• ९ कात्तिक २०८२, आइतबार

विश्वकप लिग–२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको चुनौती

blog

नेपालविरुद्ध ब्याटिङ गर्दै अमेरिका । तस्बिरः क्यान

काठमाडौँ,  कात्तिक ९ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई २६३ रनको चुनौती दिएको छ । 

पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खला अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि  दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा अमेरिकाले सुरुमा ब्याटिङ गरेको हो । 

अमेरिकाका लागि  स्मित पटेल र मिलन्दु कुमारले शानदार अर्धशतक बनाए । पट्टेलले सय बलको सामना गर्दा नौ चौकाको मद्दतमा ७५ रन बनाएर अमेरिकी इनिङ् उकास्नुभयो भने मिलन्दुले ५० बलको सामना गर्दा नटआउट ७० रन बनाउनुभएको हो । सुरुको १० ओभर कसिलो बलिङ गरेको नेपालले त्यसपछि अमेरिकालाई रन दिएको हो । पूरै ५० ओभर खेलेको अमेरिकाले ६ विकेटको क्षतिमा २६२ रन बनाएको हो । 

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी एकएक विकेट हात पार्नुभयो । केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई छन् । जारी  लिगमा नेपाल चार शृङ्खलामा १६ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ ।  अमेरिका २० खेलमा २८ अङ्कका साथ दोस्रो स्थानमा छ । 

लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा जम्मा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन  शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सहभागी हुनेछन् ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आशिफ शेख,  भीम सार्की, गुल्शनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन्  ।