नौरते नेपाली
सिँजा (जुम्ला), कात्तिक ५ गते । जुम्लाको गुठिचौर गाउँपालिकाले सरकारी सवारी साधनको दुरुपयोग रोक्न व्यक्तिगत प्रयोजनमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाको कामबाहेक सवारी साधन प्रयोग गर्न नपाइने निर्णय गरिएको हो । अबदेखि गाउँपालिकाको आधिकारिक कामबाहेक व्यक्तिगत प्रयोजनका लागि कुनै पनि सवारी साधन प्रयोग गर्न पाइने छैन ।
पालिकाअन्तर्गतका विभिन्न शाखामा कार्यरत कर्मचारीले प्रयोग गर्दै आएका सवारी साधनलाई एकीकृत गरी गाउँपालिकामै राख्ने व्यवस्था गरिएको छ । सवारी साधन प्रयोग गर्दा अनिवार्य रूपमा लगबुक भर्ने र त्यसको आधारमा कार्यालयका कामका लागि मात्रै सवारी प्रयोग गर्न निर्देश गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढाका अनुसार यो निर्णय सुशासन प्रवर्धन र सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्ने उद्देश्यले गरिएको बताउनुभयो । अध्यक्ष स्वयम्ले पनि सवारीसाधन प्रयोग नगर्ने निर्णय गरि सक्नुभएको छ । अध्यक्ष बुढाका अनुसार कार्यालयका सवारी साधनहरू व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न रोक लगाइएको हो । यसले इन्धन खर्च बचत हुनुका साथै सरकारी सम्पत्तिको दुरुपयोग रोकिने उहाँको भनाइ छ ।
कर्मचारीहरूले कार्यालय समय बाहेक घरमा सवारी साधन प्रयोग गर्दै आएकाले त्यसमा रोक लगाइएको हो । पालिका अध्यक्ष बुढाले सरकारी सवारी साधन जनताको कामका लागि भएको बताउँदै व्यक्तिगत सुविधाका नभएको बताउनुभयो । कर्मचारीले आफ्नै सवारी साधन प्रयोग गर्नु सकारात्मक परिवर्तन भएको उहाँले प्रतिक्रिया दिनुभएको छ ।
गाउँपालिकाले सरकारी सवारी साधन व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न प्रतिबन्ध लगाएसँगै कर्मचारीहरू निजी सवारी साधन किन्न थालेका छन् । निर्णय लागू भएपछि कार्यालयका कर्मचारीहरू मोटरसाईकल र स्कुटरजस्ता निजि सवारी साधन खरिद गर्नतर्फ आकर्षित भएका हुन् । केही कर्मचारीले पहिले प्रयोग गर्दै आएका सरकारी साधन फिर्ता गरेपछि दैनिक आवागमनमा असुविधा हुने भन्दै निजी सवारी किनेका हुन् ।