भिटामिन ‘ए’ मानव शरीरका लागि अत्यावश्यक हुन्छ । भिटामिन ‘ए’ ले विशेष गरी आँखाको दृष्टि कायम राख्न, छाला तथा आँखाको सतह (रेटिना) स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन र शारीरिक वृद्धिविकासमा सहयोग गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
चिकित्सक डा. अरुण शाहीले भिटामिन ‘ए’ खानाबाटै प्राप्त गर्न सकिने बताउनुभयो । उहाँका अनुसार मानव स्वास्थ्यका लागि अत्यन्तै आवश्यक सूक्ष्म पोषक तत्वमध्ये भिटामिन ‘ए’ लाई प्रमुख मानिन्छ । विशेष गरी बालबालिका, गर्भवती महिला र स्तनपान गराइहनुभएकी आमाका लागि भिटामिन ‘ए’ अपरिहार्य पोषक तत्व हो ।
नेपाल जस्ता विकासोन्मुख मुलुकमा भिटामिन ‘ए’ को कमी अझै पनि छ । नेपाल सरकारले धेरै वर्षदेखि बालबालिकालाई लक्षित गरी भिटामिन ‘ए’ क्याप्सुल वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । डा. शाहीले खानपानबाट भिटामिन ‘ए’ को मात्रा पर्याप्त नपुगेको अवस्थामा क्याप्सुल कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । उहाँले क्याप्सुलको भर पर्नुभन्दा पनि पोषणयुक्त आहारमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
भिटामिन ‘ए’ पशुबाट प्राप्त खाद्य पदार्थमा पाइन्छ । हरियो सागपात तथा पहेँलो रङका फलफूल र तरकारीमा पनि भिटामिन ‘ए’ पाइन्छ । राति राम्रोसँग आँखा नदेखिने समस्या भएमा भिटामिन ‘ए’ को कमी भएको छ भन्ने कुरा थाहा हुन्छ । समयमै उपचार नगरे अन्धोपन हुन सक्छ । छालामा सुक्खापन र सङ्क्रमणको जोखिम, शारीरिक वृद्धि रोकिने, विभिन्न रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने अवस्था पनि भिटामिन ‘ए’ को कमीले हुन सक्छ ।
भिटामिन ‘ए’ सन्तुलित आहारमार्फत सजिलै प्राप्त गर्न सकिन्छ । दैनिक खानपानमा थोरै ध्यान दिएमा भिटामिन ‘ए’ को मात्रा पर्याप्त उपलब्ध हुन हुन्छ । खसी तथा बाख्राको कलेजो, दुध, दही, घिउ, मक्खन, अन्डाको पहेँलो भाग, माछाको तेलबाट भिटामिन ‘ए’ प्राप्त गर्न सकिन्छ । वनस्पतिसम्बन्धी स्रोतबाट पनि भिटामिन ‘ए’ प्राप्त गर्न सकिन्छ । गाजर, फर्सी, सागसब्जी, पालुङ्गो, रायोको साग, मेथीको साग, आँप, मेवालगायतका खाद्य स्रोतबाट पनि भिटामिन ‘ए’ प्राप्त गर्न सकिन्छ । हरियो सागसब्जी र पहेँला फलफूल नियमित रूपमा सेवन गरे भिटामिन ‘ए’ को आवश्यकता सजिलै पूरा गर्न सकिन्छ । खानेकुरा पकाउँदा अत्यधिक तेलको प्रयोग वा लामो समयसम्म पकाउनु हुँदैन । त्यस्तो गर्दा भिटामिन ‘ए’ नष्ट हुन सक्छ ।