नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक ८ गते । बागलुङको घम्जा घर भएका गणेश छन्त्याल र कला छन्त्याल बागलुङ बजारमा तरकारी उत्पादन गर्न व्यस्त छन् । बागलुङ नगरपालिका–१, रामरेखामा छन्त्याल दम्पतीले पाँच वर्षदेखि बेमौसमी तरकारी उत्पादन गर्दै मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
पाँच रोपनी जग्गा भाडामा लिएर छन्त्याल दम्पतीले बेमौसमी तरकारी तथा तरकारीका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । जग्गाको वार्षिक ५९ हजार भाडा तिरेर उनीहरुले तरकारी खेती गर्दैआएका छन् । वर्खामा समेत छन्त्याल दम्पतीको ‘छन्त्याल कृषि फर्म’ मा बन्दा फलेका छन् । टमाटर टिप्न भ्याइनभ्याइ छ ।
काठेखोला गाउँपालिका–३, धम्जाबाट १५ वर्षअघि बागलुङ बजार झर्नुको कला छन्त्यालले यसअघि धागो उत्पादन गर्दै आउनुभएको थियो । श्रीमान गणेश छन्त्याल भारतीय सेनाबाट अवकाश भएपछि श्रीमान्–श्रीमती मिलेर कृषि कर्ममा लाग्नुभएको छ। बागलुङको बजारभित्र पाँच वटा प्लास्टिक टनेलमा बेमाैसमी तरकारी, काउली, बन्दा तथा प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । “श्रीमानको पेन्सनले छोरी पढाउन सघाउँछ, पहिला धागो उद्योग चलाउथे, श्रीमान् अवकास भएर आएपछि सात लाख लगानीमा कृषि फर्म खोलेका थियौ, अधिकांश तरकारी फर्मबाटै बिक्री हुन्छ” कला छन्त्यालले भन्नुभयो “फर्मबाट वार्षिक नौ लाख रुपियाँ बढी आम्दानी हुन्छ । तीन लाखसम्म खर्च भएको छ, बचत भएको रकमले घर खर्चसँगै छोराछोरीको पढाइमा लागानी भइरहेको छ ।”
अहिले पाँच वटा प्लास्टिक टनेलमा काउली, ब्रोकाउली, बन्दा, टमाटर लगायत बेमौसमी तरकारी उत्पादन तथा बिक्री भइरहेको उहाँले बताउनुभयो । अहिले ‘सरिता’ जातको टमाटरको याम रहेकाले दिनमै १२५ केजीसम्म टमाटर बिक्री गरिरहेको बताउनुभयो । टमाटरलाई प्रतिकेजी ७० रुपियाँका दरले बिक्री गर्दै आएको छन्त्यालको भनाइ छ ।
एक छोरा र एक छोरी रहेको छन्त्याल दम्पतीले छोरीलाई उच्च शिक्षा दिँदै आउनुभएको छ । छोरालाई बैदेशिक रोजगारीका लागि पठाउने तयारी गर्नुभएको छ । गणेश छन्त्यालले कृषि पेसामा खट्न सक्नेले राम्रो आम्दानी गर्ने बताउनुभयो । बजारमा कौशी खेतीका रूपमा काउली, बन्दा र प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्दा राम्रो नाफा हुने बताउनुहुन्छ ।
“बेमौसमकाे तरकारीको मूल्य बढी छ, बजारमै कृषि फर्म भएकाले बजारको चिन्ता छैन, ढुवानी खर्च लाग्दैन” गणेश छन्त्यालले भन्नुभयो “भारतीय सेनाको जागिरको कमाइले बजारमा घर बनाएका छौं, छोराछोरी पढाउन कृषि पेसाले सघाएको छ ।” छन्त्यालले कृषि ज्ञान केन्द्र बागलुङबाट गत वर्ष एउटा प्लास्टिक टनेलका लागि आवश्यक प्लास्टिक अनुदानमा पाएको बताउनुभयो ।