गुणबहादुर रोका
सुलीकोट, वैशाख १५ गते । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म आयोजित म्याराथन दौड प्रतियोगिता २०८३ को उपाधि तनहुँका सनम गुरुङले हात पार्नुभएको छ ।
जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकी आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा गुरुङले ४२.१९५ किलोमिटर दूरी २ घण्टा ५९ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्दै नगद ५५ हजार प्राप्त गर्नुभएको हो ।
त्यस्तै, महिलातर्फ कास्कीकी सपना गुरुङ प्रथम हुनुभएको छ । उहाँले ४ घण्टा ५१ सेकेन्डमा दौड पूरा गर्दै ५५ हजार रुपियाँ जित्न सफल हुनुभएको छ । पुरुषतर्फ कास्कीका सफल लामा दोस्रो र चेतनाथ चालिसे तेस्रो बन्न सफल हुनुभएका आयोजकले जनाएको छ ।
उहाँहरुलाई क्रमश ३० हजार, २० हजार, पुरस्कार पाउनुका साथै सान्त्वना पुरस्कार पर्वतका सन्तोष परियार गोरखाका अन्जन पौडेलले प्राप्त गर्नुभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम तमाङले जानकारी दिनुभयो ।
५ किलोमिटर दौडमा पुरुषतर्फ गोरखाका सरोज गिरी र महिलातर्फ तनुहँकी मनकुमारी लामा विजेता बन्नुभयो । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट खेलाडीको सहभागिता थियो ।
गोरखा जिल्लाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।