• २० असार २०८२, शुक्रबार

यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य उच्च प्राथमिकतामा

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा चन्द्रागिरि नगरपालिका–७ मा निर्मित भवनको उद्घाटन गर्दै । तस्बिर : रासस

काठमाडौँ, असार २० गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउने कार्य सरकारले उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । यसका लागि नीतिगत सुधारदेखि त्यसको कार्यान्वयनमा  ध्यान दिइएको उहाँको भनाइ छ । 

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा चन्द्रागिरि नगरपालिका–७ मा निर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री दाहालले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन संशोधनलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । 

उहाँले सवारीसाधनलाई भारबहन क्षमताअनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइका साथ लागू गरिने पनि बताउनुभयो । 

“नेपाली सडक तथा संरचनाको दिगो उपयोगका लागि भारवहन क्षमता कडाइका साथ लागू गर्न आवश्यक छ । अधिक भार भएका मालवाक सवारीसाधनका कारण नेपालका पुल तथा सडकमा ठूलो नोक्सानी हुने गरेको छ । सीमा क्षेत्रदेखि नै यसको नियन्त्रण गर्छौं”, उहाँले भन्नुभयो । 

नेपालका सडक, पुल लगायतका संरचनाको संरक्षण सबैको दायित्व रहेको पनि मन्त्री दाहालको भनाइ थियो । “हाम्रो भूबनोट तथा सडकको अवस्थाअनुसार पुलको निर्माण गरिएको हुन्छ । निश्चित भार क्षमताका ती संरचनामा जथाभावी अधिक भार भएका सवारीसाधन त चलाउनु भएन नि, हाम्रा संरचनाको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो”, उहाँले भन्नुभयो । 

‘विकासलाई उत्पादनसँग जोडौँं’

नेपाल निर्माणको चरणमा रहेको निरन्तर अघि बढिरहेको उल्लेख गर्दै मन्त्री दाहालले देशमा केही भएन र हुँदैन भन्ने भ्रमलाई एशियन मापदण्डमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडक, मदन भण्डारी राजमार्ग तथा मध्यपहाडी लोकमार्गले चिरिरहेको जिकिर गर्नुभयो । 

यस्तै, उत्तर दक्षिण करिडोरका रूपमा निर्माण भइरहेका राजमार्गले नेपाललाई चीन र भारतसँगको पहुँचलाई पनि बलियो बनाइरहेको मन्त्री दाहालको भनाइ छ । हुम्लामा पुल बनेसँगै नेपालका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको भन्दै उहाँले अब विकासलाई उत्पादनसँग जोड्न जरुरी छ भन्नुभयो ।  

“हामीले सडक तथा पुल त बनायौँ, तर यो नै अन्तिम विकास होइन । यी संरचनाको माध्यमबाट उत्पादन वृद्धि गर्न जरुरी छ । अब सहर र गाउँको दूरी टाढा रहेन, गाउँमा पनि उद्यमशीलताको विकास गर्न सहज भएको छ”, मन्त्री दाहालले भन्नुभयो, “त्यहाँ उत्पादित तथा प्रशोधित कृषिउपजलगायत बस्तुलाई बजारसम्म ल्याएर लाभ लिने बेला आएको छ ।”

समितिको भवन रु. एक करोड ११ लाखको लागतमा निर्माण भएको अध्यक्ष कृष्णप्रसाद पन्तले जानकारी दिनुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वार, यातायात व्यवसायी, मजदुर नेतालगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा भवन निर्माणमा योगदान गर्नेलाई सम्मान गरिएको थियो । रासस