काठमाडौँ, पुस १४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, सुदृढीकरण तथा समाजवादको दिशामा अग्रसर हुने साझा उद्देश्यका साथ दुवै पार्टीबीच सहमति–पत्रमा हस्ताक्षर गरिएको हो।
१० बुँदे सहमति–पत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्नुभएको छ।
सहमति–पत्रमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त, समावेशी तथा समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। इतिहासका विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनलगायतका उपलब्धिहरूको रक्षा गर्दै पछिल्लो समय नवयुवा तथा युवाहरूको सहभागिताबाट विकसित नयाँ राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध सङ्घर्ष आवश्यक रहेको सहमतिमा उल्लेख छ।
सहमति अनुसार विगतमा पार्टी र राज्यका विभिन्न निकायमा वहन गरिएका जिम्मेवारीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै कमजोरी सच्चाइने र संघीयता, सुशासन, समृद्धि तथा सामाजिक न्यायलाई समाजवादको दिशामा अघि बढाइनेछ। मुलुकको सार्वभौमिकता, स्वाधीनता र भू–अखण्डताको रक्षा गर्दै परिवर्तन र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिका लागि सडक, सदन र सरकार तीनै तहबाट सङ्घर्ष गर्ने रणनीति तय गरिएको छ।
सम्झौतामा संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य गर्दै समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्य लिइएको छ। नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमका रूपमा अङ्गीकार गर्दै सामाजिक–आर्थिक रूपान्तरणका लागि कटिबद्ध रहने उल्लेख गरिएको छ।
पार्टीलाई सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्व र सहभागिताको आधारमा जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार सञ्चालन गर्ने सहमति भएको छ। एकीकरणपश्चात् पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने र चुनाव चिन्ह ‘तारा’ कायम रहनेछ। दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुनेछन्।
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति लगायत सबै संरचना र जनवर्गीय सङ्गठनहरू आपसी सहमतिमा नेपाली कम्युनिस्ट पार्टीमा समायोजन गरिनेछ। वर्तमान संविधानका सकारात्मक पक्षहरूको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचनाको सवलिकरणका विषयमा अग्रगामी परिमार्जन तथा आवश्यक संविधान संशोधनका लागि पहल गर्ने सहमति पनि भएको छ।
सहमति–पत्रमा महिला, थारू, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, अल्पसङ्ख्यक, पिछडा वर्ग, विपन्न तथा पिछडिएका क्षेत्रका समुदायलाई राज्यका सबै अङ्ग र तहमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने उल्लेख छ। श्रमिक वर्ग र उत्पीडित समुदायहरूको एकतामा जोड दिँदै समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्यसमेत तय गरिएको छ।
त्यसैगरी टिकापुर घटनासँग सम्बन्धित प्रतिशोधका आधारमा लगाइएका मुद्दा खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने सहमति गरिएको छ। सहमत नीति, सिद्धान्त र विचारमा आस्था राख्ने सबै राजनीतिक शक्ति र व्यक्तिहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुन आह्वान गरिएको छ।