साहित्यमा तेस्रो आयाम

‘आयाम’ मा ‘इक’ शब्दको योगबाट बनेको आयामिक शब्दमा ‘साहित्य’ शब्दसमेत मिलेर बनेको साहित्यको विवेचनामा प्रयोग हुने पारिभाषिक पदावली हो आयामिक साहित्य । आयाम भन्नु फैलावट र विस्तार पनि हो । आयामिक वा आयामेली शब्दले लम्बाइ, चौडाइ र गहिराइ सबै मिलेको आयामसँग सम्बन्धित पदावली हो भन्ने बुझिन्छ । सन् १९६३ को मईमा बैरागी काइँला (तिलविक्रम नेम्बाङ)को सम्पादनमा तेस्रो आयाम पत्रिका पहिलोपल्ट प्रकाशित भयो । यसै पत्रिकामा आयामिक साहित्यको सिद्धान्त प्रकाशित भयो र यसैलाई नेपाली साहित्यको इतिहासमा आयामेली आन्दोलन भनियो । यसले यतिखेरसम्मको नेपाली साहित्यमा गहिराइ र घनत्व नभएका कारण अबको साहित्य आयामिक हुनुपर्ने स्थितिको बोध गरेर यो आन्दोलनको सुरुआत भएको थियो । यस सिद्धान्तका प्रवर्तक इन्द्रबहादुर राई, ईश्वरबल्लभ र बैरागी काइँलाले आरम्भ गरेका यस आन्दोलनले नेपाली साहित्यमा नयाँ अभियानको रूप लियो । यसका प्रेरक विचारहरूमा जेस्टाल्टवाद, घनत्ववाद, हेलियोग्राफ, सामूहिक अवचेतन आदिको भूमिका रहेको थियो ।