• १५ वैशाख २०८३, मङ्गलबार

आजदेखि गुल्मीमा कुपोषित बालबालिकाको खोजपड्ताल

blog

गुल्मीमा बालबालिकाको पोषण जाँच गरिँदै। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, वैशाख १५ गते।
आज (मङ्गलबार) देखि गुल्मीमा कुपोषित बालबालिकाको खोजपड्ताल सुरु गरिएको छ। राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत ’समयमै पहिचान, सहि उपचारः कुपोषण मुक्त पुस्ताको आधार’ भन्ने मुख्य नारासहित स्वास्थ्यकर्मी मार्फत कुपोषित बालबालिका खोजपड्ताल सुरु गरिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिनुभयो।

जनस्वास्थ्य निरीक्षक कार्कीका अनुसार कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा पारिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गुल्मीका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहका ९३ वटै वडाका ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषणको अवस्था जाँच गरिने छ।

लक्ष्यित समूहका बालबालिकामा शीघ्र कुपोषणको समयमै पहिचान गरी उपयुक्त कुपोषण व्यवस्थापन सेवामा रेफरल सुनिश्चित गर्नुका साथै स्थानीय तह, जिल्ला र प्रदेशस्तरमा कुपोषणको वास्तविक जोखिम वर्गीकरण गर्नका लागि कुपोषित बालबालिका खोजपड्ताल थालिएको हो।

कुपोषण पहिचानका लागि आजदेखि वैशाख ३० गतेभित्र स्वास्थ्य संस्थाबाट समुदायस्तरमा स्वास्थ्यकर्मीहरू पुग्ने उहाँले जानकारी दिनुभयो। यस अवधिमा कुपोषणको जोखिममा रहेका बालबालिकाको कोबो टुल्स मार्फत तथ्याङ्क सङ्कलन गरिने छ। बालबालिकाको पाखुराको मध्य भागको परिधी मापन, उचाइ र तौलको आधारमा मूल्याङ्कन, कुपोषणको कारण सुन्निएको लेखाजोखा गरिने छ।

समुदायस्तरमा स्वास्थ्यकर्मीमार्फत सचेतना फैलाउँदै पोषणको लेखोजोखा गरिने र त्यसपछि बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउनका लागि कुपोषणको अवस्था अनुसार व्यवस्थापन गरिने छ। यहाँका सबै स्थानीय तहका सबै वडामा लक्ष्यित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमले ठुलो सहयोग पुर्‍याउने बताइएको छ।