• १४ पुस २०८२, सोमबार

कार्यालय सहयोगीले नै घुस लिएको अभियोग

blog

गाेरखापत्र अनलाइन 

काठमाडौँ, पुस ८ गते । यातायात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगीले घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार यातायात व्यवस्था कार्यालय भरतपुर चितवनको जाँचपास, परमिट तथा नवीकरण शाखामा कार्यरत कार्यालय सहायक (पाँचौँ) इन्द्रजित गुरुङले सेवाग्राहीसँग घुस/रिसवत रकम लिएको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो। सोही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले मिति २०८२ असार ३० गते गुरुङको कार्यकक्षबाट नगद एक लाख ८५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा कर्मचारी गुरुङले पञ्जीकरण, ब्लुबुक, जाँचपास, परमिट नवीकरणलगायतका सार्वजनिक सेवा कार्य सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको पाइएको आयोगले जनाएको छ। 

आफू कर्मचारी भएकाले समस्या पर्न सक्ने भन्दै जिम्मेवारी नपाएको बाहिरी व्यक्तिलाई करारमा नियुक्त गरिदिने झुट्टा आश्वासन दिई वदनियतपूर्वक गैरकानूनी कार्य गरेको अनुसन्धानबाट खुलेको छ।

आयोगका अनुसार गुरुङले सेवाग्राहीबाट घुस/रिसवतको रकम ई–सेवा खातामार्फत जम्मा गराउन लगाई उक्त रकम पटक–पटक आफ्नाे सानिमा बैंकको खातामा दाखिला गराएको पुष्टि भएको छ। यसरी निजले कुल एक लाख ६१ हजार ३ सय ४० रुपैयाँ घुस/रिसवत प्राप्त गरेको आयोगको भनाइ छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुर ठहर गर्दै आयोगले बिगो एक लाख ६१ हजार ३ सय ४० रुपैयाँ कायम गरी कैद तथा बिगो बमोजिम जरिवाना सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो।