• १४ पुस २०८२, सोमबार

काठमाडौंमा बालबालिकाको चित्रकला प्रदर्शनी

blog

जोब्रा आर्ट भिलेजद्वारा सोमबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंमा आयोजित आर्ट फिस्टा २०२५ अवलोकनमा बालबालिका । तस्बिरः सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस १४ गते। नेपाल, भारत र बंगलादेश गरी तीन देशका बालबालिकाको चित्रकला प्रदर्शनी सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली  ‘कलाङ’ ले सो चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुभयो । 

कुलपति हार्तम्छालीका अनुसार बालबालिकाको कलाकृतिमा उनीहरुको संस्कृति, जनजीवन, समाज र देशको पर्यावरणसँग जोडिएका बिम्ब प्रस्फुटन भएको छ। “वास्तवमा बालबालिका प्राकृतिक कलाकार हुन् । नैसर्गिक रुपमा भावनाले काम गर्ने हुनाले प्राकृतिक कला हुन्छ । धेरै कलाकृतिहरु उहाँहरुको संस्कृति, जनजीवन, समाज, देशको पर्यावरणसँग जोडिएका कला आएका छन्” उहाँले भन्नुभयो ।


उहाँले चित्रकलामा बालबालिकाको कोमल भावनाको प्रस्तुति भएको बताउनुभयो । भविष्यलाई सकारात्मक रुपमा अगाडि लैजान आजका बाल मष्तिस्कको भूमिका पनि महत्वपूर्ण रहने उहाँको भनाइ छ। 

‘जोब्राः दि आर्ट भिलेज’ नेपालका संयोजक विपना महर्जनले कला, ज्ञान आदन–प्रदान गर्ने उद्देश्यका साथ बालबालिकाको चित्रकला प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठुला ठुला कलाकारको प्रदर्शनी भइरहेको हुन्छ । तर, बच्चाहरुले एउटा देशबाट अर्को देशको काम, कला हेर्न पाएको हुँदैन । बाहिरका बच्चाको विचार, ज्ञान, आदन–प्रदानका लागि प्रदर्शनी आयोजना गरिएको हो ।”


उहाँका अनुसार चित्रकला प्रदर्शनीमा नेपालको एकसय चार, भारतका ३० र बंगलादेशका एक सयभन्दा बढी बालबालिका सहभागी भएका छन् । उहाँले पछिल्लो समय बालबालिकामा विगतको परम्परागत ढङ्गबाटभन्दा फरक तरिकाले सोच्ने बानीको विकास हुँदैगएको भन्नुहुँदै खासगरी ज्ञान अभिवृद्धिकै लागि चित्रकला प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । 


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।