• २५ फागुन २०८१, आइतबार

असीम गहिरो च्यालेन्जर डिप

blog

मारियना ट्रेन्चको रहस्य त्यतिबेला उजागर भयो जब एचएमएस च्यालेन्जरको चालकदलका सदस्यले त्यसको असीम गहिराइमा गह्रौँ वस्तु बाँधिएको डोरी खसाले । सन् १८७५ मार्च २३ मा एचएमएस च्यालेन्जर मारियना द्वीपबाट दक्षिण पश्चिम प्रशान्त महासागरको मध्यमा रोकियो । उसको नियमित काम थियो महासागरको गहिराइ मापन गर्नु । यस्तो काम पहिले पनि कैयौँ पटक गरेका बेलायती वैज्ञानिक र नाविकले च्यालेन्जरबाट गह्रौँ वस्तु बाँधिएको डोरी पानीमा खसाले । पहिले त यस्तो भएको थिएन, डोरी निरन्तर पानीको गहिराइमा गइरह्यो । वैज्ञानिकहरू चकित थिए, सागरको पिँधमा डोरी पुग्ने छाँट नै छैन । 

अन्ततः करिब २७ हजार फिट अर्थात् करिब आठ किलोमिटर तल पुगेपछि डोरी डुब्न छाड्यो । मारियना ट्रेन्चका रूपमा परिचित सागरको असीम गहिराई मापनमा मानिसको यो प्रथम प्रयत्न थियो । त्यसपछिका अन्वेषणबाट थाहा भयो मारियना ट्रेन्च वास्तवमा ३६ हजार फिट अर्थात् करिब ११ किलोमिटर गहिरो छ । मारियना ट्रेन्चको सर्वाधिक गहिरो भागमा त सगरमाथासमेत डुब्ने छ । यस्तो गहिराइमा पानीको दबाब सतहको भन्दा लगभग ११ सय गुणा बढी भएको अन्वेषणबाट पत्ता लागेको छ । यसलाई हामी यसरी बुझ्न सक्छौँ, एक पूर्ण वयस्क अफ्रिकी हात्तीले मानिसको बूढीऔँलामा टेक्दा जति दबाब पर्ने छ त्यति नै जलदबाब मारियना ट्रेन्चको पिँधमा छ । स्टेट युनिभर्सिटी अफ न्युयोर्कका साइकोलोजिस्ट तथा इकोलोजिस्ट म्याकेन्जी जेरिन्जरको भनाइमा मारियना टे«न्चको गहिराइमा प्रकाश किरण छिर्दैन तथा त्यहाँ पानी हिमाङ्क बराबर छ । तथापि त्यसको पिँधमा अलि माथिको तुलनामा पानी हल्का तातो छ किनभने त्यहाँ ठूलो दबाबका कारण काइनेटिक इनर्जी अर्थात् गतिशक्तिको मात्रा बढेको छ ।  

सन् २०२० को जर्नल अफ केमिकल फिजिक्समा अनुसन्धानकर्ताले लेखेका छन्, हाम्रो ग्रहमा मारियना ट्रेन्च एक निकै प्रसिद्ध र चरम वातावरण भएका स्थानमध्येको एक हो । 

‘फिलिपिन सी प्लेट’ मुनि ‘प्यासिफिक प्लेट’ घुसेर ‘टेक्टोनिक’ रूपमा उत्पन्न भएको मारियना ट्रेन्च पश्चिम प्रशान्तमा वृत्ताकार २४१ किलोमिटरभन्दा बढी क्षेत्रमा विस्तारित छ । जेरिन्जरले यसबारेमा आफ्नो धारणा यसरी राखेका छन्, “विश्वका अधिकांश अन्य गहिरा खाडलसमेत कथित ‘रिङ अफ फायर’ वरिपरि प्रशान्त क्षेत्रमै छन् ।”

एचएमएस च्यालेन्जरको अन्वेषणभन्दा पहिले कसैलाई पनि मारियना ट्रेन्चका बारेमा थाहा थिएन । रोयल सोसाइटीका वैज्ञानिकहरूको आग्रहमा बेलायती युद्धक पानीजहाज एचएमएस च्यालेन्जरलाई सन् १८७२ मा प्रयोगशाला र भण्डारगृह निर्माणसहित मर्मतसम्भार गरियो तथा त्यसमा जडित अधिकांश बन्दुक हटाइयो । उनीहरू समुद्रको अध्ययनका लागि विश्व भ्रमणमा निस्कने योजनामा थिए । केही सैन्य कामकारबाही गरिनुपर्ने भए पनि बेलायती जलसेना विज्ञानलाई प्राथमिकता दिन सहमत थियो । 

सन् १८७२ डिसेम्बर २१ मा छ जना वैज्ञानिक तथा २५० जना नाविक र अधिकारीका साथ एचएमएस च्यालेन्जरले इङ्ग्ल्यान्डबाट प्रस्थान ग¥यो । यस जहाजले बन्दरगाहबाट प्रस्थान गरेलगत्तै तुफानको सामना गर्नु प¥यो । केही दिनमा च्यालेन्जर पोर्चुगल पुग्यो र क्यानेरी आइल्यान्ड हुँदै यसले पहिलो पटक आन्ध्र महासागर पार गरेको थियो । यसले पछि केही पटक फेरि आन्ध्र महासागर पार गर्दै केप अफ गुड होपको फन्को मारेर एन्टार्कटिकातिर लाग्यो । जमेको समुद्रमा अगाडि बढ्न नसकेर च्यालेन्जरले एन्टार्कटिक पुग्न सकेन । त्यहाँबाट अस्ट्रेलिया, न्युजिल्यान्ड, हङकङ, फिलिपिन्स, न्यु गिनी र जापान हुँदै हवाई भएर प्रशान्त महासागर पार गरी दक्षिण अमेरिका पुग्यो । त्यसपछि घर फर्कने क्रममा च्यालेन्जरले केप हर्नको फन्को मा¥यो । फर्केर सन् १८७६ मे २४ मा इङ्ग्ल्यान्ड पुग्दासम्म च्यालेन्जरले लगभग एक लाख २९ हजार किलोमिटर दुरी तय गरेको थियो । 

त्यस क्रममा करिब ३२१ किलोमिटरको अन्तरमा च्यालेन्जरका वैज्ञानिकले अवलोकन स्टेसन स्थापना गरेका थिए । वैज्ञानिकले भाङको बोक्राबाट बनाइएको र भार बाँधिएको डोरीलाई एक चक्काको मद्दतबाट पानीमा खसालेर हरेक स्टेसनमा समुद्रको गहिराइ पत्ता लगाए । त्यस क्रममा त्यहाँको पिँधमा रहेको थेग्रोको नमुनासमेत सङ्कलन गरियो ।  

सामान्यतया उनीहरूले जीव खोजका लागि समुद्रको पिँध खोस्रिए, विभिन्न गहिराइको तापक्रम मापन, पानीको नमुना सङ्कलन तथा जलधारा मापन गरे । यी कार्य कठिन तथा खतरनाक थिए । पहिलो पटक प्रयोग गर्दा डोरी चुँडियो र त्यसमा जोडिएका उपकरण समुद्रमा हराए । अर्को पटक क्यारेबियन क्षेत्रमा हुँदा एक जना नाविकले त्यतिबेला ज्यान गुमाउनु प¥यो जब समुद्रमा खसाइएको डोरीमा उत्पन्न तनावले जहाजको डेकमा रहेको फलामको एउटा ढाँचा नै उखेलियो र जहजमा हुत्तियो । त्यसले लागेर ती नाविकको ज्यान गएको थियो । यस्तै प्रशान्त महासागरमा रहँदा एक वैज्ञानिकले सङ्क्रमणका कारण ज्यान गुमाए । च्यालेन्जरका वैज्ञानिकले केही हदसम्म नैतिक रूपमा यस्तो सन्दिग्ध निर्णय लिए जुन आधुनिक मानकसँग मेल खान्छ । उदाहरणका लागि उनीहरूले एक समय माछाको नमुना सङ्कलन गर्न डायनामाइटसमेत प्रयोग गरेका थिए ।   

च्यालेन्जरको अन्वेषणले हजारौँ नयाँ प्रजाति खोज गरेको थियो तथा यसबाट सिद्ध भयो असीम गहिराइमा समेत जीवन अस्तित्वमा रहेको छ । यस अन्वेषणले पुच्छ«ेतारा र क्षुद्रग्रहको अवशेष अर्थात् ब्रह्माण्डीय धुलोसमेत समुद्रको गहिराइको थेग्रोमा पत्ता लाग्यो । 

मारियना ट्रेन्चको खोज

च्यालेन्जरले अनपेक्षित रूपमा मारियना ट्रेन्चको स्थितिसमेत पत्ता लगायो । जापानतिर गइरहँदा च्यालेन्जरले गुमाआदेखि २८१ किलोमिटर दक्षिणपश्चिम मारियना द्घद्वीप समूहनजिक एउटा अवलोकन स्टेसन स्थापना गरेको थियो । 

सामान्यतया क्याप्टेनले तथ्याङ्क सङ्कलन गरिरहँदा जहाजलाई स्थिर राख्न इन्जिन चालु राख्दथे तर हल्का हावा चलेको देखेर उनले इन्धनका रूपमा प्रयोग गरिने कोइला जोगाउन चाहे र जहाजलाई त्यत्तिकै तैरिन दिए । त्यसपछि भार बाँधिएको डोरी जहाजबाट पानीमा खसालियो । डोरी करिब २७ हजार फिट गहिराइमा पुगेर रोकियो । च्यालेन्जरले विश्वका लगभग पाँच सय स्थानमा समुद्रको गहिराइ मापन गरेको थियो तर यस पटकको मापनको नतिजा सबैभन्दा फरक आयो । यत्तिको गहिराइ कहीँ पनि मापन गरिएको थिएन । 

प्रशान्त महासागरमा यति विध्न गहिराइ फेला पर्ला भन्ने उनीहरूले अनुमानसमेत गरेका थिएनन् । एक पटक असीम गहिराइ पत्ता लागेपछि वैज्ञानिकले दोहो¥याएर अन्वेषण गरे र नतिजा उस्तै आयो । गहिराइ मापन गर्दा निकै धेरै जलदबाबले गर्दा डोरीमा बाँधिएको तापक्रम मापन गर्ने थर्मोमिटर फुट्यो । वैज्ञानिकले त्यतिबेला जहाजका मार्गनिर्देशक सहलेफ्टिनेन्टको नामबाट त्यस क्षेत्रको नामकरण गरे ‘स्वायर डिप’ । 


नजिकैको मारियना द्वीपको नामबाट समुद्रको गहिरो क्षेत्रलाई मारियना ट्रेन्च नाम दिइयो । त्यसअघि स्पेनी रानी मारियनाको सम्मानमा प्रशान्त क्षेत्रका ती द्वीपको नाम मारियना राखिएको थियो । स्पेनीहरूले सन् १६६७ मा मारियना द्वीपहरूलाई आफ्नो उपनिवेश बनाएका थिए ।   

च्यालेन्जरका वैज्ञानिकलाई एउटा विशाल खाडलमाथि छौँ भन्ने थाहा थिएन । धेरैपछि मात्र समुद्र पिँधको नक्सा तयार पार्न सकियो । सन् १८९९ मा एक अमेरिकी अन्वेषण टोलीले त्यस क्षेत्रमा खसालेको डोरी ३१ हजार ६ सय फिट तलसम्म पुग्यो । त्यसपछि सन् १९५० को दशकको सुरुको समयमा बेलायती जलसेनाको पानीजहाज एचएमएस च्यालेन्जर द्वितीयले नयाँ प्रविधिबाट ‘इको साउन्ड’ (प्रतिध्वनि) प्रयोग गरेर त्यहाँको गहिराइ ३५ हजार ६४० फिट मापन ग¥यो । मारियना ट्रेन्चको सर्वाधिक गहिरो भाग ‘च्यालेन्जर डिप’ पत्ता लागेपछि त्यसको गहिराइ कैयौँ पटक मापन गरिएको छ । कहिले ‘सिङ्गल बिम सोनार’, ‘मल्टिबिम सोनार’, ‘साइड–स्क्यान सोनार’ र ‘प्रेसर सेन्सर’ ले त्यहाँको गहिराइ मापन गरिएको छ । गहिराइ मापन गर्ने यी सबै अन्वेषणको नतिजा हल्का तलमाथि भए पनि हालसालैका सबै मापनबाट समग्रमा ‘च्यालेन्जर डिप’ ३६ हजार फिट गहिरो रहेको एकमत छ । 

‘च्यालेन्जर डिप’ हिलाम्मे छ र त्यस क्षेत्रमा धेरै नै हिमस्खलन भइरहन्छ । यस कारण यसको गहिराइमा हेरफेर भइरहने अनुमान गरिएको छ । 

सन् १९६० मा स्विट्जरल्यान्डका ओसियनोग्राफर ज्याक्स पिकार्ड र अमेरिकी जलसेनाका लेफ्टिनेन्ट डन वाल्स समुद्रको सर्वाधिक गहिराइको भ्रमण गर्ने प्रथम मानव भए । उनीहरू सवार पनडुब्बीको प्लास्टिकको झ्याल अत्यधिक दबाब सहन गर्न नसकेर चर्कियो । तैपनि उनीहरू पिँधमा २० मिनेट बिताउन सफल भएका थिए । 

त्यसपछि लामो समय ‘च्यालेन्जर डिप’ मा कोही पनि मानिस पुगेन । सन् २०१२ मा चलचित्र निर्माता जेम्स क्यामरन ‘भर्टिकल टोर्पिडो’ मा एकल डुब्की लगाएर त्यहाँ पुगेका थिए । सन् २०१९ यता कैयौँ अन्य मानिस ‘च्यालेन्जर डिप’ पुगेका छन् । पहिलो पटक ‘च्यालेन्जर डिप’ मा पुग्ने वाल्सका छोरा केली, अन्तरिक्षयात्री क्याथी सुलिभान र साहसी भिक्टर वेस्कोभो मारियना ट्रेन्च दृश्यावलोकन गर्ने केही नाम हुन् ।    

पिँधमा के छ ?

‘च्यालेन्जर डिप’ को अत्यन्त प्रतिकूल परिस्थितिमा समेत जीवन पाइएको छ । झिङ्गे माछासरहको ‘एम्फिपोड’ त्यहाँ पाइएका छन् । साथै त्यहाँ अर्धपारदर्शी समुद्री काँक्रो, ब्याक्टेरिया र एककोषीय जीव ‘जेनोफिओफोर्स’ रहेको हालसालैका अन्वेषणबाट पत्ता लगाइएको छ । अचम्मको कुरा त के छ भने अत्यधिक जलदबाब भएको मारियना ट्रेन्चमा कोमल शरीर भएका ‘हेडल स्नेलफिस’ र ‘कस्क इल’ समेत पाइएका छन् तर यी माछा २७ हजार फिट गहिराइसम्म मात्रै पाइन्छन् । सन् १९६० मा पिकार्ड र वाल्सले मारियना ट्रेन्चमा डुब्की लगाउँदा ‘च्यालेन्जर डिप’ मा चेप्टो जिउ भएका माछा ‘फल्याटफिस’ देखेको जुन दाबी गरेका थिए त्यसपछिका अन्वेषणबाट वैज्ञानिकले त्यसलाई अस्वीकार गरेका छन् । 


सबैभन्दा आश्चर्यजनक र प्रकृतिसँग असीमित मानव हेलचक्र्याइँलाई पुष्टि गर्ने गरी मारियना ट्रेन्चमा प्लास्टिक पाइएको छ । त्यहाँ प्लास्टिक मात्र पाइएन गहिरो समुद्रमा बस्ने ‘एम्फिपोड’ हरूले प्लास्टिक खाने गरेको समेत थाहा भयो । साथसाथै वैज्ञानिकले के समेत पत्ता लगाएका छन् भने समुद्रको गहिराइमा अक्सिजनको मात्र पनि घटिरहेको छ । जसको मुख्य कारण जलवायु परिवर्तनलाई मानिएको छ । 

  –युवामञ्च   

Author
उमेश ओझा

उहाँ युवामञ्चको सम्पादक हुनुहुन्छ ।