नेपाली महिला क्रिकेट टिमले पहिलो पटक टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुगेर इतिहास रचेको छ । विश्वकपको एसिया क्षेत्रीय छनोटको सुपर थ्रीको उपविजेता बनेर नेपाल ग्लोबल छनोटमा पुग्न सफल भयो । नेपाली महिला क्रिकेट टोलीले अहिलेसम्म प्राप्त गरेको यो सबैभन्दा ठुलो सफलता मानिएको छ ।
थाइल्यान्डको राजधानी बैङ्ककमा भएको छनोटको सुपर थ्रीमा युएईलाई पाँच विकेटले पराजित गरेको नेपालले अन्तिम खेलमा थाइल्यान्डद्वारा ७८ रनले पराजित भयो । यो खेल जितेको भए नेपालले एसिया च्याम्पियनको उपाधिसमेत जित्ने थियो । यसपाली नेपाललाई भाग्यले साथ दियो र विश्वकप ग्लोबल छनोटमा छानिन सफल भयो ।
किनकि समूह चरणमै भाग्यले साथ दिएका कारण सुपर थ्रीमा पुग्न नेपाल सफल भएको थियो । यदि वर्षाले खेल रद्द नभएको भए हङकङले बहराइनलाई हराएमा नेपाल बाहिरिएर हङकङ सुपर थ्रीमा पुग्न सक्दथ्यो । वर्षाले खेल रद्द हुँदा हङकङले अङ्क बाँड्यो र अङ्क बराबरी भयो । साथै नेट रन रेट हङकङको राम्रो भए पनि बढी जितको आधारमा नेपाल अर्को चरणमा पुग्न सफल भयो ।
आइसिसीको नियम अनुसार डबल राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीबीच अङ्क बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान रहेको छ । नेपालको चार खेलमा दुई खेलमा जित तथा एकमा हार बेहोरेको थियो भने एक नतिजाविहीन भयो । हङकङको समान खेलमा एकमा जित र तीन खेल नतिजाविहीन भएको थियो ।
अबको बाटो
नेपाल र थाइल्यान्डले एसियाको प्रतिनिधित्व गर्दै विश्वकप ग्लोबल छनोटमा खेल्ने छन् । विश्वकप छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुने छ । तीमध्ये शीर्ष चार टोली इङ्ग्ल्यान्डमा सन् २०२६ मा हुने टी–२० विश्वकपमा सहभागी हुने छन् ।
यसअघि सन् २०२४ मा भएको विश्वकपमा गरेको प्रदर्शनका आधारमा गत विजेता न्युजिल्यान्डसँगै भारत, पाकिस्तान, श्रीलङ्का, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजले प्रतियोगितामा आआफ्नो स्थान पक्का गरिसकेका छन् । दुई वर्षअघिको विश्वकपबाटै बङ्गलादेश र स्कटल्यान्डले पनि विश्वकप छनोटमा स्थान पक्का गरेका थिए ।
अमेरिकी क्षेत्रबाट अमेरिका विजेता बनेर विश्वकप छनोटमा पुगिसकेको छ । युरोप र अफ्रिकाको क्षेत्रीय छनोटबाट २–२ तथा इस्ट एसिया प्यासिफिकबाट एक गरी विश्वकप छनोटमा थप पाँच टोली पुग्ने छन् । विश्वकप ग्लोबल छनोटको मिति र आयोजक राष्ट्र घोषणा हुन भने बाँकी छ ।
नेपालको विगत
नेपाली महिला क्रिकेट टिमले सन् २००७ देखि मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो । नेपाल पहिलो सहभागितामै एसिसी महिला च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । जहाँ नेपाल फाइनलमा बङ्गलादेशद्वारा पराजित भयो ।
त्यसयता नेपालले उल्लेखनीय सफलता हासिल गर्न सकेन । पहिलो सहभागितामा हासिल गरेको सफलताभन्दा एक कदम अगाडि बढ्न नेपाललाई १८ वर्ष लाग्यो । अहिले हासिल गरेको सफलता नै सबैभन्दा ठुलो उपलब्धि हो । यसअघिका वर्षमा नेपालको यात्रामा प्रायः युएई बाधक बन्दै आएको थियो । यसपालि नेपालले त्यही युएईलाई राम्रोसँग जवाफ दिएर अगाडि गएको छ । नेपालकै कारण युएईले विश्वकप छनोटमा पुग्न पाएन ।
लिभरपुल र उपाधि इतिहास
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल २० औँ उपाधि जित्न सफल भएको छ । सन् २०२४–२५ को सिजनमा एकतर्फी प्रदर्शन गरेको लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग १० अङ्कको अग्रता बनायो । उपाधि जितमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडसँग बराबरी गरेको छ ।
२० टिम सहभागी रहेकोमा आर्सनल ७४ अङ्कसहित दोस्रो, ७१ अङ्कबाट म्यान्चेस्टर सिटी तेस्रो, चेल्सी ६९ अङ्कसहित चौथो, न्युक्यासल युनाइटेड ६६ अङ्कसहित पाँचौँ भयो । यी पाँच वटै टिमले च्याम्पियन्स लिग खेल्न पाउने भएका छन् ।
छैटौँ भएको एस्टन भिल्लाले युरोपा लिग खेल्न पाउने छ भने सातौँ भएको नटिङ्घम फरेस्टले कन्फरेन्स लिग खेल्ने छ । यसपालि पुछारमा रहेर तीन टिम लेस्टर सिटी, इप्सविच टाउन र साउथह्याम्पटन रेलिगेसनमा परेका छन् ।
सन् १८८५ मा इङ्ग्ल्यान्डको फुटबल सङ्घ (एफए) को स्थापना भएपछि सन् १८८८ मा फुटबल लिग स्थापना गरी प्रत्येक वर्ष लिग खेल्न थालिएको थियो । १२ देखि १४ क्लब समेटेर खेल्न थालिएको लिगको सुरुवाती दुई उपाधि प्रेस्टन नर्थ इन्डले जित्यो ।
सन् १८९२ देखि क्लब सदस्यहरू बढाएर २८ पु¥याइयो । अनि दुई समूहमा विभाजन गरेर खेलाउन थालियो । दोस्रो लिग र पहिलो लिग हुन थाल्यो । दुई लिगमा घटुवा र बढुवा हुने व्यवस्था गरियो । विश्वयुद्धका बेलामा लिग रोकिएको थियो । सन् १८९२ देखि १९९२ सम्म फुटबल लिग फस्ट डिभिजनका रूपमा खेलाइयो । सन् १९९२ देखि एफए प्रिमियर लिगका रूपमा नयाँ शैलीबाट व्यावसायिक फुटबल हुन थाल्यो । यो नै अहिलेको आधुनिक प्रिमियर लिग हो ।
अहिलेसम्मको लिग इतिहासमा लिभरपुल र म्यान्चेस्टर युनाइटेडले समान २० उपाधि जितेका छन् । आर्सनलले १३ पटक, म्यान्चेस्टर सिटीले १० पटक, एभर्टनले नौ पटक र एस्टन भिल्लाले सात पटक उपाधि जितेको छ । चेल्सी र सन्डरल्यान्डले समान छ पटक उपाधि जितेका छन् । अहिलेसम्म २० टिमलाई मात्र उपाधि जित्नमा सफलता मिलेको छ ।
स्पेनमा बार्सिलोनाको जगजगी
स्पेनी लिग ला लिगाको यो सिजनको उपाधि बार्सिलोनाले जितेको छ । सर्वाधिक सफल टिम रियल म्याड्रिडलाई चार अङ्कले पछाडि पार्दै उपाधि जित्न बार्सिलोना सफल भयो । यो बार्सिलोनाले २८ औँ ला लिगा उपाधि भएको छ ।
ला लिगाको इतिहासमा रियल म्याड्रिडले सर्वाधिक ३६ पटक उपाधि जितेको छ ।
सन् १९२९ देखि खेल्न थालिएको ला लिगामा रियल २६ पटक तथा बार्सिलोना २८ पटक उपविजेता भएका छन् । एथलेटिको म्याड्रिड ११ पटक विजेता तथा १० पटक उपविजेता भएको छ । यस्तै एथलेटिक बिल्बाओले आठ, भ्यालेन्सियाले छ, रियल सोसिडाडले दुई तथा डेपोर्टिभो ला कोरुना, सेभिया र रियल बेटिसले एक–एक पटक उपाधि जितेका छन् । ला लिगा इतिहासको इतिहासमा नौ टिमले मात्र उपाधि जितेका छन् ।
२० टिमले खेलेको ला लिगामा बार्सिलोनाले उपाधि जित्दा ८४ अङ्कसहित रियल म्याड्रिड उपविजेता भयो । एथलेटिको म्याड्रिड तेस्रो तथा एथलेटिक क्लब र भिल्लारियल क्रमशः चौथो तथा पाँचौँ भए । शीर्ष पाँच स्थानमा रहने टिम च्याम्पियन्स लिगमा छानिएका छन् ।
छैटौँ भएको रियल बेटिस र सातौँ भएको सेल्टा भिगो युरोपा लिगमा छानिए । आठौँ भएको रायो भाएकानो कन्फरेन्स लिगमा छनोट भयो ।
–युवामञ्च