नवीनराज कुइँकेल
लमजुङ, असार २० गते । लमजुङको सुन्दरबजार नगरपालिका –२ परेवाडाँडालाई गण्डकी प्रदेशकै पहिलो पोषणमैत्री र बालमैत्री वडा घोषणा गरिएको छ। शुक्रबार विशेष कार्यक्रम आयोजना गरी नगर प्रमुख कृष्णप्रसाद कोइरालाले वडालाई औपचारिक रूपमा पोषणमैत्री र बालमैत्री वडा घोषणा गर्नुभएको हो।
वडा २ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठका अनुसार, वडाले पोषणमैत्री वडा बन्नका लागि आवश्यक सम्पूर्ण सूचकहरू पूरा गरिसकेको छ। बालबालिका तथा आमाहरुको पोषणस्तर सुधार गर्ने, कुपोषणको समस्या न्यून पार्ने, सुरक्षित पिउने पानीको व्यवस्था गर्ने, सरसफाइ तथा व्यक्तिगत स्वच्छता प्रवर्धन गर्ने लगायतका महत्वपूर्ण सूचकहरूमा उल्लेखनीय प्रगति भएपछि पोषणमैत्री वडा घोषणा गरिएको बताउनुभयो ।
“हामीले पोषणमैत्री वडा घोषणा गर्न आवश्यक पर्ने पूर्वाधार निर्माणदेखि नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसम्म सबै क्षेत्रमा निरन्तर मेहनत गरेका छौँ” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “वडा भित्रका सबै बालबालिकाको अधिकारको सुनिश्चितता, विद्यालय जाने वातावरणको सिर्जना, बालश्रम न्यूनीकरण तथा बालमैत्री सेवा पहुँच विस्तारमा समेत विशेष ध्यान दिएका छौँ।”
यसअघि बालमैत्री स्थानीय शासनअनुरुप आबश्यक सूचक पूरा भए नभएको अनुगमन गरिएको थियो । यस्तै, २२ गते आइतबार सुन्दरबजारकै वडा ८ लाई पनि पोषणमैत्री वडा घोषणा गर्ने कार्यक्रम रहेको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताउनुभयो । उहाँका अनुसार वडा २ ले पहिलो पटक पोषणमैत्री तथा बालमैत्री वडा बन्न सफल भई अन्य वडालाई पनि सकारात्मक प्रेरणा दिएको छ। “हामीले सबै वडालाई क्रमशः पोषण र बालमैत्री वडामा परिणत गर्ने योजना अघि बढाएका छौँ” नगर प्रमुख कोइरालाले भन्नुभयो ।
पोषणमैत्री र बालमैत्री वडा घोषणा गर्न आवश्यक सूचकहरू पूरा गर्न ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसीले समेत सहयोग गरेको थियो । वडामा आमा समूह, युवा क्लब, विद्यालय, स्वास्थ्य संस्था तथा विभिन्न संघ–संस्थाको सहकार्यमा पोषण र बालअधिकारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुँदैआएका छन् । साथै, स्वास्थ्य परीक्षण शिविर, पोषण शिक्षा तालिम, विद्यालय पोषण बगैंचा, सामुदायिक स्वच्छता अभियानलगायतका कार्यक्रमले पनि महत्वपूर्ण योगदान दिएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।
घोषणा कार्यक्रममा सुन्दरबजार नगरपालिकाका जनप्रतिनिधि, विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि र स्थानीयबासीको उपस्थिति रहेको थियो । घोषणाअघि विभिन्न प्लेकार्डसहित पञ्चेबाजा बजाएर ¥याली निकालिएको थियो । यस घोषणासँगै वडा २ ले पोषण तथा बालअधिकार क्षेत्रमा उदाहरणीय उपलब्धी हासिल गरेको छ।
स्थानीय सरकारको यस्तो कदमले समग्र नगरपालिकामा बालबालिका र आमाको स्वास्थ्य, शिक्षा, पोषण तथा अधिकारका सवालमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने नगरबासीले विश्वास लिएका छन् ।