बैङ्कक, पुस १४ गते । थाइल्यान्डको सेनाले सोमबार कम्बोडियामाथि नयाँ हस्ताक्षर गरिएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ । सेनाका अनुसार कम्बोडियाले थाई भू भागभित्र २५० भन्दा बढी ड्रोन उडाएर हप्तौँदेखि जारी घातक सीमा झडपपछि भएको सहमतिलाई बेवास्ता गरेको हो ।
थाई सेनाले जारी गरेको विज्ञप्तिमा आइतबार राति कम्बोडियातर्फबाट थाइल्यान्डको सार्वभौम क्षेत्रमा घुसपैठ गर्दै २५० भन्दा बढी मानवरहित हवाई यान (युएभी) उडिरहेको पत्ता लागेको उल्लेख गरिएको छ । सेनाका अनुसार यस्तो गतिविधिले उक्साहट रोक्ने र तनाव कम गर्ने उद्देश्यले अपनाइएका उपायको उल्लङ्घन गरेको छ ।
विज्ञप्तिमा शनिबार सम्पन्न द्विपक्षीय सीमा समितिको बैठकपछि जारी संयुक्त वक्तव्यसँग यी गतिविधि असङ्गत रहेको पनि जनाइएको छ । थाई पक्षले यस घटनाले आपसी विश्वासमा आघात पुर्याएको संकेत गरेको छ । यस आरोपप्रति प्रतिक्रिया दिँदै कम्बोडियाका विदेशमन्त्री प्राक सोखोन्नले सोमबार राज्य टेलिभिजनमा प्रसारित टिप्पणीमा दुवै देशका प्रतिनिधिले घटनाबारे छलफल गरिसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार दुवै पक्षले अनुसन्धान गरेर यस विषयलाई ‘तुरुन्तै समाधान गर्ने’ सहमति गरेका छन् । प्राक सोखोन्नले यो घटनालाई सीमावर्ती क्षेत्रमा दुवै पक्षले देखेका ड्रोन उडानसँग सम्बन्धित ‘सानो समस्या’ का रूपमा वर्णन गर्नुभयो ।
थाइल्यान्ड र कम्बोडियाले यसै महिनामा दर्जनौँ व्यक्तिको ज्यान जाने र दस लाखभन्दा बढी मानिस विस्थापित हुने गरी भएको नयाँ सीमा झडप अन्त्य गर्न शनिबार ‘तत्काल’ युद्धविराममा सहमति जनाएका थिए । पुनः सुरु भएको लडाइँ दुवै देशका करिब सबै सीमावर्ती प्रान्तमा फैलिएको थियो, जसले यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको भनिएको युद्धविरामलाई पनि कमजोर बनाएको थियो ।
शनिबार हस्ताक्षर गरिएको सम्झौताअनुसार दुवै दक्षिणपूर्वी एसियाली छिमेकी मुलुकले गोली हानाहान रोक्ने, सेनाको आवागमन सीमित गर्ने र साइबर अपराधविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । युद्धविरामको दीगो कार्यान्वयनले सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरता फर्काउने अपेक्षा गरिएको छ । रासस/एएफपी