• २० असार २०८२, शुक्रबार

जैविक मल प्रशोधन केन्द्र स्थापना

blog

कुमाख, २ को जयमालिका सामुदायिक वन समूहमामा स्थापना गरिएको जैविक मल प्रशोधन केन्द्र । तस्बिरः शङ्कर केसी

शङ्कर केसी,

सल्यान, असार २० गते । सल्यानमा विषादीमुक्त बाली उत्पादन गर्ने उद्देश्यसहित दुई स्थानमा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको छ । प्राकृतिक स्रोतहरूको समुचित उपयोग गर्दै वातावरणमैत्री कृषि प्रणालीको प्रवर्द्धनका लागि जिल्लाको वनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

वन क्षेत्रबाट सङ्कलित पातपतिङ्गर, स्याउला, झारपात जस्ता कुहिने जैविक वस्तुलाई मेसिनको प्रयोगमार्फत प्रशोधन गरेर गोबर बिना नै जैविक मल उत्पादन गर्नका लागि सम्भवतः जिल्लामै पहिलोपटक यो प्रयास गरिएको हो । 

तर प्रशोधन केन्द्र निर्माण भइसके पनि विद्युतको अस्थिरता र कम भोल्टेजको समस्याका कारण मल उत्पादन सुरु हुन सकेको छैन । कुमाखको जयमालिका सामुदायिक वन समूहमा आयोजनाको १७ लाख ५० हजार रुपियाँ र जनश्रमदान रकम ६२ हजार पाँचसय गरेर १८ लाख १२ हजार पाँच सय रुपियाँको लागतमा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको समितिका अध्यक्ष खिमबहादुर बुढाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “मल उत्पादनका लागि हालसम्म १५ क्विन्टल स्याउला सङ्कलन भइसकेको छ, तर विद्युत् भोल्टेज कम भएकाले मेसिन सञ्चालन हुन सकेको छैन । दुईवटा मोटरसमेत जलिसकेका छन् र विद्युत प्राधिकरणसँग समस्या समाधानका लागि आग्रह गरेका छौँ ।”

यसैगरी बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर ६ स्थित शान्ति सामुदायिक वन समूहमा पनि १९ लाख बढीको लागतमा प्रशोधन केन्द्र स्थापना गरिएको छ ।  समूहका अध्यक्ष धनबहादुर सिंहले ११ क्विन्टल पातपतिङ्गर सङ्कलन भइसकेको तर विद्युत् अभावकै कारण मल उत्पादन गर्न नसकिएको बताउनुभयो ।

दुवै स्थानमा प्रशोधन केन्द्रका लागि टहरा निर्माण गरिएको छ । जैविक मल प्रशोधनका लागि आवश्यक यन्त्र उपकरणहरू जडान गरिएका छन् । ती उपकरणहरूमा स्याउला टुक्र्याउने मेसिन, मल छानेर ग्रेडिंग गर्ने मेसिन, प्याकेजिङ मेसिन, नाम प्रिन्ट गर्ने मेसिन, मल कुवाउने ड्रम आदि छन् । मल प्रशोधनको क्रममा सूक्ष्मजीवयुक्त झोल प्रयोग गरिने र यसले जैविक पदार्थलाई छिटो कुहाएर मलमा रूपान्तरण गर्ने वन समूहहरुले जनाएका छन् ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रम अन्तर्गत सञ्चालित “समूहको आयआर्जन वृद्धि कार्यक्रम” मार्फत प्रशोधन केन्द्र स्थापना गरिएको हो । कार्यक्रमले वन संरक्षण, वातावरण सुधार र किसानको आयआर्जनमा योगदान पुर्‍याउने अपेक्षा राखिएको छ ।

वन क्षेत्रमा हरेक वर्ष लाग्ने डढेलोको समस्या न्यूनीकरण गर्न पनि यो कार्यक्रमले टेवा पुर्‍याउने पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रमका अधिकृत डाक्टर दिगम्बर दाहालले बताउनुभयो । डढेलो लाग्नु अगाडि नै पातपतिंगर संकलन गरेर मल उत्पादनमा प्रयोग गर्ने रणनीति बनाइएको छ । यसले आगामी वर्षमा वन डढेलोबाट जोगाउनुका साथै उत्पादनशील मलमार्फत कृषिमा सकारात्मक असर पार्ने दाहालको अपेक्षा छ ।

कृषिमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको वर्तमान अवस्थामा जैविक मल उत्पादनले माटोलाई पुनः जीवन्त बनाउने र उत्पादन प्रणालीलाई दिगो बनाउने विश्वास गरिएको छ । “स्थानीय स्रोतसाधनको उपयोग गर्दै किसान समूहलाई गुणस्तरीय मल उपलब्ध गराउने र विषादीमुक्त तथा सुरक्षित बाली उत्पादनमा सहयोग गर्ने यो कार्यक्रमको उद्देश्य हो”, डाक्टर दाहालले भन्नुभयो ।