निशा राई
धरान, वैशाख १५ गते । धरान उपमहानगरपालिकाबाट अनलाइन जुवा खेल्दै गरेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान –१३ स्थित लक्ष्मी सडकमा रहेको मण्डला क्याफेमा अनलाइन जुवा खेल्दै र खेलाउँदै गरेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षक राधाकृष्ण दाहालको कमान्डमा खटिएको टोली तथा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरबाट खटिएको टोलीले संयुक्त रूपमा छापा मारी सोमबार राति पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानको प्रमुख प्रहरी नायब उपरीक्षक भिषणबाबु राईले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा धरान–१७ का ३१ वर्षीय प्रज्वल राई, धरान–१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बू, २९ वर्षीय मिलन लिम्बू, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, धरान–१ का ३३ वर्षीय सुजित साह, धरान–१६ का ४१ वर्षीय अशोक लिम्बू र धरान–१५ का ३५ वर्षीय भवानी दाहाल रहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।
घटनास्थलबाट विभिन्न कम्पनीका १५ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।