काठमाडौँ, कात्तिक ५ गते । सरकारले निर्वाचनको वातावरणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न तथा मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिएको हो । उक्त प्रयोजनका निम्ति सरकारले मङ्गलबार सर्वदलीय बैठक आयोजना गरेर सरकार र दलहरुबिचको वर्ता र संवाद अघि बढाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मङ्गलबार सर्वदलीय बैठक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब पाँच घण्टा चलेको बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सरकार र राजनीतिक दलहरुबिच सकारात्मक छलफल भएको हो ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरुबिचको संवादले निर्वाचनको माहोल बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार र राजनीतिक दलहरुबिच भएको छलफलबाट सरकार उत्साहित बनेको छ । यसले निर्वाचनको वातावरण बनेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जनेजनीलगायत सबै सरोकारपक्ष उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएका छन् ।”
बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
सर्वदलीय बैठकमा खासगरी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने, सुशासन सन्दर्भ र भ्रष्टाचार नियन्त्रणबारे सघन रुपमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो । “निर्वाचनको सन्दर्भमा गहन छलफल भएको छ । निर्वाचनको वातावरणका लागि सरकारले गर्ने कामको अवगत गराइएको छ”, सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले भन्नुभयो, “राजनीतिक दलहरुकोतर्फबाट सूरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो छ, त्यसप्रति सरकार प्रतिवद्धताका साथ लागेको छ । निर्वाचनको लागि वातावरण बनाउन सरकारकोतर्फबाट भइरहेका तयारीबारे दलहरुलाई अवगत गराइएको छ ।”
मन्त्री खरेलले विशेषगरी फागुन २१ गतेको निर्वाचन सफल बनाउन स्रोत, साधन, जनशक्ति तथा सूरक्षाको वातावरणका लागि सरकारले राजनीतिक दलहरुलाई जानकारी गराएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको वातावरण बनाउनका लागि आज राजनीतिक दलहरुसँग भएको वार्ताबाट सरकार एकदमै उत्साहित बनेको छ र राजनीतिक दलहरुबाट असाध्यै सकारात्मक जवाफ आएको छ । उहाँहरुको अलिबढी चासो निर्वाचनमा सूरक्षाको वातावरण बनाउने कुराहरुमा छ, त्यसका निम्ति सरकारले वातावरण बनाउने तथा राजनीतिक दल र जेनजीहरुले पनि सघाएर निर्वाचन आयोगले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने माहोल बनेको छ ।”
उहाँले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउन सरकारले दलहरुलाई संवाद र विश्वासमा लिएर सबैखाले पहलकदमी लिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको केहो भने राजनीतिक दलहरु र सरकारबिच सिधा संवाद हुनुपर्ने कुरा जनताबाटै आइरहेको थियो सोही कुरालाई आत्मसाथ गर्दै प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकारकोतर्फबाट राजनीति दलहरुलाई वार्ताका लागि बोलाएको हो । सरकारले जति राजनीतिक दलहरुलाई बोलाएको थियो उहाँहरु सबै वार्तामा आउनुभएको छ । छलफलमा सहभागी सबैको सकारात्मक कुरा आएको छ ।”
सञ्चारमन्त्री खरेलका अनुसार सर्वदलीय बैठकमा निर्वाचन यसबाहेक सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि छलफल भएको छ । अर्कोतफ जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा पनि कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।
सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको समेत समर्थन रहेको उल्लेख गर्नुभयो । उहाँले अगाडि थप्नुभयो,“सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ, राजनीतिक दलले मत माग्ने र जनताले मतदान गर्ने वातावरण बन्नुपर्छ भन्नेबारे दलहरुले चासो र चिन्ता राख्नुभएको थियो । सरकारकोतर्फबाट निर्वाचनको सूरक्षाको वातावरण बनाउन सम्पूर्ण तयारी गर्छ, राजनीतिक दलहरुले ढुक्कसँग निर्वाचन प्रक्रियामा सहभागि हुनुपर्छ भनेर हामीले विश्वास दिलाएका छौँ ।”
मन्त्री खरेलले जेनजी आन्दोलनको भावना अनुसार बनेको सरकारको एक महिनाको अवधिमा अवस्थालाई सामान्यीकरण बनाउन लागि परेको र राजनीतिक संवादको वातावरण बढेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलहरुले पनि निर्वाचनका लागि वातावरण बनाउनुपर्ने र त्यसका लागि जेनजी युवाहरुले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । यद्यपि जेनजी युवाहरुको मुद्दाहरु समयमै सम्बोधन गर्नुपर्ने दायित्व रहेको उहाँको भनाइ छ ।
“एकमहिनाको अवधिमा यो सार्वजनिक रुपमा सर्वदलीय बैठक मात्रै हो । सबैभन्दा पहिले राष्ट्रपतिको पहलमा दलहरुसँग संवाद भएको थियो । प्रधानमन्त्रीले यसअवधिमा शीर्ष राजनीतिक दलका नेताहरुसँग ‘वानटुवान’ पनि वार्ता गर्नुभएको छ । उहाँहरुको वार्ता र छलफल पछि आजको सर्वदलीय बैठक भएको हो ।”
पछिल्लो १० दिनदेखि राजनीतिक दलहरुसँग निरन्तर वार्ता र संवाद भइरहेको छ तथा आजको छलफलले संवादहीनताको अन्त्य भएको सञ्चारमन्त्री खरेलले बताउनुभयो । उहाँले जेनजी युवा र राजनीतिक दलहरुलाई पनि सँगै राखेर छलफलको वातावरण बनाएर उनीहरुको भावना र सहभागितामा निर्वाचन सम्पन्न गर्नु दायित्व रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अबको क्रममा जेनजी युवाहरु र राजनीतिक दलहरुकाबिचमा पनि वार्ता र संवाद गरेर मुलुकलाई निकास दिनुपर्छ । फागुन २१ को निर्वाचन र सुशासन र भ्रष्टाचार नियन्त्रणका साथै जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षतिको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने अपरिहार्यता छ ।”
सञ्चारमन्त्री खरेलले सम्भवतः तिहार लगत्तै मन्त्रिपरिषद् विस्तार हुने र यसका लागि प्रधानमन्त्रीले पहल गरिरहनुभएको जानकारीसमेत दिनुभयो । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन मङ्गलबार विघटित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गर्नुभएको हो । छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहनुभएको थियो ।
संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी छलफलमा नेपाली कांग्रेसबाट गगनकुमार थापा र डा प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी हुनुहुन्थ्यो ।