काठमाडौँ, वैशाख १५ गते । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने अवस्था नरहेको बताउनुभएको छ ।
अर्थ मन्त्रालयको अर्थ कार्यक्रमको ३३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उहाँले बजेटको सिलिङ बढे पनि खर्च गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै आगामी वर्ष ठुलो आकारको बजेट नआउने संकेत गर्नुभयो ।
राजधानीमा आयोजित कार्यक्रममा पाण्डेयले अब बजेटको आकार बढाउनेभन्दा यथार्थमा आधारित बजेट निर्माण गरी यसको पूर्ण उपयोगमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले बजेट खर्चमा देखिएका कमजोरीहरू पहिचान गरी सुधार गर्दै अघि बढिने उल्लेख गर्नुभयो ।
उहाँका अनुसार अर्थमन्त्रीले पदभार ग्रहण गरेकै दिन आर्थिक क्षेत्रसँग सम्बन्धित संरचनात्मक अवरोध र कानुनी जटिलताबारे छलफल भएको थियो । सो क्रममा १५ वटा आर्थिक क्षेत्रसँग सम्बन्धित कानुन खारेज गर्ने तथा राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय भएको र सोहीअनुसार प्रक्रिया अघि बढिरहेको उहाँले बताउनुभयो ।
सहसचिव पाण्डेयले भन्नुभयो, “बजेटको आकार सानो छ । हाम्रो अर्थतन्त्रको जीडीपीको अनुपात हेर्दा हाल करिब १८ खर्ब ९० अर्बको सिलिङमा छौँ । यो सिलिङ बढाउनुपर्छ भन्ने अपेक्षा भए पनि केही परिस्थितिजन्य बाध्यता छन् । सिलिङ बढे पनि खर्च हुन नसकेको यथार्थ छ । पछिल्ला नौ महिनाको पुँजीगत खर्च करिब २०–२२ प्रतिशत मात्र रहेको देखिन्छ । अब हामीले बजेटको आकार बढाउनेभन्दा यथार्थमा आधारित बजेट बनाउने र यसको पूर्ण उपयोग गर्ने दिशामा जानुपर्छ ।”
उहाँले क्षेत्रगत र विषयगत केही कमजोरीहरूका कारण खर्च प्रभावकारी हुन नसकेको उल्लेख गर्दै ती कारणहरूको समीक्षा भइरहेको जानकारी दिनुभयो । अर्थमन्त्री पदभार ग्रहण गरेकै दिन संरचनात्मक अवरोध र कानुनी जटिलताबारे छलफल भएको र सोहीअनुसार कानुन सुधार तथा खारेजीको प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ ।
सहसचिव पाण्डेयले अहिले स्पष्ट जनादेशसहितको सरकार बनेकाले सुधारका लागि उपयुक्त अवसर प्राप्त भएको समेत बताउनुभयो ।