• ९ जेठ २०८१, बुधबार

काफल पाक्यो

blog

नेपालको मध्य, उच्च पहाडी र हिमाली क्षेत्रका साथै समुद्री सतहबाट १५ सय मिटरदेखि चार हजार मिटर उचाइसम्म काफल पाइन्छ।  काफललाई ठाउँ अनुसार नेपालीमा कोबुसी, कायफल, काफल भन्ने गरिन्छ भने हिन्दीमा काफल कायफर, कायफल तथा अङ्ग्रेजीमा काफलाई बेबेरी भनिन्छ। काफलको वैज्ञानिक नाम भने मार्सिका एस्कुलेन्टा हो।

काफल एक लोकप्रिय प्राकृतिक जङ्गली पहाडी फल हो। यसको स्वाद मीठो हुन्छ। गर्मी मौसममा पहाडका वन पाखा जताततै काफल पाकेको हुन्छ। चैतदेखि जेठ महिनासम्म काफल पाक्छ।

तराईंमा जति जति गर्मीको राप चढ्दै जान्छ, पहाडका जङ्गलमा काफलको रङ पनि चढ्न थाल्छ। यसको फलको आकार लाम्चो र गोलो हुन्छ तथा स्वाद अमिलो मीठो। यस फलको रङ काँचोमा हरियो तथा पाकेपछि रातो र धेरै पाकेपछि बैजनी रङको हुन्छ।

यति बेला पहाडका जङ्गलमा चराले ‘काफल पाक्यो’ भने जस्तै गरी कराएको सुनिन्छ।

नेपाली समाजमा प्रचलित एउटा लोककथा छ, चारोको खोजीमा चरा आफ्ना बच्चा छाडेर अन्तै गएको थियो। पछि जङ्गलमा काफल पाक्यो। ती बच्चाले चारोको खोजीमा गएका आफ्ना आमा बुवालाई बोलाए ‘काफल पाक्यो, काफल पाक्यो’ ।

काफलसँग ‘काफल पाक्यो’ चरीको सम्बन्ध छ। काफल पाक्यो चरीको वैज्ञानिक नाम क्युकुलस माइक्रोप्टेरस हो। यो नेपाललगायत दक्षिण एसिया तथा पूर्वी एसियाका केही स्थानमा पाइने गर्छ। यो चरा समुद्री सतहबाट ३६०० मिटरसम्मको उचाइमा रहेका जङ्गलमा पाइन्छ। यो घुमन्ते चराका रूपमा पनि चिनिन्छ।

काफल गीत/सङ्गीतमा पनि प्रयोग भएको छ। हाम्रा थुप्रै लोकभाकाका गीतमा काफलको प्रसङ्ग जोडिएको छ। जस्तै ‘रेली खोला बगर, काफल पाक्यो लहर’, ‘काफल गेडी कुटुक्कै‘, ‘काफल पाक्यो होला वनमा’ ।

काफल खानुका फाइदा

स्वास्थ्यका लागि मौसमी फल अनिवार्य मानिन्छ। जुन मौसममा जे फल्छ, त्यही फल खानुपर्छ। भण्डारण गरिएको, बेमौसमी फल खानु त्यति उपयुक्त हुँदैन। अतः काफल अहिलेको मौसमी फल हो। काफल स्वादिष्ट मात्र होइन, स्वस्थकर पनि छ।

काफललाई हामीले औषधिका रूपमा समेत प्रयोग गर्न सक्छौँ। चिकित्सकका अनुसार काफल एउटा फल मात्र होइन, काफललाई विभिन्न रोगको औषधिका रूपमा पनि प्रयोग गर्न सकिन्छ। विभिन्न समस्यामा काफलको दाना, बोक्रा प्रयोग गर्न मिल्छ। यसको जरा, फल, फूल, बोक्रा, बिउ, पात परापूर्वकालदेखि नै आयुर्वेद औषधिमा प्रयोग गरिँदै आएको छ।

काफलमा प्रोटिन, फाइबर, खनिज तत्व, कार्बोहाइड्रेटलगायतका तत्व पाइन्छन्। काफलको बोक्रामा एन्टिसेप्टिक गुण हुन्छ भने यो कफ र ज्वरो नियन्त्रणका लागि पनि लाभदायक मानिन्छ।

ज्वरो आएमा, घाँटीको समस्या भएमा, दम बढेमा, रगतको कमी भएमा काफल खानु उपयोगी हुन्छ। अरुचि भएमा काफल खानाले लाभ मिल्छ। साथै मधुमेह रोगमा पनि यो रामवाण मानिन्छ। काफल खानाले मुटुलगायत क्यान्सर रोगको जोखिम कम गर्ने बताइन्छ।

कानको रोग, आँखाको रोग, अनियमित मासिकस्राव, टाउको दुखाइ आदिमा काफलको धुलो, बोक्रा आदिलाई औषधि बनाएर सेवन गर्दा लाभ मिल्छ। शरीरका कुनै बाहिरी अङ्गमा घाउ भएमा वा चोटपटक लागेमा काफलको बोक्राको धुलोको लेप बनाएर लगाउँदा चाँडै लाभ मिल्छ।

सामान्यतया काफलको बोक्रालाई पिसेर धुलो बनाउने र त्यस धुलोलाई मन्जनका रूपमा ब्रस गरे दाँत सफा हुनुका साथै दाँतको दुखाइ पनि निको हुन्छ। यस्तै चार पाँच ग्राम काफलको बोक्राको धुलोमा एक/दुई चम्चा मह मिलाएर दिनको दुई पटक सेवन गर्नाले सासको दुर्गन्ध हटाउन मद्दत पुग्छ।

त्यस्तै काफलको फलको बोक्राको काजल बनाउन प्रयोग गरिन्छ। काफल पेटका लागि निकै फाइदाजनक छ। यसको सेवनले अपच र अरुचि हुने समस्याबाट छुटकारा पाउन सकिन्छ। 


–अच्युतमान सिंह प्रधान ‘उत्सुक’