• १२ फागुन २०८०, शनिबार
blog

मानव जातिले पाएको अतुलनीय वरदानमध्ये एक हो बोली। एकैछिन कल्पना गरौँ, बोली नभएको भए मानव समाज कस्तो हुन्थ्यो होला ?, बोलीको अभावमा विचार र भावना साटासाट गर्न कति कठिन हुन्थ्यो होला ? बोलीले नै मानव अभिव्यक्ति सशक्त हुन गएको छ। बोलीले मानव अभिव्यक्तिलाई मात्र होइन मानव सभ्यता उन्नत अवस्थामा पु-याएको छ। बोलीबाटै मानव सभ्यताको अकल्पनीय विकास र विस्तार हुन सम्भव भएको भन्न सकिन्छ।  

मानव अभिव्यक्ति र सभ्यतामा जीवनदायिनी भूमिका खेल्ने बोलीको उत्पत्तिको पनि आफ्नै कथा छ। मानव जातिको उत्पत्ति हुनेबित्तिकै बोलीको विकास भएको थिएन। यस धर्तीमा मानव जातिको उत्पत्ति भएको लामो कालखण्डपछि मात्र बोलीको विकास भएको विभिन्न अध्ययनले देखाउँछ। 

अमेरिकी पत्रिका ‘द एटलान्टिक’ (सन् २०१९ डिसेम्बर १२) मा प्रकाशित एक लेखका अनुसार मानव जातिका पुर्खाले लगभग दुई लाख वर्षअघि मात्र आवाज निकाल्न थालेका थिए। त्यो आवाज भाषिक दृष्टिले कुनै अर्थपूर्ण बोली थिएन। बोलीका आधारभूत चरित्रको आभाव भएकाले त्यसबाट दोहोरो कुराकानी सम्भव थिएन। 

कतिपय अध्येताले बोलीको विकास दुई लाख वर्षभन्दा अझ पछि भएको निष्कर्ष निकालेका छन्। ‘करेन्ट एन्थ्रोपोलोजी’ जर्नल (सन् २००७) मा प्रकाशित लेखलाई आधार मान्दा  ५० हजार वर्षअघि मात्र मानव जातिमा बोली विकास भएको थियो। लेखमा उल्लेख भए अनुसार नियान्डरथललगायतका आदिम मानव बोलीविहीन थिए (लिबरम्यान, २००७, पृ. ३९)। केही अध्येतको दृष्टिमा आधुनिक होमो सेपियन्स पनि सुरुमा बोलीविहीन थिए (‘द एटलान्टिक’, सन् २०१९ डिसेम्बर १२)  । 

त्यस समयमा मानव जातिले निकाल्ने आवाज कुनै अर्थपूर्ण र परिपूर्ण भाषा थिएन भन्ने कुरा अगाडि नै आयो। त्यसबेलाको बोली केवल फगत आवाज थियो। मानिसले १० हजार वर्षअघिदेखि मात्र भाषिक दृष्टिले प्रस्ट र अर्थपूर्ण आवाज निकाल्न थाल्यो भन्ने भनाइ अध्येताहरूको छ। यद्यपि यसको कालक्रमबारे मतैक्य भने देखिँदैन। एउटा पक्ष चाहिँ प्रस्ट छ, मानव आवाजको अर्थपूर्ण विकास भएपछि भाषाको विकास भएको पाइन्छ।

बोलीको विकास भइसकेपछि स्वाभाविक रूपमा वार्तालाप सहज भयो। बोलीको सहज किसिमको विकास भएपछि त्यसलाई लामो दुरीमा कसरी यात्रा गराउन सकिन्छ भन्नेबारे पनि मानव जातिले सोचेको हुनुपर्छ। बोलीलाई विस्तार गर्ने आधुनिक प्रविधिको विकास नहुँदासम्म चर्को आवाजमा चिच्याउँदा आवाज जति टाढा पुग्थ्यो त्यतिसम्म मात्र बोली विस्तार हुन सक्थ्यो। त्यही नै मानव बोली विस्तारको सीमा थियो। 

मानिसमा विद्यमान बेजोड कल्पनाशीलताले बोलीलाई पर परसम्म यात्रा गराउने बारे सोच–विचार गर्न थाल्यो। उसले चर्को स्वरमा चिच्याएर बोली विस्तार गर्ने कुरामा मात्र चित्त बुझाएन। नौ डाँडापारि रहेका आफन्तजन तथा सैसाथीसँग बोली मिसाउन पाए हुन्थ्यो भनेर मानिस अनेक किसिमले कल्पिन थाल्यो। यसबारे पूर्वीय साहित्यमा पनि अनेकन् प्रसङ्ग भेटिन्छन्। 

प्राचीन कवि कालिदासको बहुचर्चित काव्यकृति ‘मेघदूत’ मा टाढा रहेकी प्रेमिकासँग भेट्न व्यग्र रहेका प्रेमीले बादललाई सन्देश वाहकका रूपमा खबर पठाएको प्रसङ्ग पाइन्छ। नेपाली लोकगीतमा पनि यस्तै परिदृश्यको झलक भेटिन्छ। जस्तैः ‘अल्को डाँडा नभए हुनिथ्यो, म बोलेको मायाले सुन्निथ्यो’ । 

यी त एक ठाउँबाट अर्को ठाउँमा बोलीको यात्रा गराउने वा विस्तार गराउने मानव जातिको आकाङ्क्षाको सामान्य दृष्टान्त मात्र हुन्। प्रागऐतिहासिक कालखण्डदेखि इतिहासका अनेकन् कालखण्डमा बोलीलाई लामो दुरीमा यात्रा गराउने बारे अनेकौँ चिन्तन–मनन र प्रयत्न भएको हुनुपर्छ।

यद्यपि बोलीलाई वायु तरङ्गमार्पmत यात्रा गराउने युगीन चाहना पूरा गर्न लामो समय लाग्यो। इस्वी संवत्को १९ औँ शताब्दीमा आएर मात्र बोली धर्तीको एउटा कुनाबाट अर्को कुनामा विस्तार हुन सम्भव भयो। पहिले टेलिफोन र त्यसपछि रेडियोको आविष्कार भएपछि मानव बोलीले लामो दुरीमा यात्रा गर्ने रोमाञ्चक वातावरण तयार भयो, जुन विभिन्न अनुसन्धानदाता र आविष्कारकहरूको अथक् खोज–अनुसन्धानको प्रतिफल हो। 

सर्वविदितै छ, अलेक्जेन्डर ग्राहमबेल टेलिफोनको आविष्कारकका रूपमा चिनिन्छन्। स्कटल्यान्डमा जन्मेका वैज्ञानिक तथा इन्जिनियर ग्राहमबेलले सन् १८७६ मा टेलिफोन आविष्कार गरेर मानव इतिहासमा एउटा युगान्तकारी घटनाको मूल नायकका रूपमा आफ्नो नाम लेखाए। मानव बोलीलाई विद्युतीय रूपमा लामो दुरीमा यात्रा गराउने नायकका रूपमा उनको नाम स्मरणीय छ।

यद्यपि ग्राहमबेलभन्दा अघि पनि टेलिफोन आविष्कार गर्ने अनेकन् प्रयत्न भएको पाइन्छ। इटालेली एन्तोनियो मेउचीले सन् १८४९ मा पहिलो पटक आधारभूत टेलिफोन विकास गरेको र त्यसलाई फ्रान्सेली  चाल्र्स बोर्सलले  सन् १९५४ मा परिमार्जन गरी टेलिफोनको प्रारम्भिक विकास क्रमलाई सघाएको इतिहास भेटिन्छ। यद्यपि उनीहरूबाट के कस्ता प्रयत्न भए भन्नेबारे विस्तृत विवरण भेटिँदैन। 

‘अमेरिकाज लाइब्रेरी’ वेबसाइटमा प्रकाशित एक सामग्रीका अनुसार सन् १८७६ मार्च १० मा ग्राहमबेलले पहिलो पटक टेलिफोनमा बोलेका थिए। यस सिलसिलामा उनले आफ्ना सहायक थोमस वाट्सनसँग कुरा गरे। पहिलो टेलिफोन संवादमा ग्राहमबेलले भनेका थिए, “मिस्टर, वाट्सन कम हेयर। आई वान्ट टु सि यु।” अर्थात् मिस्टर वाट्सन, तिमी यता आऊ म तिमीलाई भेट्न चाहन्छु। 

टेलिफोनमा बोल्दा ग्राहमबेल अमेरिकको पूर्वी तटमा रहेको न्यु योर्कमा थिए भने उनका सहायक वाट्सन अमेरिकाकै पश्चिमी तट सान फ्रानसिस्को सहरमा थिए। यी दुई ठाउँको दुरी चार हजार किलोमिटरभन्दा बढी छ। 

टेलिफोनले बोलीको विस्तारमा महत्वपूर्ण योगदान दिए पनि यसका आफ्नै किसिमको गाह्रोसाह्रो र जटिलता थिए। टेलिफोन वायरलेस (ताररहित) प्रविधि  थिएन। कुनै कारणले कतै तार चुँडेमा संवाद हुन सक्दैनथ्यो। यसबाट मुक्ति पाउनका लागि मानव बोलीलाई ताररहित किसिमले एउटा भूगोलबाट अर्को भूगोलमा कसरी प्रसार गर्न सकिन्छ भन्नेबारे सोच विचार गर्न थालियो। अनि टेलिफोनको परिपूरक तथा वैकल्पिक प्रविधिको रूपमा रेडियोबारे खोजी हुन थाल्यो। 

यद्यपि टेलिफोन आएपछि मात्र रेडियो प्रविधिबारे सोच विचार भएको चाहिँ होइन। टेलिफोन आविष्कार हुनुभन्दाअघि नै सैद्धान्तिक तवरमा भए पनि रेडियो प्रविधिबारे खोजीनीति र विचार विमर्श भएको पाइन्छ। बोलीलाई तारबिनै एक ठाउँबाट अर्को ठाउँमा पठाउन एउटा भरपर्दो माध्यम आवश्यक थियो। यस दिशामा स्कटल्यान्डका गणितज्ञ तथा वैज्ञानिक जेम्स क्लार्क म्याक्सवेलले गहन खोज गरी पथप्रदर्शकका रूपमा काम गरे।

म्याक्सवेलले रेडियो प्रविधिसँग गहिरो नाता गाँस्ने विद्युत् चुम्बकीय सिद्धान्त प्रतिपादन गरेका थिए। एडिनवर्गस्थित जेम्स क्लार्क म्याक्सवेल फाउन्डेसनले प्रकाशन गरेको न्युजलेटर (सन् २०२१) का अनुसार म्याक्सवेलले पृथ्वीको वायुमण्डलमा विद्युत् चुम्बकीय तìव रहेको र त्यसलाई प्रयोग गरेर बोली वा आवाजलाई तीव्र गति (लगभग प्रकाशकै गति) मा एक ठाउँबाट अर्को ठाउँमा प्रसारण गर्न सकिन्छ भन्ने सम्भावना व्यक्त गरेका थिए। 

म्याक्सवेलले अघि सारेको सिद्धान्तमाथि जर्मन भौतिकशास्त्री हेनरिक हर्जले थप अध्ययन–अनुसन्धान गरे। उनले विद्युत् चुम्बकीय तरङ्गको प्रयोग गरेर बोली वा आवाजलाई तीव्र गतिमा प्रसार गर्न सकिन्छ भन्ने तथ्यलाई पुस्टि गरिदिए। म्याक्सवेलले वायुमण्डलमा विद्युत् चुम्बकीय तरङ्गको अस्तित्व बारे सन् १८६० को दशकमा सम्भावना दर्साएका थिए भने हर्जले त्यसलाई सन् १८८८ तिर पुस्टि गरिदिए। 

हेनरिक हर्जले रेडियो प्रविधिमा प्रयोग गर्न सकिने विद्युत् चुम्बकीय तरङ्गको अस्तित्व पुस्टि गरेकाले उनको सम्मानमा रेडियोका फ्रिक्वेन्सीलाई ‘हर्ज’ मा मापन गर्ने चलन छ। जस्तो किलोहर्ज, मेगाहर्ज वा गिगाहर्ज।

आवाजलाई यात्रा गराउने विद्युत् चुम्बकीय तरङ्गको अस्तित्व पुस्टि भएपछि रेडियो प्रविधिको प्रयोग र परीक्षण हुन थाल्यो। यस दिशामा सर्भियाली–अमेरिकी निकोला टेस्ला तथा इटालीका गुग्लिल्मो मार्कोनीले दिएको योगदान स्मरणीय मानिन्छ। उनीहरू रेडियो प्रविधिका अग्रणी खोजकर्ता मानिन्छन् तर मार्कोनीले आफ्नो नाममा रेडियो प्रविधिको एकस्व अधिकार (पेटेन्ट राइट) दर्ता गराएपछि टेस्ला दौडमा पछि परेको देखिन्छ। 

रेडियो इतिहास खोतल्दा मार्कोनी नै रेडियोका पिता मानिन्छन्। हिस्ट्री च्यानलको वेबसाइटमा प्रकाशित सामग्रीका अनुसार मार्कोनीले सन् १८९४ मा आफ्नै देश इटालीमा रेडियो परीक्षण सुरु गरेका थिए। त्यसबेला १.५ माइलसम्म मात्र मानव बोलीले यात्रा गर्न सफल भएको थियो। 

सन् १८९६ मा मार्कोनी बेलायत गए। बेलायत आएपछि उनले आवाजको यात्रालाई ताररहित प्रविधिबाट अझ परसम्म पु¥याउने उनको प्रयत्न निरन्तर अघि बढ्यो। मार्कोनीले बोलीको यात्रा गराउने प्रयासलाई जारी राखे। यस क्रममा सन् १८९९ मा उनले मानव बोलीलाई लगभग दुई सय ४० किलोमिटर चौडाइको इङ्ग्लिस च्यानल पार गराउन सफल भएका थिए। 


यसपछि पनि बोलीलाई यात्रा गराउने मार्कोनीको प्रयास अथक् जारी रह्यो। हिस्ट्री च्यानलमा प्रकाशित सामग्री अनुसार सन् १९०१ मा मार्कोनी आन्ध्रमहासागरको पूर्वी टुँडोदेखि पश्चिमी टुँडोसम्म रेडियोमार्पmत सन्देश प्रवाह गर्न सफल भए (हिस्ट्री च्यानलको वेबसाइट, सन् २०१९) का थिए। 

आन्ध्रमहासागरको लगभग चार हजार किलोमिटर लामो सामुद्रिक दुरी छिचोल्दै दुई ठूला महादेश युरोप र अमेरिकालाई मानव बोलीले जोड्ने काम भयो। यसबाट रेडियो प्रविधिको विकासमा लागेका मार्कोनीको मनोबल अझ बढेर गएको थियो।

त्यसबेला रेडियो प्रविधिलाई ‘वायरलेस रेडियो टेलिग्राफ’ नामले चिन्ने गरिन्थ्यो। त्यसबेला रेडियो प्रविधि एउटा स्टेसनबाट बोल्ने र धेरैले सुन्ने किसिमले डिजाइन भएको थिएन। टेलिफोनमा कुरा गरिए जस्तै दुई जनाबीच अन्तरवैयक्तिक सञ्चारका लागि मात्र ‘वायरलेस रेडियो टेलिग्राफ’ हुने गर्दथ्यो। त्यस समयमा ‘वायरलेस रेडियो टेलिग्राफ’ सैनिक वृत्त तथा अन्य विशिष्ट प्राविधिक क्षेत्रले मात्र प्रयोग गर्ने गरेको पाइन्छ।

मूलतः मानव बोली प्रसारणका लागि विकास गरिएको रेडियो प्रविधि लोककल्याणकारी कार्यमा पनि हुन थाल्यो। यसको ज्वलन्त दृष्टान्तका रूपमा सन् १९१२ मा टाइटानिक पानीजहाज दुर्घटना हुँदा रेडियो प्रविधिले खेलेको लोककल्याणकारी भूमिकालाई लिन सकिन्छ। ‘साइन्स म्युजियम’ वेबसाइटमा प्रकाशित जानकारीका अनुसार मार्कोनीले विकास गरेका रेडियो उपकरण प्रयोग गरेर टाइटानिक दुर्घटनामा परेकाहरूको उद्धारका लागि खबर पठाइयो, जसबाट सात सय जनाको ज्यान जोगाउन सम्भव भएको थियो।

लोककल्याणकारी कार्यमा समेत प्रयोग हुन थालेको रेडियो प्रविधिको विकासले  निरन्तर गति लिँदै थियो। यस्तैमा सन् १९१४ देखि १९१९ प्रथम विश्वयुद्ध चल्यो। यसले रेडियो विकास र विस्तारमा अनपेक्षित बाधा उत्पन्न ग-यो। प्रथम विश्वयुद्धले बिराम लिएपछि सन् १९२० देखि अमेरिकाको पिट्सवर्ग सहरमा केडिकेए नामक रेडियो स्टेसन स्थापना भई प्रसारण प्रारम्भ भयो। यसपछि अमेरिका, युरोप र संसारका विभिन्न भागबाट क्रमिक रूपमा रेडियो प्रसारणको लहर सुरु भएको थियो। 

मानव बोलीलाई एक ठाउँबाट अर्को ठाउँमा यात्रा गराउन सक्षम भएपछि रेडियो अतिशय लोकप्रिय आमसञ्चार माध्यम हुन पुग्यो। रेडियो लोकप्रिय हुनुका पछाडि केही महìवपूर्ण कारण थिए। रेडियोबाट एकातिर घरमै बसीबसी सूचना तथा मनोरञ्जन प्राप्त गर्न सकिन्थ्यो भने अर्कोतिर साक्षर र निरक्षर दुवैले रेडियोको सन्देश ग्रहण गर्न सक्थे। निरक्षर व्यक्तिका लागि पत्रपत्रिका तथा पुस्तकमा यस्तो सुन्दर अवसर थिएन। 

रेडियोले बहुसङ्ख्यक निम्न मध्यम वर्गीय परिवारमा ठूलो राहत पुगेको थियो। एउटा रेडियो सेट किनेपछि घरमै बसीबसी समाचार, नाटक, गीत सुनेर सूचना र मनोरञ्जन प्राप्त गर्न सकिने गजबको अवसर जु¥यो। रेडियोको आगमनपछि मनोरञ्जनका लागि टिकटमा पैसा खर्च गरी गरी सिनेमाघर तथा नाटक घरमा धाउने परिपाटी बाध्यता नभई केवल ऐच्छिक विषय मात्र बन्यो।

अमेरिकी प्राध्यापक इर्भिङ फाङले सन् १९९७ मा प्रकाशित आफ्नो पुस्तकमा ‘अ हिस्ट्री अफ मास कम्युनिकेसनः सिक्स इन्फर्मेसन रेभोलेसन’ मा लेखनकला, छापाखाना, आमसञ्चार माध्यम, मनोरञ्जन उद्योगको विकास, घरमै बसीबसी सबै सञ्चार प्रविधि प्रयोग गर्न पाइने अवस्था र सूचना राजमार्गको विस्तारले संसारमा ‘सूचना क्रान्ति’ आएको चर्चा गरेका छन्, जसमा रेडियोको योगदानको पनि चर्चा छ। 

‘सूचना क्रान्ति’ मा रेडियोले खेलेको भूमिका शीर्षस्थानमा छ। रेडियो बोलीको सारथि मात्र बनेन संसारभरका अनेकन सभ्यतालाई जोड्ने सेतु पनि बन्यो। ‘सूचना क्रान्ति’ को कुरा गर्दा बोलीलाई यात्रा गराउन लागिपरेका तमाम खोजकर्तालाई प्रातःस्मरणीय व्यक्तित्वका रूपमा सम्झना गर्नैपर्ने हुन्छ।