• २९ वैशाख २०८३, मङ्गलबार

नेपालगन्जमा भारतीय कत्थक नृत्य प्रस्तुत

blog

कत्थक नृत्य प्रस्तुत गर्दै भारतीय कलाकारहरू । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, वैशाख २४ गते । नेपाल–भारत सांंस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नेपालगन्जमा भारतीय राजदूतावासको सौजन्यमा एक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । 

सो सांस्कृतिक कार्यक्रममा शास्त्रीय भारतीय नृत्य ‘कत्थक’ को मनमोहक प्रस्तुति गरिएको थियो । नेपाल–भारतमैत्री सङ्घ, बाँकेको आयोजना तथा भारतीय दूतावासको सौजन्य एवं काठमाडौँस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको प्रस्तुति रहेको सो नृत्य कार्यक्रममा दिप्ती गुप्ताको नेतृत्वमा रहेको भारतीय कलाकारको टोलीले कत्थक नृत्य प्रस्तुत गरेको थियो । 

कत्थक नृत्यमार्फत दर्शकहरूले भारतीय शास्त्रीय कलाको उत्कृष्ट झलक अवलोकन गरेका थिए । कार्यक्रमले स्थानीयस्तरमा सांस्कृतिक जागरण र अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध प्रवर्धनमा सकारात्मक योगदान पुर्‍याएको आयोजकले जनाएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले दुबै देशको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन यस्ता कार्यक्रमहरू निकै फलदायी हुने बताउनुभयो । 

कार्यक्रममा भारतीय दूतावासको सांस्कृतिक शाखाबाट कार्यक्रम अधिकृत वसीम मल्लिक र अमृता अर्यालको पनि उपस्थिति थियो । 

नेपाल–भारतमैत्री सङ्घ बाँकेका अध्यक्ष प्रदीपकुमार गुप्ताले नेपाल–भारतबिचको सांस्कृतिक आदान–प्रदानले दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर आयोजना गरिने जानकारी दिनुभयो ।