बुलबुले समाचारदाता
सुर्खेत, असार २० गते । कर्णाली प्रदेशको मुख्य प्रवेश मार्ग नै स्तरोन्नति भएको छैन । त्योसँगै रत्न राजमार्गलाई दुई लेनको बनाउने योजना पनि कार्यान्वयन हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रत्न राजमार्गलाई स्तरोन्नति गर्दै दुई लेन बनाउने घोषणा गरेको थियो । आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा सिद्धार्थ राजमार्ग र रत्न राजमार्गलाई ‘डेडिकेटेड डबल लेन’ मा स्तरोन्नति गर्नका लागि सात अर्ब बजेट पनि विनियोजन भएको थियो तर उक्त योजना कार्यान्वयन हुन सकेन । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सो कुरा राखिएको छ ।
दुई लेन योजना कार्यान्वयन नभए पनि सडक सुधारका लागि बेलाबखत काम भने हुने गरेका छन् । बाँकेको जमुनाहदेखि सुर्खेतको हर्रेसम्म ६८ किलोमिटर सडक विस्तारका लागि सडक डिभिजन कार्यालय नेपालगन्जले काम गरिरहेको छ । यता हर्रेदेखि सुर्खेतको बाङ्गेसिमलसम्म ४४ किलोमिटर सडक विस्तारको काम सडक डिभिजन कार्यालय सुर्खेतको जिम्मामा छ ।
सडकको स्तरोन्नतिको कार्य अन्तिम चरणमा
हुम्ला समाचारदाताका अनुसार कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिकाको चट्टानी र असजिलो बोक्चे गौँडादेखि याङ्चु कुनासम्मको सडकको स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले सो सडकको स्तरोन्नति गर्न होल खोप्ने, विस्फोट गर्ने र एक्साभेटरबाट सडक मिलाउने कार्य सँगसँगै गर्दै आएका कारण निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । विशेष गरी सेनाले जिम्मा पाएकामध्ये बोक्चेगौँडा र भिगौँडाको चट्टानी असजिलो खण्डको सडकको स्तरोन्नति गर्ने कार्य अन्तिम चरणमा पुगेको नेपाली सेना उक्त खण्ड विकास निर्माण दलका सेनानी अम्रित पराजुलीले बताउनुभयो ।
उहाँले दुवै चट्टानी क्षेत्रमा होल खोप्ने, विस्फोट गर्ने र मेसिनबाट विस्फोट भएको ढुङ्गा पन्छाउने र सडकको ग्रेड मिलाउने कार्य सँगसँगै भइरहेको बताउनुभयो । उहाँले बोक्चेगौँडामा ९० प्रतिशत कार्य पूरा भएको र बाँकी काम भइरहेको, अब भिगौँडामा निर्माणका लागि सेनाको ध्यान बढी गए अनुसार कामलाई तीव्रता दिइएको बताउनुभयो । भिगौँडाको ८० प्रतिशत कार्य पूरा भएको छ । रातदिन काम भइरहेका कारण असार मसान्तसम्म कार्य पूरा हुने बताउँदै काम गर्ने जिम्मेवारी पनि असार मसान्तसम्म रहेको उहाँले बताउनुभयो ।
दुई पुल निर्माण
सल्यान समाचारदाताका अनुसार सल्यानमा एकै वर्ष दुई पक्की पुल निर्माण भएका छन् । दार्मा गाउँपालिका–३ मा रहेको दार्माखोला र त्रिवेणी गाउँपालिकाको शारदा नदीमा पक्की पुल निर्माण भएर सञ्चालनमा आएका छन् । यहाँका दुई स्थान शारदा नदीमाथिको त्रिवेणी काभ्रा रामबजार–सङ्खमूल जोड्ने पुल तथा दार्मा सडकखण्ड अन्तर्गतको दार्माखोला–फारुलाबजारका पक्की पुल समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।
शारदा नदीको पुल
शारदा नदीमाथि पुल निर्माण भएको छ । काभ्रा शङ्खमूल जोड्ने पुल निर्माण कार्य २०७९ को वैशाखदेखि सुरु गरिएको थियो । सात करोड एक लाख ६३ हजार रुपियाँको लागतमा नारायणम भगवती जेभीले निर्माण गरेको सो पुल गत भदौमा सम्पन्न भएको हो । यो पुल कर्णाली प्रदेश सरकारले निर्माण गरेको प्रदेशकै सबैभन्दा लामो पुल रहेको दाबी गरिएको छ । कार्यालयका प्रमुख नवीन थापाका अनुसार पुलको लम्बाइ ८४.३ मिटर रहेको छ भने यसमा दुई वटा प्रिस्ट्रेस्ड स्पान राखिएका छन् ।
त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले पुल निर्माण भएपछि सर्वसाधारणको दैनिकी सहज हुने बताउनुभयो । त्रिवेणी–१, काभ्रामा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वर्षायाममा आवातजावतमा समस्या हुने गरेकामा पुल बनेपछि अब सहज भएको छ ।
दार्माखोला–फारुलाबजारको पुल
त्यस्तै राप्ती राजमार्गको थारमारे मौलोहाले फारुलाचौर हुँदै रुकुम (पश्चिम) को चौरजहारी जोड्ने सडकखण्ड अन्तर्गत पर्ने दार्माखोला–फारुलाबजारमा पुल निर्माण सम्पन्न भएको छ । चार करोड ७५ लाख २२ हजार रुपियाँमा निर्माण भएको यो पुल सावद आर्ची कृष्णालीला जेभीले निर्माण गरेको हो । २०८० चैत १ गते सम्झौता भई निर्माण सुरु भएको पुल २०८२ जेठ ३० गते सम्पन्न भएको हो । एक स्पानको उक्त पुलको लम्बाइ २७ मिटर रहेको छ । दार्माखोला पुल समयमै निर्माण कार्यसम्पन्न भएको पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी सिद्धार्थ मिश्रले दिनुभयो ।