• ६ पुस २०८१, शनिबार

घाँटीको क्यान्सर

blog

नेपाली राजनीतिका शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको मृत्यु घाँटीको क्यान्सरले भएको थियो भन्ने कुरा धेरैलाई थाहा होला । बोलीचालीको भाषामा घाँटी भनिने गरे पनि ठ्याक्कै घाँटी कुन चाहिँलाई भन्ने स्पष्ट छैन । बाहिरबाट हेर्दा रुद्रघण्टी अथवा टाउको र छातीबीचको भागलाई पनि हामी घाँटी नै भनिरहेका हुन्छौँ । अङ्ग्रेजी वा चिकित्सा भाषामा फ्यारिन्क्स भनिने भागलाई पनि हामी घाँटी नै भन्छौँ । चिकित्सा विज्ञानले यही फ्यारिन्क्सको भित्री भागमा नाकतिरको हिस्सालाई नेजोफ्यारिन्क्स, मुख वा ओठतिरको हिस्सालाई ओरोफ्यारिन्क्स र श्वासनली वा खाद्यनलीतिरको हिस्सालाई ल्यारिन्गोफ्यारिन्स वा ल्यारिन्क्स भन्ने गरेको छ ।

वास्तवमा यही ल्यारिन्गोफ्यारिन्क्समा हुने अर्थात् ल्यारिन्क्सको सतही कोषबाट विकसित हुने क्यान्सरलाई सरलताका लागि हामी घाँटीको क्यान्सर भन्छौँ । 

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा सन् २०१२ देखि २०१७ सम्म गरिएको एक अध्ययनअनुसार घाँटीकै वरिपरि हुने गरेको क्यान्सर रोगीको सङ्ख्या विश्लेषण गर्दा ओठ एवं मुखभित्र करिब ४६.७ प्रतिशतमा, टन्सिल एवं फ्यारिन्क्समा १८ प्रतिशत र ल्यारिन्क्समा करिब १५.८ प्रतिशतमा क्यान्सर देखिएको थियो । 

सन् २०१८ को तथ्याङ्कअनुसार विश्वमा त्यस वर्ष घाँटीको क्यान्सरका करिब दुई लाख नयाँ बिरामी थपिए भने करिब एक लाख मानिसको यसैका कारण मृत्यु भएको देखियो । दुई दशकको अन्तरालमा यस क्यान्सरको मामिलामा २५ प्रतिशतले वृद्धि भएको देखिएको थियो । यसो भन्दै गर्दा हाल विश्वमा धूमपान गर्ने मानिसको सङ्ख्यामा निरन्तर कमी आइरहेकाले आगामी वर्षमा घाँटीको क्यान्सरका रोगीको सङ्ख्यामा कमी आउने विश्वास गर्न सकिन्छ । 

घाँटीको क्यान्सरको उपचार समयमै गर्न सकेमा प्रभावित व्यक्ति पाँच वर्ष बाँच्ने सम्भावना ६० प्रतिशतसम्म छ । किनकि अन्य क्यान्सरमा भन्दा यस क्यान्सरमा स्वर धोद्रिने बित्तिकै मानिस जँचाउन आउने हुनाले तुलनात्मक रूपमा क्यान्सर आरम्भिक अवस्थामै पत्ता लाग्ने गरेको छ । 

घाँटीको क्यान्सर सतही कोषबाट सुरु हुने भएकाले बढीजसो ‘स्क्वामस सेल’ प्रकारको हुने गरेको छ । स्वर निकाल्ने यन्त्र (चिकित्सा भाषामा ग्लोटिस)लाई आधार मानेर घाँटीको क्यान्सरलाई सुप्राग्लोटिस (स्वर यन्त्रभन्दा माथि), ग्लोटिस र सबग्लोटिस (स्वरयन्त्रभन्दा तल) भनेर वर्गीकरण गर्ने गरिएको छ । धेरैजसो घाँटीको क्यान्सर ग्लोटिस (स्वरयन्त्र) भागमा हुने कारणले स्वर धोद्रो भयो भन्ने गुनासो लिएर बिरामी आउँछन् । धेरैजसो रोगीमा ग्लोटिसबाटै नजिकैको भागमा क्यान्सर फैलिने गर्दछ । समयमै उपचार गरिएन वा चाल पाइएन भने नजिकैको घाँटीको ‘लिम्फनोड’ वा रगतको माध्यमबाट शरीरका विभिन्न भागमा क्यान्सर फैलिन्छ । रगतका माध्यमबाट बढीजसो फोक्सोमा पैmलिने गरेको छ ।

यस क्यान्सरको लक्षण ट्युमरको आकार र त्यो कहाँ अवस्थित छ, त्यसमा भर पर्दछ । घाँटीको क्यान्सर हुँदा धोद्रो स्वर हुने, घाँटीमा डल्लो आउने, घाँटी दुख्ने, घाँटीमा केही अड्केको जस्तो महसुस हुने, निरन्तर खोकी लाग्ने, घ्यार घ्यार हुने, सास गन्हाउने, कान दुख्ने, निल्न गाह्रो हुने आदि लक्षण देखिन सक्छ । 

यसका अतिरिक्त यो क्यान्सर समयमै निदान भएन भने क्यान्सर शरीरको कुन भागमा पैmलिसकेको छ, त्यसअनुसारको लक्षण पनि देखिन सक्छ । यस क्यान्सरमा प्रयोग हुने औषधिको दुष्प्रभावका रूपमा बिरामीको रूपरङमा परिवर्तन आउने, खान गाह्रो हुने, मुख सुक्खा हुने एवं स्वर हराउने पनि हुन सक्छ । 

घाँटीको क्यान्सरको मुख्य जोखिम तìव सुर्ती वा धूमपान नै हो । अत्यधिक धूमपान गर्नेमा घाँटीको क्यान्सरबाट मृत्यु हुने सम्भावना २० गुणा बढी हुन्छ । त्यसैगरी उच्च मद्यपान विशेषतः अल्कोहल सेवन गर्नेमा पनि यो क्यान्सरको सभ्भावना बढी देखिएको छ । धूमपानसँगै मद्यपान गर्नेमा त झनै बढी जोखिम हुन्छ । कमजोर आर्थिक एवं सामाजिक अवस्था, केटा मान्छे र ५५ वर्षभन्दा बढ्ता उमेर समूहसमेत जोखिम पक्षमा पर्दछन् । व्यवसायजन्य जोखिमहरू जस्तै काठमिल (काठको धुलोका कारण), रङरोगनसम्बन्धी काम गर्ने, रङ उत्पादन गर्ने कारखानामा काम गर्ने, कतिपय रासायनिक क्षेत्रमा काम गर्ने व्यक्तिका साथै प्लास्टिक, पेट्रोलियम उत्पादन, टेक्सटाइल उद्योगमा काम गर्ने व्यक्तिमा समेत यो क्यान्सर लाग्ने सम्भावना उच्च हुन्छ । 

केही व्यक्तिमा पापिलोमा भिरिडिइ प्रजातिको एक खाले भाइरल सङ्क्रमणका कारण घाँटीको क्यान्सर हुन सक्छ । टाउको वा घाँटीको क्यान्सर भएमा टाउकोको वरिपरि (टाउको, घाँटी वा फोक्सो)मा अर्को क्यान्सर हुने जोखिम २५ प्रतिशत रहन्छ । अल्कोहल वा धूमपानकै ‘कार्सिनोजेनिक’ प्रभावका कारण घाँटीको क्यान्सर हुन सक्ने भएकाले अल्कोहल वा धूमपान छोडेलगत्तै जोखिम घट्न थाल्छ ।  

घाँटीको क्यान्सरको निदान, क्यान्सरको चरण निर्धारणका लागि बिरामीको इतिवृत्तान्त, शारीरिक परीक्षण एवं छातीको एक्सरे, सीटी वा एमआरआई परीक्षण आवश्यक पर्दछ । कुन खालको क्यान्सर हो, निक्र्योल गर्नका लागि शङ्कास्पद ठाउँको मासु निकालेर ‘बायोप्सी’ नै गर्नुपर्ने हुन्छ । अनुभवी वा दखल भएका चिकित्सकले ‘ल्यारिन्गोस्कोप’ भनिने दूरबिन नाकको प्वालबाट छिराई ‘ल्यारिन्क्स’को भित्री भागको विस्तृत परीक्षणसँगै ‘फ्यारिन्क्स’ एवं ‘ल्यारिन्क्स’का शङ्कास्पद ठाउँबाट ‘बायोप्सी’का लागि मासुको टुक्रा पनि निकाल्ने गर्छन् । 

घाँटीको क्यान्सरको खास व्यवस्थापन (उपचार) क्यान्सरको अवस्थिति (सुप्राग्लोटिस, ग्लोटिस वा सबग्लोटिस)का साथै नजिकैको ‘लिम्फनोड’मा फैलिएको छ वा छैन, तह, ट्युमरको आकार, कतिको पैmलिएको छ, क्यान्सरको प्रकार, घाँटीको एकातिर वा दुवैतिर आदिको आधारमा गरिन्छ । उपचारको हकमा शल्यक्रिया, ‘रेडियोथेरापी’ वा ‘केमोथेरापी’ दिइन्छ । क्यान्सरको आरम्भिक चरणमा शल्यक्रिया नै बढ्ता उपयुक्त हुन्छ । उपचारको क्रममा स्वरयन्त्रमा असर पर्न सक्ने, बोलीमा समस्या आउन सक्ने हुनाले 

‘फिजियोथेरापिस्ट’, ‘स्पिच थेरापिस्ट’, मनोपरामर्शदाता, ‘म्याक्जिलोफेसियल सर्जन’, ‘न्युरोसर्जन’, ‘एनेस्थेटिस्ट’, ‘अङ्कोलोजिस्ट’सहितको बहुविधागत चिकित्सकहरूको समुचित प्रयास आवश्यक हुन्छ ।