• ६ मंसिर २०८२, शनिबार

पालिकालाई लयमा फर्काउन १० बुँदे प्राथमिकता सार्वजनिक

blog

कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, मङ्सिर ६ गते । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरीले सुशासन, पारदर्शिता र जनमुखी सेवालाई प्राथमिकतामा राखेर नेतृत्व अघि बढाउने घोषणा गर्नु भएको छ। 

गाउँपालिका अध्यक्षको राजीनामा पछि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेपछि उहाँले १० बुँदे प्राथमिक कार्य सार्वजनिक गर्दै यस्तो घोषणा गर्नु भएको हो।

गत कात्तिक १८ गते बसेको गाउँपालिका बैठकले उपाध्यक्ष चौधरीलाई विधिविधानअनुसार कार्यवाहक अध्यक्ष तोकेपछि उहाँले आफ्नो विस्तृत धारणा सार्वजनिक गर्दै हालसम्म पालिकामा देखिएको अस्तव्यस्त र प्रशासनिक चुनौतीलाई सुधार गर्ने दृढ सङ्कल्प व्यक्त गर्नु भएको छ।

उहाँले दलगत दायराभन्दा माथि उठेर ‘जनताको सेवक’ को रूपमा काम गर्ने बताउँदै पालिकावासीको विश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी रहेको उल्लेख गर्नु भएको छ ।

अध्यक्षको राजीनामा पछि पालिकामा निर्णय प्रक्रियाको अस्पष्‍टता, सेवा प्रवाहमा ढिलाइ तथा प्रशासनिक समन्वय कमजोर रहेकाले त्यसलाई लयमा फर्काउनु पहिलो काम हुने उहाँको भनाइ छ।

कार्यवाहक अध्यक्ष चौधरीले गाउँटोलमै पुगेर जनताको वास्तविक समस्या र आवश्यकता सुन्ने कार्यक्रम अघि सार्नु भएको छ । जसअनुसार प्रत्येक वडामा प्रत्यक्ष संवाद, सुझाव सुनुवाइ र गुनासा सङ्कलन अभियान सञ्चालन हुने छ। 

उहाँले पालिकामा सुशासन कायम गर्ने, बजेट तथा वित्तीय क्षेत्रमा पूर्ण पारदर्शिता लागू गर्ने, नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने, महिला–युवा तथा विपन्न वर्गका लागि लक्षित कार्यक्रम अघि बढाउने, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षामा सुधार ल्याउने, पूर्वाधार विकासमा गुणस्तरको कडाइ गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, शाखा, उपशाखामा कार्य मूल्याङ्कन प्रणाली लागू गर्ने तथा सबै समुदाय र राजनीतिक दलसँग सहकार्यको वातावरण बनाउने गरी आफ्ना १० प्रमुख प्राथमिकता सार्वजनिक गर्नु भएको छ ।

उहाँ आफ्नो नेतृत्वमा गाउँपालिका, गाउँसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत र सबै कर्मचारीलाई एउटै परिवारझैँ एकता, विश्वास र प्रतिबद्धताका साथ सेवा प्रवाहमा समर्पित बनाइने बताउनुभयो । 

‘गाउँपालिकाको सञ्चालन कागजी रूपमा होइन, जनताको घरआँगनमै पुगेर समस्या बुझेर समाधानमा उन्मुख बनाउनु आवश्यक छ,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार, नयाँ नेतृत्व शैली, जनतासँग प्रत्यक्ष संवाद र पारदर्शी अभ्यासले पालिकालाई ‘नयाँ गति, नयाँ लय र नयाँ भरोसा’ तर्फ डोर्‍याउनेछ। 

कार्यवाहक अध्यक्ष चौधरीले गाउँपालिकाको समृद्धि र साझा विकासका यात्रामा सबै नागरिक, समुदाय तथा सरोकारवालाबाट निरन्तर साथ सहयोगको अपिल गर्नुभएको छ ।

नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष दीनानाथ चौधरीले गत असोज ५ गते लिखित राजीनामा दिनु भएको थियो।

 विभिन्न कारणवश पदअनुसार कार्य गर्न असमर्थ रहेको उल्लेख गर्दै उहाँले पदीय दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस गरेको भन्दै राजीनामा दिनु भएको थियो।

अध्यक्षको राजीनामा पछि र कार्यवाहक नतोकिएको अवस्थामा पलिकाबाट प्रवाह भइरहने सेवा प्रभावित हुँदै आएको थियो ।