि तीनै जना पेरुज्जा बसेको होटेलको कोठामा भेला भए । त्यहाँ पेरुज्जाले रातो रेसमी कपडामा बेरिएको रहस्यमय वस्तु निकाले । गेरीले त्यस घटनाका बारेमा यसरी भनेका छन्, “हामीले त्यसलाई ओछ्यानमा राख्यौँ र हाम्रो आश्चर्यचकित आँखाका अगाडि दिव्य मोना लिसा प्रकट भइन्, अक्षुण र अद्भूत रूपले सुरक्षित ।”
गेरी र पोग्गीले पेन्टिङलाई तत्काल उपिजी लिएर जाने व्यवस्था मिलाए । उनीहरू पेरुज्जालाई मोना लिसा खरिदका लागि पाँच लाख लिरा दिन सहमत पनि भए तर वास्तवमा उनीहरू मोना लिसा खरिद गर्ने सोचाइमा थिएनन् । बरु त्यो पेन्टिङको आधिकारिकता जाँच गर्दा प्रमाणित भएपछि उनीहरूले चोरका बारेमा अधिकारीहरूलाई जानकारी दिए । सन् १९१३ डिसेम्बर ११ का दिन दिउँसो प्रहरीले पेरुज्जालाई उनी बसेको होटेलको कोठाबाट पक्राउ गर्यो र मोना लिसाको चर्चा फेरि चुलियो ।
मोना लिसाको फिर्ती
डा भिन्चीको गृहनगरको सङ्क्षिप्त भ्रमणपछि सन् १९१४ जनवरीमा मोना लिसाको लुभामा फिर्ती भयो । यसबीच पेरुज्जामाथि चोरीको अभियोग लगाइयो र इटालीमा मुद्दा चलाइयो । गवाहीका बेला पेरुज्जाले राष्ट्रियताको भावनाले ओतप्रोत भएर आफूले पेन्टिङ चोरेको दाबी गरे । नेपोलियन युगमा आफ्नो देश इटालीबाट मोना लिसा लुटिएको विश्वास पेरुज्जाले गर्दथे । यस मान्यतामा पेरुज्जा गलत थिए । वास्तवमा सन् १५१६ मा डा भिन्चीले नै मोना लिसा फ्रान्स लिएर गएको इतिहास थियो । पछि फ्रान्सका राजा फ्राँस्वा प्रथमले वैध रूपमा मोना लिसा खरिद गरेका थिए तर पेरुज्जाको देशभक्तिपूर्ण दलिलले ठुलो जनसमूह उनको पक्षमा उभिन पुग्यो । पेरुज्जाले कला व्यापारीलाई मोना लिसा बेचेर लाभ लिन खोजेको प्रमाण अभियोजन पक्षले पेस गर्दा पनि इटालीका धेरै मानिसले उनलाई राष्ट्रनायक मान्न छाडेनन् । अन्त्यमा पेरुज्जालाई एक वर्ष १५ दिन जेल सजाय तोकियो तर आफ्नो पुनरावेदनमा सफल भएका कारण उनले सात महिना मात्र जेलमा बिताउनु पर्यो । पछि उनले प्रथम विश्वयुद्धमा इटालीको सेनामा सहभागी भएर युद्ध लडे । त्यसपछि फ्रान्स फर्किएका पेरुज्जाको सन् १९२५ मा मृत्यु भयो ।
समय कालमा पेरुज्जालाई मानिसले बिर्सिए पनि उनको साहसिक चोरीले मोना लिसालाई थप प्रख्यात बनाइदियो । लुभामा मोना लिसा फर्किएपछि सुरुका दुई दिन त कम्तीमा एक लाख २० हजार मानिस त्यसलाई हेर्न पुगेका थिए । कला अनुरागी र समालोचकहरूले मोना लिसाको रहस्यमय मुस्कानका बारेमा नवीन अड्कलबाजी लगाउन सुरु गरे तथा यसलाई अनगन्ती कार्टुन, विज्ञापन, हास्यव्यङ्ग्य, पोस्टकार्ड र गीतमा यसलाई उकेरियो ।
लेखक डायना हेल्सले लेखिन्, “लुभाबाट मोना लिसा एक कलाका रूपमा बिदा भएकी थिइन् । उनी सार्वजनिक सम्पत्तिका रूपमा फर्किइन्, प्रथम जनकला प्रतीकका रूपमा ।”
आजसम्म विश्वको सर्वाधिक परिचित मोना लिसा पेन्टिङ लुभामै रहेको छ । त्यहाँ यसलाई जलवायुले प्रभाव नपार्ने एउटा ठुलो बाकसमा राखेर झुन्ड्याइएको छ । बुलेटप्रुफ सिसाले संरक्षित यस पेन्टिङलाई हेर्न बर्सेनि करिब ८० लाख मानिस लुभ पुग्ने गरेका छन् ।
हिस्ट्रीबाट उमेश ओझाद्वारा अनुवादित तथा सम्पादित ।
–युवामञ्च