• ७ माघ २०८१, सोमबार

कस्तो होला पुरुषबिनाको संसार !

blog

कुनै जीवको अस्तित्व लोप भएको वा हुने विषयवस्तुमा चर्चा हुँदा प्रायः कुनै खालको भयङ्कर प्राकृतिक विपत्ति, जलवायु परिवर्तन (अचेल) वा लोपोन्मुख प्रजातिलाई केन्द्रमा राखेर अन्तर्क्रिया गरिन्छ । जीवको अस्तित्वसँग जोडिएका अनेक प्रश्नमा यिनै कारकको सेरोफेरोमा रहेका विचार विगतदेखि नै अभिव्यक्त हुँदै आएका छन् । विषयवस्तु कुनै ‘साइन्स फिक्सन’ जस्तो लाग्न सक्छ र विभिन्न प्रश्न एकैपटक मानसपटलमा आउलान् तर विज्ञान सचेत भइसकेको छ ।

‘मास एक्सटिङ्सन’ सिद्धान्तको अवधारणामा होस वा ‘एस्टेरोइड इम्प्याक्ट’ वा ‘स्पेसिस एक्सटिङ्सन’ द्वारा प्रस्तावित अवधारणा– वातावरणीय परिवर्तन, पृथ्वीमा क्षुद्रग्रहको टक्कर, प्रजातिको अन्तिम सदस्यको मृत्यु आदिले प्राकृतिक विपत्ति र एक्कासि उत्पन्न वातावरणीय प्रतिकूलतालाई नै जीव वा प्रजाति लोपको मुख्य कारण मानेका छन् । तथापि यी सबैभन्दा बेग्लै किसिमले एक यस्तो विलोपन क्षितिजमा देखा पर्दै गएको छ जुन मानव अस्तित्वको मूलभूत ढाँचा परिवर्तनसँग जोडिएको छ । यसको दोषी हो जीव उत्पत्तिको एक सूक्ष्म संरचना– वाई क्रोमोजोम ।

वैज्ञानिक अनुसन्धानबाट स्पष्ट भइसकेको छ पुरुष वंशाणुको यो मुख्य घटक खुम्चिँदै गएको छ र विस्तारै यो विलुप्त हुन सक्छ । प्रश्न उठ्न सक्छ मानव अस्तित्वसँग यसको सम्बन्ध के ? वाई क्रोमोजोम खुम्चिँदै गए मानव भविष्यमा यसको अर्थ के हुने छ ? विज्ञानमा उल्लेख छ, वाई क्रोमोजोमले मानिसमा पुरुष लिङ्ग निर्धारण गर्दछ । वाई क्रोमोजोमले गर्दा नै यस संसारमा पुरुष छन् । सरल रूपमा भन्नु पर्दा वाई क्रोमोजोम भएन भने पुरुषको जन्म सम्भव छैन र पुरुष भएन भने मानव सृष्टिमा पूर्णविराम लाग्ने छ । 

सन् १९८० को दशकमा लुइस र वल्टर अल्भारेजले आमविनाशका दुई पक्ष मूलभूत र सन्निहित (Ultimate and Proximate) को संयोजनलाई मुख्य कारण मानेर पृथ्वीमा जीव आमविनाश (Mass Extinction) को जुन आधुनिक अवधारणा प्रतिपादित गरेका थिए त्यो नै विश्वमा हाल बहुस्वीकार्य छ । उनीहरूको  शोधपत्रमा उल्लेख गरिए अनुसार मूलभूत कारणले यस्तो अवस्था सिर्जना गर्दछ जसबाट वातावरणीय परिवर्तन उत्प्रेरित हुन्छ । क्षुद्रग्रहको टक्कर, जैव विकासवादी घटना तथा ज्वालामुखी विस्फोटन आदिलाई उनीहरूले यस वर्गमा राखेका छन् । यस्ता घटनाबाट सन्निहित प्रभाव पर्दछ । सन्निहित भनेको ती वातावरणीय परिवर्तन हुन् जसको परिणामतः आमविनाश आउँछ । लुइस र वाल्टरको अवधारणालाई डायनासोरस लोप भएको घटनाले समर्थन गर्दछ ।    

वाई क्रोमोजोम विलुप्त हुन सक्ने सम्भावना र त्यसबाट मानव सृष्टिमा पर्ने प्रभावलाई ‘स्पेसिस एक्सटिङ्सन’ को अवधारणाले धेरै हदसम्म सम्बोधन गर्न सक्ने देखिन्छ । म्याडागास्करमा कुनै बेला विचरण गर्ने डोडो चरा वा अस्ट्रेलियाको तास्मानियामा पाइने गरेको ‘तास्मानियन टाइगर’ आफ्नो प्रजातिको अन्तिम सदस्यको मृत्युसँगै यस संसारबाट लोप भए । ‘स्पेसिस एक्सटिङ्सन’ को तर्क पनि यही छ, अन्तिम सदस्यको मृत्यु भएर प्रजाति लोप हुन्छ । यसका अनेक कारण हुन्छन् । चोरी शिकारी धेरै भएर डोडो र ‘तास्मानियन टाइगर’ लोप भएको तथ्यलाई उदाहरण मान्न सकिन्छ । आहारा र पानी नपाएर, वासस्थान उजाडिएर वा बाँच्नका लागि पर्याप्त स्थान नपाएर जीव लोप हुने ‘स्पेसिस एक्सटिङ्सन’ को मान्यता छ । यसमा हामी वाई क्रोमोजोम नासिएर मानिसको अस्तित्व सङ्कटमा पर्ने प्रसङ्गलाई जोडेर विश्लेषण गर्न सक्छौँ । 

पुरुषबिनाको संसार

वाई क्रोमोजोम कमजोर पर्दै विलुप्त हुने भविष्यवाणी वैज्ञानिकले नै गर्न थालेपछि पहिलो प्रश्न उठेको छ, के पुरुषबिनाको संसार हुने छ ? क्रमगत प्रश्न जोडिँदै गएका छन्, पुरुष नै नभए के मानव लोप हुने हुन् ?, महिलामै स्वप्रजनन क्षमता विकास हुन सक्ला ? वा वर्तमानको परिवर्तन भविष्यमा सुधारिएर आउला ? प्रश्नै प्रश्नबीच अनुसन्धानात्मक नतिजा आइरहेका छन्, सम्भावनाका अनेक पाटा लिएर । कसैले भनेका छन् वर्तमान अवस्थामा पछि सुधार आउन सक्छ, कसैले तर्क गरेका छन् पृथ्वीमा जीवनोपयोगी वस्तुस्थितिमा विषमता बढ्दै गएमा वाई क्रोमोजोम खुम्चँदै जाने क्रम तीव्र हुने छ । वैज्ञानिकको एक पक्ष यस्तो पनि छ जसले वाई क्रोमोजोम विलुप्त हुने अवस्थामा पुग्न लाग्दा महिलामा स्वप्रजनन क्षमता विकास भइसक्ने तथ्यगत विचार राखिरहेको छ । केही जीवमा यस्तो जैविक क्षमता विकास भएको पनि छ । यस्तो भए पनि पुरुषको अस्तित्व रहने छैन ।


पृथ्वीमा जीव उद्विकासका क्रममा अकस्मात्को भयङ्कर घटनाले प्राणी लोप हुने, जस्तै पृथ्वीमा क्षुद्रग्रहको टक्करले डायनासोरस लोप भएको, देखिएको छ तर क्रमगत रूपमा आउने परिवर्तनले धेरै वर्षपछि नयाँ प्रजातिका रूपमा त्यो जीव विकसित भएर जाने गर्छ । जुन अनेक खालका बाह्य घटकको वर्षौंसम्म पर्ने प्रभावबाट जेनेटिक तहमा आउने परिवर्तनले उत्प्रेरित रहन्छ । होमो हाइडलब्रेजेन्सिसमा परिवर्तन आउँदा आधुनिक मानव होमो सेपियन्स अस्तित्वमा आउन थालेको तथ्यलाई उदाहरणका रूपमा लिन सक्छौँ । यो परिवर्तन रातारात वा केही वर्षमा भएको थिएन, हजारौँ वर्षमा यो सम्भव भएको थियो र यस परिवर्तनको अन्तिम सदस्य थियो नियान्डरथल । वाई क्रोमोजोममा आइरहेको परिवर्तन र त्यसले अन्तिम रूप लिन करिब एक करोड वर्ष लाग्ने अनुमान छ वैज्ञानिकहरूको । त्यसैले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन ।

वाई क्रोमोजोम धेरै नै कमजोर भइसकेको छ । यस्तै गति रह्यो भने यो पूर्णतया लोप हुने छ । यो क्रोमोजोम लोप हुँदा सृष्टिमा कस्तो प्रभाव पर्ला ? के नयाँ लिङ्ग भएको मानिसको विकास होला ? वा पुरुषको अस्तित्व नै नष्ट हुने छ ? अस्ट्रेलियाकी प्रख्यात जेनेटिक वैज्ञानिक तथा वाई क्रोमोजोम विशेषज्ञ जेनी ग्राभेसले बिबिसीसँगको कुराकानीमा भनेकी छन्, “सर्वप्रथम हामीले लिङ्गसँग सम्बन्धित क्रोमोजोमका बारेमा स्पष्ट हुनु जरुरी छ । मानिसका साथसाथै केही अन्य स्तनधारीमा पोथीसँग दुई ‘एक्स’ क्रोमोजोम हुन्छ । अर्कोतर्फ पुरुषमा एउटा ‘एक्स’ र एउटा ‘वाई’ क्रोमोजोम हुन्छ । मानिसको कुल डिएनएमा यी जोडीदार क्रोमोजोमको हिस्सा करिब चार प्रतिशत रहन्छ र  यिनले नै लिङ्ग निर्धारण गर्छन् ।”

अर्थात् मानिसमा पुरुष कि स्त्री र स्तनधारी पशुमा भाले कि पोथी यिनै क्रोमोजोमको जोडीले निर्धारित हुने गर्छ । ग्राभेस भन्छिन्, “क्रोमोजोमहरू जहिले पनि जोडीमा हुन्छन् तर पुरुष र महिला लिङ्ग छुट्याउने सम्बन्धित क्रोमोजोमको जोडी असामान्य रहन्छ । महिलामा एक जोडी एक्स क्रोमोजोम हुन्छ भने पुरुषमा एउटा वाई र एउटा एक्स क्रोमोजोमले जोडी बनेको हुन्छ ।” तुलनात्मक रूपमा एक्स क्रोमोजोम धेरै ठूलो हुन्छ, वाई चाहिँ धेरै नै सानो ।

मानव उद्विकासका क्रममा वाई क्रोमोजोम क्षय हुँदै गएको छ । वाई क्रोमोजोम पहिलेको भन्दा धेरै नै कमजोर छ र यसमा थोरै जिन छन् । प्रतिष्ठित नेचर पत्रिकाले भनेको छ, लगभग १८ करोड वर्षपहिले एक जोडी गैरलिङ्ग क्रोमोजोम (अटोसम क्रोमोजोम) बाट मानिसमा वाई र एक्स क्रोमोजोम विकसित भएको थियो । मूलभूत रूपमा साझा विकास भए पनि मानिसको वाई क्रोमोजोम नराम्रोसँग क्षय भएको छ र यसले आफ्नो पुर्खाको ९७ प्रतिशत जिन गुमाइसक्यो तर एक्स क्रोमोजोममा जिनहरू सुरक्षित नै छन् ।

मानिसमा २३ जोडी क्रोमोजोम हुन्छन् । तीमध्ये यौनसँग सम्बन्धित एक जोडी क्रोमोजोम हुने गर्छन् । अटोसम भनिने २२ जोडी क्रोमोजोम पुरुष र महिलामा समान देखिन्छन् तर लिङ्ग निर्धारणमा योगदान गर्ने २३ औँ क्रोमोजोम पुरुष र महिलामा फरक हुन्छ । एक्सले महिला र वाईले पुरुष गुण बोक्छ ।

ग्राभेसको भनाइमा समेत अहिले वाई क्रोमोजोममा मात्र ४५ जिन छन् र यिनीमध्येबाट मात्र एकले सृष्टिमा पुरुषको अस्तित्व जोगाएको छ । बाँकीमध्येका केही जिनले वीर्य बनाउन सहयोग गर्छन् भने अन्य जिनको भूमिका केही देखिँदैन । जबकि स्त्री लिङ्ग निर्धारण गर्ने एक्स क्रोमोजोममा नौ सयदेखि १४ सय जिन हुन्छन् ।

केही वर्षपहिले जिनोम बायोलोजी जर्नलमा भनिएको थियो, वाई क्रोमोजोम कमजोर हुँदै गएपछि नभई नहुने जिनलाई अन्य क्रोमोजोममा स्थानान्तर गरेर प्रकृतिले बचाइराखेको छ । त्यस अनुसन्धानमा संलग्न टोलीको निष्कर्षमा पुरुषमा बाँझोपना देखिनुमा यस तथ्यलाई एक महत्वपूर्ण पक्ष मान्न सकिन्छ ।


विज्ञानमा उल्लेख गरिए अनुसार सुरुमा वाई क्रोमोजोममा एक्स क्रोमोजोमसरह नौ सयभन्दा बढी जिन थिए । सुरुमा समान रूपमा विकसित भएर पनि वाई क्रोमोजोमको क्षयीकरण किन हुन थाल्यो, स्पष्ट छैन ? यहाँ मानिससँग जोडेर वाई क्रोमोजोम क्षयीकरणको चर्चा गरिएको छ तर यस्तो परिवर्तन अन्य प्राणीमा समेत देखिएको छ । उदाहरणका लागि फ्रुट फ्लाईलाई लिन सक्छौँ । यस झिङ्गाले लगभग सबै वाई क्रोमोजोम गुमाइसक्यो तर पनि यो लोप भएको छैन ।

किन यसो भएको होला ? जिज्ञासा स्वाभाविक हुन्छ । यस बारेमा ग्राभेसले स्पष्ट पार्न खोजेकी छन्, “यस क्षयीकरणको दुई कारण छन् । एक त स्पष्ट नै छ वाई क्रोमोजोम सधैँ अण्डकोषमा हुन्छ, डिम्बाशयमा होइन । के थाहा भएको छ भने अण्डकोष एक खतरनाक स्थान हो किनभने त्यहाँ धेरै नै उत्परिवर्तन भइरहन्छ । वीर्य बनाउनका लागि कोषमा धेरै नै विभाजन आवश्यक पर्दछ र हरेक पटक कोष विभाजनले उत्परिवर्तनको सम्भावना बढाउँछ । यस प्रक्रियाले क्रोमोजोममा धेरै प्रभाव पर्छ ।”

अधिकांश क्रोमोजोमले विपरीत क्रोमोजोमसँग डिएनए आदानप्रदान गरी उत्परिवर्तनबाट पुगेको क्षति मर्मत गर्न सक्छन् तर वाई क्रोमोजोम एक्लै भएका कारण यससँग डिएनए आदानप्रदान गर्न सक्ने अर्को साथी क्रोमोजोम छैन । यस कारण वाई क्रोमोजोममा पुगेको नोक्सान पूर्ति हुन सक्दैन । जबकि वाई क्रोमोजोम दुई वटा हुने भएका कारण यिनले डिएनए आदानप्रदान गरी सम्भरण गर्दछन् ।

स्तनधारी प्राणीमा लगभग १८ करोड वर्षपहिले लिङ्गसँग सम्बन्धित क्रोमोजोम विकसित भएको थियो । उद्विकासको क्रमलाई हेर्दा क्षय हुँदै वाई क्रोमोजोम आजको अवस्थामा आइपुग्न धेरै नै समय लागेको छ । विलुप्त नै हुने हो भने पनि करिब एक करोड वर्ष थप लाग्ने छ ।

यसर्थ चिन्ता अहिलेको होला तर नतिजामा पुग्न धेरै नै समय लाग्ने छ । प्रकृतिको सन्तुलन पनि गजबको छ । परिवर्तनसँगै सृष्टिमा सन्तुलनको प्रक्रिया पनि साथसाथै चलिरहन्छ । वाई क्रोमोजोम क्षयीकरणले पुरुषको अस्तित्व सङ्कटमा पर्ने चर्चा भइरहँदा छुट्टै वाई क्रोमोजोमबिना नै अर्थात् भाले नहुँदा पनि सन्तान जन्माइरहेका जीव वैज्ञानिकको नजरमा छन् ।

केही यस्ता जीव पनि छन् जो पार्थेनोजेनेसिस भनिने प्रक्रियाका  माध्यमबाट निषेचन नभएको अण्डले सन्तान जन्माउन सक्षम छन् तर मानिसमा यो सम्भव छैन । किनभने मानिसमा केही जिन छन् जसलाई सक्रिय हुन शुक्राणुका माध्यमबाट आउनु पर्छ । यस कारण पृथ्वीमा पुरुष चाहिएको छ र शुक्राणु पनि । तथापि यसबीच एक विकल्प पनि जीव संसारमा विकसित भएको छ ।

ग्राभेसको भनाइमा हामीमा लिङ्गसँग सम्बन्धित नयाँ जिन सजिलै विकसित हुन सक्छ । जुन कुरा हामीले केही प्रजातिका मुसामा देखिसकेका छौँ । उदाहरणका रूपमा पूर्वी युरोपमा पाइने मुसा प्रजातिको ‘मोल भोल्ब्स’ र जापानको ‘स्पाइनी र्‍याट’ मा पूर्णतया वाई क्रोमोजोम छैन । यी मुसा फरक किसिमले लिङ्ग निर्धारण गर्न सक्ने गरी विकसित भएका छन् । ‘मोल भोल्ब्स’ र ‘स्पाइनी र्‍याट’ मा वाई क्रोमोजोमका सबै महत्वपूर्ण जिन अन्य क्रोमोजोममा स्थानान्तर भएको देखिन्छ । तथापि मुसाका यी प्रजातिमा यस प्रकारको जेनेटिक स्थानान्तरले राम्रोसँग काम गरिरहेको भए पनि मानिसमा यस्तै होला भन्न सकिन्न ।

न्युयोर्क विश्वविद्यालय अन्तर्गत ह्वाइहेड इन्स्टिच्युटमा कार्यरत जेनिफर ह्युजको टोलीले सन् २०१४ मा वाई क्रोमोजोम क्षयीकरण विषयमा गरेको एउटा अनुसन्धानको नतिजाले आशाको किरण चाहिँ फिँजाएको छ । अनुसन्धान टोली प्रमुख ह्युजले आफ्नो टोलीले गरेको खोजका बारेमा यसरी प्रस्ट्याएका छन्, “वाई क्रोमोजोममा बाँचेका जिन असाधारण रूपमा दीर्घजीवी छन् र तिनीहरूले महत्वपूर्ण जैविक कार्य गरिहेका छन् ।” उनको टोलीले वाई क्रोमोजोमबाट लोप भएर अन्य क्रोमोजोममा पुगेका चार जिन पहिचानसमेत गरेको छ ।

अनुसन्धान टोलीले मानिस, बाँदर, मुसा, गाईमा लिङ्ग निर्धारण गर्ने क्रोमोजोमको अवस्था जाँच गर्दा मुसाको एक्स र वाई क्रोमोजोममा ‘आइएफ२एस३’ जिनको प्रतिलिपि पायो । वाई क्रोमोजोममा यस जिनले शुक्राणु उत्पादनको प्रथम चरणमा महत्वपूर्ण भूमिका खेल्दछ तर मानिसको वाई क्रोमोजोममा यो जिन फेला परेन । बरु यसको एक प्रतिलिपि एक्स क्रोमोजोममा र एक प्रतिलिपि अटोसम क्रोमोजोममा फेला पारिएको थियो । यसको अर्थ वाई क्रोमोजोमबाट गुमेको जिनको प्रतिलिपिलाई आश्रय दिएर एक्स क्रोमोजोमले सृष्टिमा पुरुषको अस्तित्व बचाइराखेको छ । यस अनुसन्धानको नतिजालाई सामान्यीकरण भने गर्न सकिँदैन किनभने अनुसन्धानका लागि चयन गरिएका नमुना सीमित थिए । 

यदि यसो भयो भने पनि लिङ्ग निर्धारणका जिनबीच एक प्रकारको ‘युद्ध’ नै हुने छ । वाई क्रोमोजोममा पुलिङ्ग निर्धारण गर्ने एउटा जिन बचेको हुन सक्छ र त्यससँगै अन्यत्र त्यस्तै अर्को जिन विकसित भएको खण्डमा मानव उद्विकासमा त्यसको गम्भीर असर पर्न सक्छ । संसारको एक छेउमा एउटा जिन त अर्को छेउमा अर्को जिन विकसित हुँदाको अवस्थामा मानव प्रजातिमा पृथकीकरण देखिने छ । अहिलेलाई यी सबै कुरा अनुमानमा आधारित छन् तर वाई क्रोमोजोम क्षय हुँदै गएको स्पष्ट भइसकेको छ ।

आधुनिक मानवको नजिकको पुर्खा मानिएको नियान्डरथलको भालेमा लिङ्ग निर्धारण गर्ने वाई क्रोमोजोममा उत्पन्न परिवर्तनले आधुनिक मानव विकसित भएको वैज्ञानिक अनुसन्धानले भन्छ । सन् १९९७ मा वैज्ञानिकले नियान्डरथलको डिएनए अनुसन्धान गरे । यसबाट उनीहरूले के थाहा पाए भने नियान्डरथल हाम्रो नजिकको पुर्खा हो । ३८ हजारदेखि ५३ हजार वर्षपहिले अस्तित्वमा रहेको अनुमान गरिएका तीन भाले नियान्डरडलको अनुसन्धान गर्दा वाई क्रोमोजोमले आफ्ना महत्वपूर्ण जिन धेरै हदसम्म गुमाएको थाहा भएको थियो । मानिसमा समेत अवश्यम्भावी देखिएको यस खालको परिवर्तनको गन्तव्य हाललाई अनुमानमै सीमित छ । 

–उमेश ओझा  

–युवामञ्च