• २० असार २०८२, शुक्रबार

नारायणगढ–काठमाडौँ सडकखण्ड,अब निर्बाध रूपमा सञ्चालन

blog

मुग्लिङ–मलेखु–नागढुङ्गा सडक अन्तर्गत खानीखोला क्षेत्रमा कालोपत्रे भएपछिको सडक । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल  

फिसलिङ (चितवन), असार २० गते । मुग्लिङदेखि नागढुङ्गासम्म सडक विस्तारका क्रममा भएको सवारी अवरोधका कारण लामो समयसम्म हैरानी बेहोर्दै आएका यात्रुले अब भने त्यस्तो समस्या झेल्नु नपर्ने भएको छ । 

नागढुङ्गा मलेखु र मुग्लिङ मलेखु दुवै क्षेत्रमा बर्सातको समयमा अत्यावश्यकबाहेक विस्तारको अन्य काम नगर्ने भएपछि चार घण्टामा नै काठमाडौँ नारायणगढ आउजाउ गर्न सकिने भएको हो । 

सडक विस्तार भएको केही स्थानमा पक्की र कालोपत्रे भएका छन् भने विस्तारको बाँकी कामलाई यो बर्सात अवधिभर रोकिने नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्डका सूचना अधिकारी माधव पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य समस्या भएको स्थानमा कालोपत्रे भइसकेकाले यो खण्डमा यात्रा गर्न अब कुनै समस्या छैन । भारी वर्षा भएर पहिरो आएको, खोलाले क्षति पारेकोलगायतका अवस्थाबाहेक अहिले यात्रा गर्न कठिन छैन ।” उहाँका अनुसार निजी सवारीसाधनमा यात्रा गर्नेले नारायणगढदेखि तीन घण्टामा नै काठमाडौँ आउन सक्छन् भने सार्वजनिक सवारीसाधनले चार घण्टामा पार गर्न सक्छन् । 

सूचना अधिकारी पौडेलले नागढुङ्गादेखि मलेखुसम्म ५५ किलोमिटर सडकमध्ये नागढुङ्गादेखि नौबिसेसम्म १२ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिनुभयो । यसै गरी नौबिसेदेखि मलेखु सडकखण्ड १२ किलोमिटर सडक कालोपत्रे भएर सवारीसाधन सञ्चालन भएको छ । योबाहेक तीन किलोमिटर ढलान भएको छ । सबै गरी जम्मा २७ किलोमिटर लम्बाइ पक्की सडक भएकाले यात्रामा कठिनाइ नभएको उहाँको भनाइ छ । 

विस्तारको काम बाँकी रहेको स्थानमा अब बष्र्सातभरि काम हुने छैन । सडकको दायाँबायाँ सवारीसाधन सञ्चालनमा असर नपर्ने गरी हुने काम मात्र गरिने छ । पहिरो जाने र सम्भावित जोखिम भएको स्थानमा अवश्यक उपकरण राखेर सडक खुलाउने व्यवस्था तयारी अवस्थामा रहेको पनि उहाँले जानकारी दिनुभयो । नागढुङ्गादेखि नौबिसे सडकखण्ड १२.२ किलोमिटरका लागि एक अर्ब ३१ करोड रुपियाँमा ठेक्का लागेको हो । जैन्सु सगुन जेभीले निर्माणको जिम्मा लिएको छ । यसको निर्माण सम्झौता २०७८ चैत २९ गते भएको थियो । थपिएको म्यादसमेत गरेर २०८२ साउन ९ गते यो सडकखण्ड निर्माण सम्पन्न गर्नुपर्ने रहेको छ ।  

नौबिसे मलेखु सडकखण्डको ४३.५ किलोमिटरको लागि पाँच अर्र्ब ३३ करोड रुपियाँमा विस्तार  भइराखेको छ । यसको निर्माण शर्मा लामा जेभीले गर्दै आएको छ । यसको निर्माण सम्झौता २०७९ वैशाख १४ गते भएको थियो । सुरुको म्यादमा सम्पन्न गर्नुपर्ने २०८२ जेठ २४ गते रहेको थियो । निर्माण नसकिएपछि म्याद थपको प्रव्रिmयामा गएको छ । 

दैनिक १५ हजार सवारीसाधन सञ्चालन हुने भएकाले काम गर्न धेरै कठिन भएको कार्यालयका सूचना अधिकारी पौडेलले बताउनुभयो । अहिलेसम्म दुवै ठेक्काको ४९.७३ प्रतिशत भौतिक प्रगति भएको छ  भने ६६.९४ प्रतिशत खर्चको प्रगति भएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।  

मुग्लिङदेखि मलेखु सडक 

मुग्लिङ सडक योजना (पश्चिम खण्ड) कार्यालय मुग्लिङका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले यस सडकखण्डमा १० किलोमिटर सडक कालोपत्रे भइसकेको जानकारी दिनुभयो । मुग्लिङदेखि मलेखुसम्मको ३८.८६ किलोमिटर क्षेत्रमा सडक विस्तारको काम भइराखेको छ । 

बर्सात लागेपछि अहिले मूल सडकमा निर्माणको कामलाई रोकेको कार्यालयले जानकारी दिएको छ । यसखण्डमा अहिलेसम्म ३३ प्रतिशत काम सम्पन्न भएको छ । मुग्लिङ मलेखु सडकखण्डमा अहिले कुनै अवरोध नभएको र निर्माणको कामले सवारीसाधनलाई समस्या नपारेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । सम्भावित जोखिमयुक्त स्थानमा आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा रहेको बताउनुभयो । कुनै बाधा नभएमा अहिले यात्रा गर्न सहज भएको मिश्रले बताउनुभयो । 

चार अर्ब ८० करोड ५९ लाख ७४ हजारमा ठेक्का लागेको थियो । शर्मा जेडआइसिजी जेभीले निर्माणको ठेक्का पाएको कम्पनीले २०७९ मङ्सिर ७ गते सम्झौता गरेको थियो । सडक विस्तार २०८२ पुस १३ गते सम्पन्न गर्नुपर्ने रहेको छ ।