• ९ कात्तिक २०८२, आइतबार

'पढ्न र लेख्न जानेपछि संसार जितेकाे महसुस हुन्छ'

blog

महिला साक्षर कक्षामा सहभागी सदा (मुसहर समुदाय) का महिलाहरू । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), कात्तिक ९ गते । जिल्लाको तिरहुँत गाउँपालिका-३, पिप्राहीका सदा (मुसहर) मुसहर समुदायका महिलाहरू साक्षर बन्न उत्साहित छन् । स्थानीय महिलाहरू समय निकालेर स–साना छोराछोरीसहित घुम्टो ओढेर पढ्न लेख्नका लागि स्थानीय सामुदायिक सिकाइ केन्द्र जाने गरेका छन् ।

स्थानीय ३० वर्षीया रेखाकुमारी सदा दिनभरि घरको काममा व्यस्त भए पनि दिउँसो एक बजेदेखि ३ बजेसम्म दुई छोराछोरीसहित पढ्न, लेख्न दिनहुँ सामुदायिक सिकाई केन्द्र आउने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "सानैदेखि पढ्ने रहर थियोे । हाम्रो समुदायको कसैको छोराछोरी पढ्दैनथे । पढ्न सकिन अर्काले किताब पढेको,आफ्नो नाम लेखेको देख्दा रहर लाग्थ्यो । अहिले नाम लेख्न जानिसके सामान्य पढ्न जानेपछि संसार जिते जस्तो लागेको छ ।"

६ महिना देखि साढे तीन वर्षसम्मको दुई जना छोराछोरीहरूले पनि यहाँ आएर सरफाइमा बस्न र पोषण युक्त पोषिलो खानेकुरा खान पाएपछि हामीलाई के चाहिन्छ ? हाम्रो अवस्था र समस्या प्रति ध्यानाकर्षण गर्दै यति सहयोग गरेर नयाँ जीवन दिनुहुने नेपाल युथ फाउन्डेसन नेपाललाई उहाँले धन्यवाद दिनुभयो ।

त्यस्तै सोही ठाउँकी ३३ वर्षिया बुच्चीकुमारी सदा सामुदायिक केन्द्रमा पढ्न आएदेखि शिक्षाको महत्त्व र शिक्षाले संसार जित्न सक्छ भन्ने सिकाई भएको बताउनुभयो । उहाँले भन्नुभयो, म मात्र नभएर समुदायका हाम्रो उमेरका अधिकांश महिलाहरू क्यौ काम छोडेर पढ्नका लागि दिनहुँ समय दिने गरेका छन् । वडाका अधिकांश मुसहर परिवारका बुहारीहरू पढ्न पाएकोमा खुसी भएको उहाँहरूले बताउनुभयो ।

यस गाउँपालिका-३, पिप्राही र गोइठीका २५-२५ जना गरी ५० जना महिलाहरू सामुदायिक केन्द्रमा पठनपाठन गर्दै आएको नेपाल युथ फाउन्डेसनका कार्यक्रम संयोजक ललित गहतराजले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, "महिला साक्षरता बनाउने, विद्यालय बाहिर रहेका किशोरीहरूका लागि साक्षरता कक्षा सञ्चालन गरेर पुनः विद्यालय पठाउन, विद्यालयका एसइई दिने विद्यार्थीलाई ट्युसन कक्षा,६ महिना देखि साँढे ३ वर्षसम्मका बालबालिकालाई पोषण सरसफाइ र मनोरञ्जनको कार्यक्रम, आमालाई समूहमा आबद्ध गराइ बचत गर्ने बानी बसाउने मुख्य ५ वटा काम सामुदायिक सिकाइ केन्द्रमार्फत यस संस्थाले गर्दै आएको छ ।"

दलित समुदायमा पनि पछाडि परेका मुसहर समुदायलाई प्रााथमिकतामा राखेर यी कार्यक्रमहरू सञ्चालन गर्दै आएपछि महिलाहरू साक्षर बन्न एकदमै उत्सुक भएर सहभागी भएको उहाँले बताउनुभयो । महिला साक्षरता कार्यक्रममा सहभागी भएका अधिकांश महिलाहरू आफ्नो नाम लेख्न र सामान्य पढ्न लेख्न जानिसकेको उहाँले बताउनुभयो ।