• १४ पुस २०८२, सोमबार

स्वास्थ्य मन्त्री डा.गौतमले सार्वजनिक गर्नु भयो दुई महिने कार्य विवरण

blog

काठमाडौँ, पुस १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले आफ्नो कार्यभार सम्हालेको दुई महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्नु भएको छ।

स्वास्थ्य मन्त्री गौतमले दुई महिनामा भएका उपलब्धिहरू आज सार्वजनिक गर्दै मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार, औषधी व्यवस्थापन तथा मातृ तथा नवजात शिशु स्वास्थ्यजस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण नीतिगत र कार्यक्रमगत उपलब्धि हासिल भएको बताउनु भएको छ ।

उहाँले सुशासन, संस्थागत सुदृढीकरण र सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै अघि बढाइएका रणनीतिक कदमहरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नु भयो । 

मन्त्री गौतमले विभिन्न नीतिगत निर्णय तथा अनुगमन र निरीक्षणका गतिविधि सार्वजनिक गर्नु भएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा सुशासन, सेवा गुणस्तर र पहुँच सुधारमा ठोस आधार तयार गरेको उल्लेख गर्नु भएको छ । डा.गौतमले कात्तिक ९ गते स्वास्थ्य मन्त्रीको पदभार ग्रहन गर्नु भएको थियो ।  

उहाँका अनुसार स्वास्थ्य बिमासम्बन्धी विद्यमान समस्या र चुनौती पहिचान गर्न विज्ञसहितको समिति गठन गरिनुका साथै स्वास्थ्य बिमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्बाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)लागि पूर्वस्वीकृति प्राप्त भई कार्य प्रारम्भ हुनुका साथै स्वास्थ्य बिमाबापत अस्पताललाई भुक्तानी हुन बाँकी रकम निकासका लागि अर्थ मन्त्रालय पठाइएको छ ।

 सार्वजनिक गरिएको उपलब्धि विवरणमा औषधी उत्पादन, आयात, वितरण र मूल्य नियन्त्रणलाई व्यवस्थित गर्न विज्ञ समिति गठन गरिएको उल्लेख गरिएको छ ।

नेपाल औषधी प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको, साथै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम)स्वीकृतिका लागि आवश्यक पूर्वतयारी कार्य सुरु गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा खरिद तथा आपूर्ति प्रणाली सुधार गर्न विज्ञ समिति गठन गरी खरिद प्रक्रिया, निर्देशिका र कार्यविधि पुनरावलोकन गरिएको, स्थानीय तहका ५, १० र १५  शय्याका आधारभूत अस्पतालहरूका लागि न्यूनतम सेवा मापदण्ड अनुसार आवश्यक औजार उपकरणको सूची तयार भई स्वीकृत दिइएको छ ।

 जोखिमयुक्त गर्भवतीको पहिचान र सेवामा पहुँच बढाउन लक्षित कार्यक्रम सञ्चालन गरिएको, कोशी, बागमती र गण्डकी प्रदेशका अस्पतालमा विशेष नवजात शिशु हेरचाह एकाइ (एसएनसियू) सेवा सुदृढीकरण गरिएको विवरणमा उल्लेख छ । 

 सोह्र वटा सङ्घीय अस्पतालमा मनोसामाजिक डेस्क स्थापना गरी सेवा सुरु गरिएको, जेनजी आन्दोलनका घाइतेलाई जेनजेड क्लिनिकमार्फत मनोसामाजिक सेवा प्रदान गरिनुका साथै ‘स्वास्थ मन, स्वस्थ जीवन’ नामक मानसिक स्वास्थ्य सचेतना अभियान गरिएको ।

त्यसै गरी सहिद परिवारलाई मनोवैज्ञानिक सहजीकरण गरी पुनःस्थापना गर्ने कार्यको तयारी पूरा भई सो कार्य पुसको तेस्रो हप्तादेखि सुरुवात हुने विश्वास व्यक्त गरिएको छ ।

 वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि स्वास्थ्य जानकारी, जनशक्ति परिचालन र सेवा पहुँच विस्तारमा ध्यान दिनुका साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गर्दै टेलिमेडिसन सेवा विस्तारको तयारी भइरहेको विवरणमा उल्लेख छ ।

मन्त्री गौतमले पदबहाली लगत्तै पहिलो निर्णयका रूपमा जेनजी आन्दोलनका घाइते तथा प्रभावितहरूलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।

यसका साथै, शहीद परिवारलाई निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्न अर्थ मन्त्रालयसँग समन्वय गर्ने योजना रहेको थियो ।