• ५ जेठ २०८३, मङ्गलबार

मोहनविक्रमलाई गोकुल वाङ्मय पुरस्कार

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ ५ गते । साहित्यकार एवम् राजनीतिज्ञ मोहनविक्रम सिंहलाई २०८२ सालको गोकुल वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गमले सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद ४० हजार र सम्मानपत्र रहेको छ । 

यही जेठ ९ गते शनिबार ९७ औं गोकुल जयन्तीको अवसरमा पोखरामा हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने संस्थाका सचिव नारायण मरासिनीले दिनुभयो । वि.सं. १९९२ मा प्युठानको ओखरबोटमा जन्मिनुभएका सिंहका कविता, काव्य, समालोचना र आख्यानका गरी एक दर्जन कृति प्रकाशित छन् । 

समाजवादी यथार्थवाद धारामा साधना गर्ने स्रष्टालाई प्रोत्साहन गर्न २०५२ देखि यो पुरस्कार प्रदान गर्न थालिएको हो ।

सङ्गमका कार्यसमिति सदस्य शोभाकान्त गौडेलको संयोजकत्वमा गठित डा. कृष्णराज अधिकारी र डा. यदुनन्दन उपाध्याय सदस्य रहेको तीन सदस्यीय समितिले गरेको सिफारिसबमोजिम सिंहलाई पुरस्कृत गर्न लागिएको हो । सिंह छ दशकदेखि प्रगतिवादी साहित्यमा क्रियाशील छन् । 

गोकुल वाङ्मय पुरस्कारबाट यसभन्दा पहिले केवलपुरे किसान, खगेन्द्र सङ्ग्रौला, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, रमेश विकल, निनु चापागाईँ, मोहन वैद्य (चैतन्य), आनन्ददेव भट्ट, घनश्याम ढकाल, मोदनाथ प्रश्रित, हरिहर खनाल, जीवन शर्मा, डा. ऋषिराज बराल र ईश्वरचन्द्र ज्ञवाली पुरस्कृत भइसक्नुभएको छ ।