चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १४ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सङ्घीय मेलाको अवसरमा खेलाइने भलिबल प्रतियोगितामा १४ टोली सहभागी हुने भएका छन् ।
मङ्गलबारदेखि सुरु हुने मेलामा खेलाइने अन्तर वडास्तरीय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जनाएको छ ।
आयोजक सङ्घीय मेला खेलकुद/सांस्कृतिक क्लबले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटनको दिन मङ्गलबार दुई वटा खेल हुने छ । उद्घाटनको दिन पाथीभरा याङ्वरक गाउँपालिका–६, थुम्बेदिन र फुङ्लिङ नगरपालिका तथा आयोजक ‘बि’ र सिरिजङ्घा गाउँपालिका–४, तेल्लोकबिच खेल हुने छ ।
यस्तै दोस्रो दिन बुधबार पहिलो चरणकै खेलअन्तर्गत सिदिङ्वा गाउँपालिका–६, मेहेले र पाथीभरा याङ्वरक–३, तिरिङ्गे, सिदिङ्वा–४, साब्लाखु र सिरिजङ्घा–५, पेदाङबिच प्रतिस्पर्धा हुने छ । सोही दिन मेरिङ्देन–६, नाल्बु र सिदिङ्वा–३, आङ्खोप, सिदिङ्वा–५, लिम्बूदिन र सिरिजङ्घा–१, सिनामबिच खेल हुने आयोजकले जनाएको छ ।
बुधबार नै नाल्बु र आङ्खोपको विजेतासँग मिक्वाखोला–५, पापुङ तथा लिम्बूदिन र सिनामबिचको विजेतासँग आयोजक ‘ए’ बिचको खेल हुने छ । बिहीबार भने दोस्रो चरण र सेमिफाइनल चरणको खेल हुने आयोजक सङ्घीय मेला खेलकुद/सांस्कृतिक क्लबका अध्यक्ष रक्की थेबेले जानकारी दिनु भयो । अध्यक्ष थेबेका अनुसार फाइनल खेल पुस १८ गते शुक्रबार हुने छ ।
यता प्रतियोगिताको विजेताले एक लाख दुई हजार ६६ रुपियाँ पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । उपविजेताले भने ५० हजार २८२ रुपियाँ पुरस्कार पाउने खेलकुद संयोजक थेबेले जानकारी दिनु भयो । उहाँकाअनुसार सर्बोत्कृष्टसहित विभिन्न विधामा खेलाडीले पुरस्कार पाउने छन् ।
भलिबल प्रतियोगिता फाइनलपछि शुक्रबार साँझ नै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिमा साङ्गीतिक कार्यक्रम हुने पनि आयोजकले जनाएको छ ।
सङ्घीय मेला सिरिजङ्घा गाउँपालिका–२, आम्बेगुदिनको खाम्दिमे बजारमा लाग्ने र मेला तथा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष थेबेले जानकारी दिनु भयो ।