• २८ वैशाख २०८३, सोमबार

टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता

blog

रेफ्रीलाई बल हस्तान्तरण गर्दै टीकापुरका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जी । तस्बिरः एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, वैशाख २७ गते । युथ अफ टीकापुरको आयोजनामा टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा कालिकोट, बर्दिया र कैलालीका नौ वटा टीम सहभागी छन् । आइतबार सुरु भएको खेल जेठ ३ गते सम्म चल्नेछ । 

आयोजकका अनुसार टीकापुरमा पुरस्कार र खेलका हिसाबले यो प्रतियोगितालाई महत्वपूर्ण मानिएको छ । ‘खुला महिला फुटबल प्रतियोगिता टीकापुरमा पहिलो पटक भएको हो’ कोषाध्यक्ष दीपक रिमालले भन्नुभयो, ‘प्रतियोगितामा प्रथम हुने टीमले दुई लाख, दुई हजार २२२ रुपियाँ र दोस्रो हुने टीमले एक लाख एक हजार १११ रुपियाँ पुरस्कार पाउने छन् ।’ 

राष्ट्रिय फुटबल खेलाडी सिद्ध ठकुल्ला देशका राम्रा खेलाडी उत्पादन गर्ने टीकापुरको फिल्डमा लामो समयपछि महिला फुटबल हेर्न पाउँदा खुसी लागेको बताउनुभयो । फुटवल खेलाडी सिमा बयक यसरी आफ्नै होम ग्राउण्डमा खुल्लाव्यापी क्लवस्तरीय छात्रा फुटवल प्रतियोगिता आयोजना हुनु आफ्नो लागि खुशी र सुनौलो अवसरको विषय भएको बताउनुभयो । 

प्रतियोगिताको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख रामबहादुर नगार्जीले खेल प्रतियोगिताले टीकापुरको पहिचान र विकासमा सहयोग पुगेको र खेल क्षेत्र नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो ।

उद्घाटन खेलमा भजनी विजयी

आइतबार भएको उद्घाटन खेलमा भजनीले लम्कीचुहालाई १ गोलले पराजित गरेको  छ । खेल सुरु भएको २ मिनेटमा भजनीका खेलाडी अमिता चौधरीले गरेको गोल नै निर्णायक भएको छ । प्रतियोगिता वीरेन्द्र विद्यामन्दिर मावि टीकापुरको खेल मैदानमा भइरहेको छ । 

प्रतियोगितामा आयोजक युथ अफ टीकापुर, कालिकोट एफटी, एनवाइएमइएस बर्दिया, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, शैपाल युथ क्लव, घोडाघोडी क्लव, भजनी युवा क्लव, बाघमारा स्पोर्टस, फोरटिन जीआर गरी नौ वटा टीम सहभागी छन् ।