• १५ वैशाख २०८३, मङ्गलबार

रूस र युक्रेनबिचको आक्रमणमा चार जनाको मृत्यु

blog

मस्को, वैशाख १५ गते । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको र रूसी आक्रमणले मध्य युक्रेनमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । 

दक्षिणी रूसको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रनी आक्रमणपछि आगलागी भएको जनाइएको छ भने तटीय सहर टुआप्समा आगलागीका कारण बाक्लो कालो धुवाँले स्थानीय आपतकालको अवस्था उत्पन्न भएको जनाइएको छ । युक्रेनी सशस्त्र फौजले गरेको ड्रोन आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको बेलगोरोडका क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राममार्फत जनाउनुभएको छ ।

एउटा कारलाई निशाना बनाइ गरिएको आक्रमणमा एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको उहाँले पुष्टि गर्नुभएको छ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु भएदेखि रूसले युक्रेनका प्रमुख पूर्वाधार स्थलमा नियमितरूपमा बमबारी गरिरहेको जनाइएको छ । मध्य युक्रेनको क्रिवी रिग सहरमा भएको रूसी आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको ड्निप्रोपेट्रोभस्क क्षेत्रका प्रमुखले सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ ।

मस्कोको सेनाको क्षमतालाई कम गर्न रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको किभले बताएको छ । रूसको दक्षिणमा स्थित तटमा रहेको टुआप्स तेल प्रशोधन केन्द्रमा पछिल्लो समयमा धेरै पटक विस्फोट भएको जनाइएको छ । गत हप्ता भएको युक्रेनी ड्रोन आक्रमणपछि धेरै दिनसम्म उक्त तेल प्रशोधन केन्द्रमा आगो लागेको जनाइएको छ । सुरक्षाका लागि अधिकारीले स्थानीयवासीलाई बाहिरी गतिविधि सीमित गर्न र घरका झ्याल बन्द गर्न आदेश दिएका छन् । रासस/एएफपी