• १५ वैशाख २०८३, मङ्गलबार

व्यास नगरपालिकामा फोहाेर सङ्कलनको काम ठप्प

blog

फाइल तस्बिर

अमरराज नहर्की

तनहुँ, वैशाख १५ गते । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहाेरमैला बिसर्जन गर्ने ठाउँ अभावले गर्दा केही दिनदेखि बजार क्षेत्रबाट फोहाेर सङ्कलन कार्य स्थगित गरेको छ । 

हाल प्रयोग गरिँदै आएको अस्थायी बिसर्जन स्थल भरिएपछि र वैकल्पिक स्थानको व्यवस्थापन हुन नसक्दा नगरपालिकाले फोहाेर उठाउन नसकेको हो । नगरपालिकाले हालसम्म आफ्नो स्थायी फोहाेरमैला व्यवस्थापन केन्द्र (डम्पिङ साइट) बनाउन सकेको छैन । 

हालसम्म वडा नम्बर १ गल्वुबेँसीस्थित अकला कमलडिहीमा व्यक्तिको जग्गा भाडामा लिएर अस्थायी रूपमा फोहर बिसर्जन गरिँदै आएको थियो । उक्त स्थानमा खनिएका खाडलहरू फोहरले भरिएपछि थप बिसर्जन गर्न प्राविधिक समस्या उत्पन्न भएको नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार जग्गा प्राप्तिको प्रक्रियामा सामाजिक र कानुनी जटिलता देखिएको छ । न्यौपानेले भन्नुभयो, “व्यक्तिले जग्गा बिक्री गर्न चाहे पनि स्थानीय समुदायले विरोध गर्ने गरेका कारण समस्या परेको छ ।” 

जग्गा प्राप्तिका लागि नगरपालिकाले एक साताको सार्वजनिक सूचना जारी गर्दा समेत कुनै आवेदन नपरेपछि विकल्पको खोजीमा थप कठिनाइ भएको उहाँले बताउनुभयो । वैकल्पिक स्थानको पहिचान र व्यवस्थापनका लागि प्रयास जारी राखेको छ, तर ठोस उपलब्धि नहुँदासम्म नगरको फोहोर व्यवस्थापन केही समयका लागि प्रभावित हुने देखिएको नगरपालिकाले जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार फोहाेरमैलाको दिगो व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिद गर्न नेपाल सरकारसँग अनुमति माग गरिएको भए पनि हालसम्म प्राप्त हुन सकेको छैन । हाल स्रोतमा वर्गीकरण गरी आएका नकुहिने फोहरलाई कार्यालय परिसरभित्र सूक्ष्म वर्गीकरण गरी बिक्रीयोग्य सामान बिक्री गर्ने गरिएको छ । 

बिक्री अयोग्य वस्तुहरूको अन्तिम बिसर्जनका लागि प्रयोग गरिएको अस्थायी ठाउँ भरिएपछि नयाँ ठाउँको खोजी भइरहेको छ । नगरपालिकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म आफूले उत्पादन गरेका फोहाेरमैला घर तथा कम्पाउन्ड भित्रै सुरक्षित तवरले राख्न नगरवासीलाई सार्वजनिक अपिल गरेको छ । 

बजार क्षेत्रबाट दैनिक निस्कने फोहर घरमै थुप्रिँदा दुर्गन्ध फैलने र स्वास्थ्य समस्या निम्तने जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । नगरपालिकाले दैनिक सरसफाइका लागि तीन वटा टिप्पर, चार वटा ट्याक्टर, एक जेसिभी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा गरी ११ वटा सवारी साधन परिचालन गर्दैआएको छ । 

यति ठुलो स्रोत साधन भएता पनि बिसर्जन स्थलको अभावमा ती सवारी साधनहरू अहिले थन्किएका छन् । व्यास नगरपालिका स्थापना भएको ३४ वर्ष बितिसक्दा पनि स्थायी फोहाेरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसक्नु यहाँको मुख्य चुनौती बनेको छ । 

स्थापनाकालदेखि नै हरेक निर्वाचनमा यो मुद्दा उठ्ने गरे पनि हालसम्म ठोस समाधान निस्कन सकेको छैन । जसलेगर्दा समय–समयमा फोहर बिसर्जनको समस्याले नगरको सौन्दर्य र जनस्वास्थ्यमा प्रतिकुल असर पार्दै आएको छ । नगरपालिकाले उपयुक्त जग्गा प्राप्ति र सङ्घीय सरकारको सहमतिका लागि निरन्तर पहल गरिरहेको जनाएको छ ।