• १५ वैशाख २०८१, शनिबार

‘जताजता कनकाई उतैउतै गनगाईं ’

blog

नेपालका विभिन्न जनजातिमध्ये एक हो गनगाईं । गनगाईं बस्तीमा एउटा उखान प्रचलित छ, जताजता कनकाई उतैउतै गनगाईं  । यो उखान सामाजिक अन्वेषक पूर्णप्रकाश ‘यात्री’ले आफूलाई सुनाएको लेखक भूपहरि पौडेलले उल्लेख गरेका छन् । हुन पनि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा छरिएर रहेका गनगाईंको नेपाली पुख्र्यौली आदि थलो भने कनकाई नदीको सेरोफेरोमा रहेको विश्वास गरिन्छ ।

तर भारतबाट नेपाल आएका यिनीहरूको बसोबास पश्चिम तराईतिर पनि पाइएको छ । पौडेलले यिनीहरूलाई भारतका राजपुत क्षेत्री हुन सक्ने अनुमान गरेका छन् । गनगाईंका पाकापुराना बूढाहरू आफूलाई ‘गणपत’ क्षेत्री बताउँछन् । गणपतको अपभ्रंश हुँदै गनगाईं भएको हुन सक्छ । अर्कोतिर यिनीहरू स्वयं पनि आफ्नो पुस्ता भारतको गङ्गा नदी किनारबाट नेपाल आएको विश्वास गर्दछन् ।

यसर्थ गङ्गाबाट ‘गनगाईं’ भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । गनगाईंका मृतकको अस्थि गङ्गामा सेलाउने प्रचलनले पनि यिनीहरूको पुख्यौली थलो गङ्गा किनार भएको अनुमान गर्न सकिन्छ । यिनीहरूलाई गणेश वा मण्डल भनिन्छ । गनगाईं, गन्गाईं वा गनगाई जे भनिए पनि यिनीहरू एकै जाति हुन् । शब्दको स्थान तथा व्यक्तिविशेष उच्चारणगत भिन्नता मात्र भएको बताइन्छ ।

लेप्चा जातिसँग शारीरिक बनोट मिल्ने यिनीहरूको थेप्चो नाक, चेप्टो अनुहार, सुडौलो र कसिलो शरीर हुने भएकाले कतिपयले यिनीहरूलाई मङ्गोल मूलका सदस्य मानेका छन् । रातो, कालो र गहुँगोरो वर्णका गनगाईंको कपाल केही जर्रो देखिन्छ । यी सब हावापानीले निर्धारण गर्ने भिन्नता हुन् । यिनीहरू दुई कुलका परिवारमा विभाजित छन् । एकथरी बावु गनगाईं  र अर्कोथरी बेसरम गनगार्ईं । बावुले सुँगुरको मासु खान्छन् । बेसरमले खाँदैनन् तर अहिले त्यस्तो कडा बारना छैन । यिनीहरू जनै नलगाउने मतवाली क्षेत्री हुन सक्छन् । सबै संस्कार हिन्दुको जस्तो भएकाले पनि क्षेत्रीय कुलका हुन् भन्न सकिन्छ ।

यिनीहरूका संस्कृतिमा पर्यावरण र सांस्कृतिक अन्तरघुलनको प्रभाव देखिन्छ । गनगाईंमा प्रचलित संस्कृति तथा परम्परामा केही भिन्न देखिए पनि अधिकांश चाडबाड तथा पर्व हिन्दु ब्राह्मण-क्षेत्रीका जस्तै र विधि पनि उस्तै छन् । जन्मकर्म, छैट, न्वारन, अन्नप्रासन, कान छेड्ने (छेवर) विवाह तथा मृत्युका विधि तथा परम्परा थोरधेर समान देखिन्छ ।

दशैँ, तिहार, जन्म, चुडाकर्म, विवाह, अन्त्येष्टि सबै पहाडी हिन्दु ब्राह्मण क्षेत्रीकै सरह लाग्छ तर केही परम्परालाई स्थानीय अन्तरक्रिया र पर्यावरणले प्रभाव पारेको हुन सक्छ । जस्तैः यिनीहरू नुहाउनुअघि तेल लगाउनुलाई सामान्य परम्परा नै मान्दछन् । औलो हुने क्षेत्रलाई आवादी गरेका किसान गनगाईंले आफूलाई तन्दुरुस्त राख्न, लामखुट्टेजस्ता कीराबाट बच्न पनि यसो गरेका हुन सक्छन् । यो छुट्टै संस्कार होइन, कल्चरल इकोलोजी मात्र हुन सक्छ ।

प्रकृति पूजक गनगाईंका कुल देवता महावीर र ठाकुर हुन् । घरमा देवी, देवताको मूर्ति, मठ वा स्थान यिनीहरूले बनाउँदैनन् तर वन जङ्गलतिर गएर बाघ, भालु, रुख, नदीको पूजा गर्छन् ।

मोरङका गनगाईंले मैथिली र झापाकाले राजवंशी बोल्छन् तर नयाँ पुस्तामा नेपाली भाषाको प्रचलन बढ्दो छ । वेशभूषा पनि मोरङ र झापामा फरक देखिन्छ तर आधुनिक कपडा र पहिरनले यस्ता मौलिक विशेषता हराउँदैछन् । गनगाईंमा मादल, ढोलक (मृदङ) नगरा, झाल, खोल, मुर्छल, झालर, घडीघण्टाजस्ता बाजागाजा प्रचलित थिए । केही अझै अस्तित्वमा छन् तर चाडबाडमा बजाइने यस्ता बाजा र गाइने जातीय गीतका सट्टा नेपाली र हिन्दी गीततिर युवा आकर्षण बढ्दो छ ।

मूलतः कृषि र संयुक्त परिवारमा आधारित यिनीहरू केही दशकदेखि साना व्यापार, समाजसेवा, राजनीति, अध्यापनजस्ता पेसामा आबद्ध छन् । यो परिवारमा पाहुनाको राम्रो सत्कार गरिन्छ । सधैँ दुई जना पाहुनाका लागि खाना पकाएर राख्ने चलन विगतमा थियो । पाहुना आए खान्थे नआए भात पानीमा भिजाएर राख्ने र भोलिपल्ट आफैँले खाने गर्थे । यसलाई पानीभात भनिन्थ्यो तर अहिले यस्तो चलन छैन ।

अनौठो लाग्ने एउटा परम्परा पनि छ यिनीहरूमा– आमाले छोराको गोडा ढोग्ने चलन । सधैँ नभएर खास अवसरमा मात्र यसो गरिन्छ । अरू बेलामा खासै होइन तर कसैको किरिया बस्ने बेलामा छोराको गोडा धोएर आमाले ढोग्नुपर्छ । मृतकलाई उत्तरतिर शिर पारेर राख्ने प्रचलन छ । शिरमा धान र धानमाथि बत्ती बाल्ने गरिन्छ । सेतो कपडा मृतकलाई ओढाएर, चित्रोले बेरेर आँगनमा तीन पटक घुमाई घाट लैजाने गरिन्छ ।

आफ्नै जमिनमा मृतकको अन्त्येष्टि गर्नुपर्ने मान्यता छ । जमिन छैन भने किन्नुपर्छ, नभए हर्जाना तिरेर मृतकको दाहसंस्कार गरिन्छ । हर्जाना प्रतिकात्मक मात्र हो । जमिनलाई नै केही दाम हर्जाना तिरिन्छ÷चढाइन्छ । दाग दिने व्यक्तिले उत्तरतिर तीन पटक खनेर चिता तयार गर्छन् । मृतकको मुखमा पानी, सुपारी र दाम राखेर तीन पटक घुमिन्छ । लास जलाइन्छ तर कान नछेडेका केटा र गर्भवतीलाई जलाइँदैन । अस्थि निकाल्ने विधि र गङ्गामा पु¥याउने विश्वास हिन्दु मान्यतासरह नै छ । दाग दिने वा किरिया बार्ने व्यक्तिले कपाल खौरनुपर्छ । सेतो कपडा लगाउनुपर्छ । घाटबाट घर फर्कंदा दाग दिने व्यक्तिले एक भाँडो पानी ल्याउनुपर्छ र सो पानीले घरका सबै महिलाले दाग दिने, किरिया बस्ने व्यक्तिको गोडा धोई ढोग्नुपर्छ, आमाले समेत ।

पितृसत्तात्मक यिनीहरूमा पारिवारिक नेतृत्व पुरुषले लिन्छन् । घरमूली पुरुष नै हुन्छन् । विवाहलाई गच्छेअनुसार उत्सव बनाउँछन् । छोराको जन्ममा विशेष महìव दिँदै उत्सव गरिन्छ तर पछिल्ला दिनमा छोरीमाथिको विभेद कम हुँदैछ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले गनगाईंलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । यिनीहरूलाई तराईका आदिवासी जनजाति भनिएको छ । झापा, मोरङ र पश्चिमका केही तराई जिल्लामा मात्र यिनीहरूको बसोबास छ भनिए पनि राष्ट्रिय जनगणनामा यिनीहरूको बसोबास पहाड र हिमालतिर पनि देखाइएको छ ।

राष्ट्रिय जनगणना, २०५८ मा यिनीहरूको सङ्ख्या ३१ हजार ३१८ मध्ये पुरुष १५ हजार ८०८ र महिला १५ हजार ५१० थियो । २०६८ को जनगणनाअनुसार ३६ हजार ९८८ जनसङ्ख्या रहेका यिनीहरूमध्ये हिमालमा नौ र पहाडमा ६० जनाको बसोबास रहेको पाइएको छ । 

–त्रिभुवनचन्द्र वाग्ले