हनुमानढोका दरबार क्षेत्र घुक्न आउनेका लागि त्यहाँका विभिन्न मठमन्दिरसँगै त्यसमा सजिएका काष्ठकला अद्भूत लाग्ने गर्छन् । प्रायः ले ती कला निकैबेर नियालेर हेर्ने र आनन्द लिने गर्छन् । अद्भूत कलाको नमुनामध्येको एक हो काष्ठनिर्मित टुँडाल । टुँडाल कला मन्दिरलाई सुरक्षित बनाउन र आकर्षक देखाउन परापूर्वकालदेखि नै राख्ने चलन रहेको छ । मन्दिरको गारोको भागबाट ४५ डिग्रीको कोणमा छाना अड्याउन बलियो काठ प्रयोग हुन्छ । त्यहीँ काठ हो टुँडाल ।
वास्तुकलाको नियम अनुसार टुँडालको माथिल्लो भागमा कल्पवृक्ष एवं रुख, फूल आदि कुँदिएका हुन्छन् । त्यसमुनिको भागमा देवीदेउताको आकृति वा चित्र, मुनिको भागमा यौन एवं रतिक्रीडामा मग्न स्त्री–पुरुषको चित्र कुँदिएको देख्न सकिन्छ । केही मन्दिरको टुँडालमा भने यक्ष, किन्नर वा गन्दर्भका चित्र कुँदिएको देखिन्छ । टुँडालमा कुँदिएका चित्र केवल मनोरञ्जनका लागि मात्र होइनन् । तीभित्रको मर्म एवं कथा विचित्रको छ ।
हनुमानढोका क्षेत्र घुम्न आउने पर्यटकलाई यौनासन (रतिराग क्रीडा) कुँदिएका टुँडाल कलाले आकर्षित पार्ने गरेको छ । यस दरबार क्षेत्रमा विश्वनाथ मन्दिरको तल्लो भागमा राखिएका टुँडालमा छरपस्ट यौनासन चित्र देख्न सकिन्छ । वर्तमान समाजले अश्लील मान्ने गरेका ती चित्र शताब्दीऔँ अगाडि कुँदिएको जानकार बताउँछन् । यौनसम्बन्ध प्राकृतिक उपहार भए पनि यस विषयमा शिक्षा र सचेतना दिन टुँडालमा यस्ता रतिरागका चित्र कुँदिएको भनाइ जानकारहरूको छ ।
संस्कृतिविद् जगमान गुरुङका अनुसार टुँडालमा कुँदिएका यौनाकृतिले सृष्टिको तìवबोध गराउँछ । सार्वजनिक स्थान वा मठमन्दिरमा कुँदिएका ती कलाले मानिसलाई मनोरञ्जन मात्र दिँदैन, यौनप्रति ज्ञान तथा जिज्ञासा बढाउन पनि सहयोग गर्छ ।
मानव सृष्टिका लागि नारी (स्त्री) धर्ती हो भने पुरुष आकाश । त्यसका लागि यौनसम्बन्ध अपरिहार्य छ । उनको भनाइमा टुँडालमा कुँदिएका यौनक्रीडाका चित्रले सृष्टिको रहस्य थाहा पाउन सकिन्छ ।
हनुमानढोकाको विश्वनाथ मन्दिर, ललितपुरको चारनारायण, भक्तपुरको दत्तात्रय तथा कीर्तिपुरमा रहेका अधिकांश मन्दिरका टुँडालमा सम्भोगरत् स्त्री–पुरुषको आकृति कुँदिएका छन् । पूर्वीय दर्शनमा ‘कामसूत्र’ र ‘सम्भोग’ को रचना हुनुअगावै नेपालमा यौन आकृति विभिन्न माध्यममा कुँदिएको अनुमान गरिन्छ ।
पहिले पहिले भित्ता वा ढुङ्गा (प्रस्तर) मा यस्ता आकृति बनाउने चलन थियो । १३ औँ शताब्दीपछि प्यागोडा तथा शिखर शैलीको मन्दिरमा राखिने टुँडालमा सम्भोगका चित्र कुँद्न थालिएको जानकार बताउँछन् ।
आधुनिक समाजले यस्ता कलालाई अश्लील र उच्छृङ्खलका रूपमा हेरे पनि त्यो बेला सम्भोग तथा यौनक्रीडाका आकृतिले मानिसलाई मनोरञ्जन होइन ज्ञान बाँडेको थियो । टुँडालमा कुँदिएका कला बारेमा फरक फरक किसिमका किंवदन्ती पाइन्छन् ।
मन्दिरमा यौनक्रीडा कला राखेमा चट्याङ (बज्रपात) नपर्ने भएकाले मन्दिरमा कहिल्यै पनि क्षति हुँदैन भन्ने किंवदन्ती रहेको सुन्न पाइन्छ । यस्तै यौनक्रीडा सृष्टिको अमूल्य अस्त्र भएकाले सम्भोगलाई शक्तिका रूपमा सम्मान गर्न सार्वजनिक स्थानमै यस्ता कलाकृति राखिन्थे ।
विशेष गरी काठमाडौँ उपत्यकाभित्र बसोबास गर्ने युवकयुवतीको आकर्षण बौद्ध धर्ममा बढेर धर्मकै कारण विवाह नगर्ने चलन बढेपछि यौनक्रीडाप्रति आकर्षित पार्न र बिहेवारीका लागि मध्यकालीन समयका राजाले यस्ता कला कोर्न वा कुँद्न लगाइएको जानकारहरूको भनाइ छ । अर्कोतर्फ सम्भोग कार्य सन्तान उत्पादनका लागि मात्र नभई घरपरिवार, व्यक्तिगत सुख, शान्ति, स्वस्थ जीवनका लागि अपरिहार्य भएकाले मानिसलाई सांसारिक जीवनतर्फ लैजान टुँडाल कलालाई शिक्षाका रूपमा प्रयोग गरेको बताइन्छ ।
सर्वसाधारणको बाक्लो उपस्थिति रहने सार्वजनिक स्थान वा मठमन्दिरमा यस्ता कला बनाउँदा मनभित्र गढिएर बसेको यौनप्रतिको कुण्ठा विलय हुने, सम्भोगलाई सामान्य कुरामा अथ्र्याई मन फुरुङ्ग र पवित्र बनाउन सहयोग पुग्ने गरेको मान्यता छ ।
कामसूत्रका अनुसार सम्भोगका ८४ यौनासन हुन्छन् । तीमध्ये काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिरमा सजिएका टुँडालमा ४८ आसनका चित्र कुँदिएका छन् । यौनक्रीडा कलाको अध्ययन गरेका जानकारले टुँडालमा कुँदिएको यौनकलालाई रतिकला भन्ने गरेका छन् ।
उनीहरूका अनुसार यौनशिक्षा र यौनासनको ज्ञान नहुँदा पारिवारिक असन्तुष्टि, बलात्कार, हत्या, सम्बन्धबिच्छेदलगायतका सामाजिक विकृति एवं अपराध बढ्ने गर्दछ ।
–देवबहादुर कुँवर
–युवामञ्च