रमेश विश्वकर्मा
गुल्मी, कात्तिक ९ गते । विशेषगरी हिमाली र पहाडी भेगमा उत्पादन हुने फापर प्रमुख खाद्यान्न बालीमध्ये एक हो । फापर तीते र मिठे गरी दुई प्रजातिको रहेको हुन्छ । रैथाने बाली फापरलाई निकै लोकप्रिय खाद्यबालीको रुपमा लिइन्छ । पछिल्लो समय फापरको उत्पादन निकै घट्दो क्रममा रहेको छ । फापर खेतीप्रति किसानको आकर्षण घट्दै गएको स्थानीय किसानहरु बताउँछन् ।
फापरको आँटो, ढिडो, रोटीलगायतका परिकार उपभोग गर्ने गरेकामा पछिल्लो समय आयातित खानेकुराको बढी प्रयोग हुन थालेपछि यसको खेती कम हुन थालेको पाइन्छ । स्वास्थ्यलाई निकै फाइदा पुर्याउने फापरलाई जिवित राख्न गत वर्षदेखि सानो ठाउँबाट फापर खेती सुरु गरेको रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घास विद्युत टोलका छवि पाण्डेयले बताउनुभयो ।

फापरको उत्पादन विगतमा जस्तो पछिल्लो समय कुनैपनि स्थानमा नभएको उहाँले बताउनुभयो । मेहनत गरे पनि उत्पादन न्यून हुँदा फापर खेतीप्रति किसानको आकर्षण घट्न सकेको हो । उत्पादन घट्दो क्रममा रहेको समयमा गतवर्ष राम्रै उत्पादन भएसँगै यसवर्ष क्षेत्र विस्तार गरी झण्डै तीन रोपनी जग्गामा फापर खेती गरिएको उहाँले बताउनुभयो ।
यस वर्ष फापर राम्रोसँग फुल फुलेको हुँदा गत वर्षभन्दा राम्रो फापर उत्पादन हुन सक्छ । “हराउन लागेको फापर खेतीलाई जोगाउनका लागि हामीले उत्पादन गरेको फापरलाई बिक्री गर्दैनौं ।’’ उहाँले भन्नुभयो, “खेती गर्न इच्छुक र बीउ आवश्यक परेको खण्डमा जो कोहीलाई निःशुल्क उपलब्ध गराउने छौं ।’’ निकै महत्त्वपूर्ण खाद्यान्न भएको हुँदा फापरको संरक्षणमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।
फापर पोषणयुक्त खाद्यान्न हो । जसमा कार्बोहाइड्रेट ७० देखि ७३ प्रतिशत, प्रोटिन १६ प्रतिशत र लाइसिन एमिनो एसिड पनि बढी पाइन्छ । उत्पादनमा गिरावट आएको फापरको बजार माग निकै बढेको देख्न सकिन्छ । फापरका परिकार उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि अति उत्तम मानिने पाण्डेयले बताउनुभयो ।